सूचनाको शक्ति - The Power Of Information

        

दैनिक ४०० मेगावाट विद्युत् भारत निर्यात

वर्षायामसँगै खोला तथा नदीहरुमा पानीको बहाव क्रमिक रुपमा बढेर देशभित्रका जलविद्युत् गृहहरुबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारतर्फ विद्युत् निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् गत सोमबार (१४ जेठ रातिबाट) भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दरमा बिक्री सुरु गरेको छ ।

खोला तथा नदीमा पानीको बहाब बढेसँगै प्राधिकरण, प्राधिकरणका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वमा रहेका जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन बृद्धि भएर आन्तरिक माग पूरा भएपछि अतिरिक्त भएको विद्युत् निर्यात सुरु गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा ४०० मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको बताए ।

‘खोला तथा नदीमा पानीको बहाव क्रमिक रुपमा बढ्दै गइरहेकाले विद्युत् उत्पादन पनि बृद्धि भइरहेको छ भने पिक समयमा आन्तरिक खपत पनि दुई हजार मेगावाट पुगेको छ, विगत ७–८ वर्षअघि दैनिक रुपमा विद्युत् खपत एक–डेढ करोड युनिटको हाराहारीमा रहेकोमा हाल बढेर ४–साढे ४ करोड युनिट पुगेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने । उनका अनुसार आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार २०० मेगावाट विद्युत् प्रतिश्पर्धी बजार र द्धिपक्षीय सम्झौता बमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ ।

उनले भने, ‘निर्यात स्वीकृतिका लागि आयोजनाहरुको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाइसकेका छौं ।’ द्धिपक्षीय सम्झौता बमोजिम बिहार राज्यलाई करिब २०० मेगावाट विद्युत् बिक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करिब ४०० हरियाणा राज्यलाई बिक्री गर्न एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएन सँग सम्झौता गरी स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरणमा प्रस्ताव पठाइसकेको घिसिङले उल्लेख गरे ।

केन्द्रीय विद्युत प्राधिकरणले हालसम्म नेपालका १५ वटा जलविद्युत आयोजनाहरुबाट उत्पादित ६५६ मेगावाट विद्युत् प्रतिश्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिएको छ । ६५६ मेगावाटबाटै मध्यकालीन विद्युत सम्झौता बमोजिम हरेक वर्ष जुन–अक्टोबरसम्म पाँच वर्षका लागि ११० मेगावाट विद्युत् एनभिभिएनलाई बिक्री गर्न स्वीकृति दिइएको छ । एनभिभिएनले उक्त विद्युत हरियाणा राज्यलाई बिक्री गर्दै आएको छ । नेपालले विद्युत् रियल टाइम मार्केटमा बिद्युत खरिद बिक्रीको पनि अनुमति पाएको छ ।

६५६ मेगावाटमध्ये ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट ५८६ र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले बाराको पिलुवा सबस्टेसनबाट परवानीपुर सबस्टेसनसम्मको करिब १८ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तारका लागि एउटा सर्किट बन्द गरी तार (कन्डक्टर) बदल्ने काम भइरहेकाले वीरगञ्ज क्षेत्रका उद्योगहरुमा विद्युत् आपूर्तिको केही समस्या रहेको उल्लेख गरे ।

‘पिलुवा–परपानीपुर प्रसारण लाइनको हालको कन्डक्टरलाई बदलेर एचटिएलएस बनाउन अहिले एउटा सर्किट बन्द गरी काम भइरहेको छ, एउटा सर्किटबाट मात्र आपूर्ति भएकाले विद्युत्बाट माग नधान्ने र राति भारततर्फबाट आयात गर्न नपाउने हुँदा वीरगञ्ज करिडोरका उद्योगहरुमा विद्युत् आपूर्तिको केही समस्या छ, कन्डक्टर बदल्ने काम २–३ दिनमा सकिनेछ, त्यसपछि हालको समस्या समाधान हुनेछ ।’ दुवै सर्किटको कन्डक्टर बदलेपछि हालको करिब २०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पिलुवा–परपानीपुर १३२ केभी प्रसारण लाइनका क्षमता डबल हुने छ । परवानीपुर सबस्टेसनबाट भारतर्फ पनि विद्युत् निर्यात हुनेछ ।

हिउँदमा १५ अर्बको विद्युत आयात

नेपाल विद्युत प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको विद्युत् भारतबाट आयात गरेको छ । शुख्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट विद्युत् आयात गरिएको हो । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

प्राधिकरणले गत वर्षको जेठदेखि यसवर्षको हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१को साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरेको हो । यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो ।

आयात गरिएको विद्युतको मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असार महिनामा निर्यात हुने विद्युत् परिणामबाट चालू आर्थिक वर्ष (आव)मा आयातभन्दा निर्यात बढी भई खूद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए ।

‘६–७ वर्षअघिसम्म विद्युतको आयातकर्ताको मात्र अवस्था थियो, २–३ वर्षअघिबाट विद्युतको निर्यात सुरु गरेतापनि निर्यातभन्दा आयात बढी भई खूद आयातकर्ता बन्ने अवस्था थियो भने अब यस वर्षबाट खूद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘चालू आवमा निर्यातभन्दा आयात १ अर्ब ७४ करोड रुपैयाँले बढी देखिएको छ, आवको बाँकी अवधिमा निर्यात हुने विद्युतको परिणामले यो ग्यापलाई पूरा गरी खूद निर्यातकर्ताका रुपमा रहने छौं ।’

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १३:४०