सूचनाको शक्ति - The Power Of Information

        

भारतीय निर्वाचनमा उत्तर प्रदेश ‘फ्याक्टर’, भाजपाको दबदबा तोडिएला ?

भारतमा जारी लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान शनिबार हुँदैछ । यस निर्वाचनमा सबैको ध्यान उत्तर प्रदेशमा केन्द्रित छ । किनभने उत्तर प्रदेशको निर्वाचन परिणामले भारतीय राजनीतिको बाटो पनि तय गर्छ । करिब बेलायतजत्रै क्षेत्रफलमा फैलिएको यो राज्यको जनसंख्या नेपालको भन्दा झन्डै आठ गुना बढी छ ।

भारतको सबैभन्दा धेरै जनसंख्या भएको यो राज्यको जनसङ्ख्या २५ करोड छ । सात चरणको भारतीय निर्वाचनमा सातै चरणमा मतदान हुने तीन राज्यहरूमध्ये उत्तर प्रदेश पनि एक हो । भारतको निर्वाचन शनिबार सकिन्छ र मतपरिणाम जुन ४ देखि हुनेछ । तेस्रो पटक प्रधानमन्त्री बन्ने आकांक्षा राखेका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ५४३ सदस्य भएको तल्लो सदनमा ८० सांसदहरू निर्वाचित गरेर पठाउने यो राज्य सबैभन्दा महत्वपूर्ण हुनेमा कुनै शङ्का छैन ।

‘यहाँ दिल्लीको बाटो उत्तर प्रदेश हुँदै जान्छ’ भन्ने एउटा भनाइ निकै प्रचलित छ । त्यो भनेको यो राज्यमा राम्रो मत ल्याउनेलाई दिल्लीको सत्ताका लागि बाटो खुल्ने गरेको छ’, उत्तर प्रदेशको राजधानी लखनउका वरिष्ठ पत्रकार शरत प्रधान भन्छन् । किनभने यो राज्यबाट प्रतिनिधित्व गर्दै भारतमा आठ जना प्रधानमन्त्री बनिसकेका छन् । पश्चिमी राज्य गुजरातका मोदीले पनि सन् २०१९ मा दोस्रो पटक प्रधानमन्त्री बन्न यही प्रदेशबाट चुनाव लडेका थिए ।

सन् २०१९ मा भारतको प्राचीन सहर वाराणसीबाट चुनाव जितेका मोदीले यो वर्ष पनि त्यहीँबाट सांसद बन्ने लक्ष्य राखेका छन् । भारतीय संसद्को तल्लो सदन लोकसभामा बहुमतका लागि २७२ क्षेत्रमा जित आवश्यक पर्छ । मोदीले उनको भारतीय जनता पार्टी (भाजपा)लाई ३७० सीट जिताउने महत्वाकांक्षा राखेका छन् ।

भाजपाले सन् २०१४ मा यस प्रदेशका ८० मध्ये ७१ सीट जितेको थियो । तर सन् २०१९ मा त्यो संख्या घटेर ६२ मा झरेको भयो । यस पटकको निर्वाचनमा उत्तर प्रदेशका ७० भन्दा बढी सीट जित्ने पार्टीको लक्ष्य रहेको नेताहरूले दाबी गरेका छन् । विपक्षी भारतीय कांग्रेस पार्टीका गौरव कपुर यसको हिसाब सरल भएको बताउँछन् । ‘यहाँ ७० सीट जित्ने पार्टीलाई सरकार बनाउन बाँकी २०२ सीट जिते पुग्छ,’ उनी भन्छन् ।

उत्तर प्रदेश भाजपाको मात्रै होइन

भारतीय निर्वाचनमा सबैभन्दा ठूलो पुरस्कारका रूपमा लिइने यो राज्यमा भारतीय जनता पार्टीले मात्रै नजर गाडेको भने छैन । यो राज्यमा चार दशकसम्म भारतीय कांग्रेसको प्रभाव थियो । सन् १९९१ मा स्थानीय पार्टीहरूले कांग्रेसको प्रभुत्व अन्त्य गरेपछि यो दल उत्तर प्रदेशको क्षेत्रीय दल समाजवादी पार्टीसँग गठबन्धन गरेर चुनाव लड्दै आएको छ ।

यस पटक यो गठबन्धनले उत्तर प्रदेशमा ७९ सीट जित्ने र बाँकी एक सीटमा प्रतिस्पर्धा गर्ने जनाएको छ । जुन ४ मा हुने मतगणनाले दुवै पक्षको दाबीलाई यथार्थभन्दा बढाइचढाइपूर्ण रहेको प्रमाणित गरिदिन सक्छ । तर पछिल्ला १० वर्ष यो राज्यमा भएका चुनावहरूमा भाजपाको पक्षमा नतिजा आएको छ । अनि मोदी सडकमा उपस्थित भएर गरिरहेका प्रचारले भाजपालाई थप आत्मविश्वास बढाएको छ ।

भारतीय राजनीतिमा ठूलो महत्वको भए पनि उत्तर प्रदेश भारतको सबैभन्दा गरिब राज्यहरूमध्येमा पर्छ । यद्यपि यो राज्यमा पछिल्ला वर्षहरूमा केही सकारात्मक परिवर्तन भएको बताइन्छ । सरकारी तथ्याङ्कअनुसार अहिले दशौँ लाख थप मानिसहरूमा बिजुलीको पहुँच पुगेको छ, उनीहरूले शौचालय प्रयोग गर्न पाएका छन् र उनीहरूले पाँच वर्षअघि प्रयोग गर्नेभन्दा सफा इन्धन प्रयोग गर्ने सुविधा पाएका छन् ।

तर उत्तर प्रदेश अझै पनि विश्वमै सबैभन्दा धेरै गरिबहरू रहेको राज्यमा पर्छ । अझै यो राज्यको कुल जनसंख्याको २३ प्रतिशत मानिसहरू बहुआयमिक गरिबीमा रहेको बताइन्छ । यो राज्यमा हरेक वर्ष महिला हिंसाका हजारौँ घटनाहरू हुने गर्छन् । राजनीतिक रूपमा प्रभावशाली पुरुषहरूमाथि आरोप लागेका समाचार पनि आएका छन् । यस्ता विषयहरू निर्वाचनमा प्रतिपक्षी दलका मुद्दा बनेका छन् ।

उनीहरूले यो राज्यमा पछिल्लो सात वर्षयता र देशमा एक दशकदेखि सत्तामा रहेको भाजपामाथि प्रश्न गरेका छन् । आफ्नो चुनावी सभामा उपस्थित भएका मानिसहरू देखाउँदै प्रतिपक्षी दलहरूले मतदाताहरू भाजपाबाट अलग हुँदै गएको दाबी गरेका छन् । ‘आजभन्दा केही साताअघिसम्म पनि यो राज्यको चुनाव हाम्रा लागि प्रतिकूल देखिन्थ्यो,’ समाजवादी पार्टीको युवा सङ्गठनका नेता तथा चर्चित चुनावी प्रचारक अभिषेक यादव भन्छन् ।

बेरोजगारी र मूल्यवृद्धि चुनावको प्रमुख मुद्दा भएपछि प्रतिपक्षको चुनावी प्रचारले गति लिएको उनी ठान्छन् । भाजपाले यो राज्यमा निकै ठूलो लगानी आएको र यहाँ औद्योगिक पुनरुत्थान भएको दाबी गर्दै आएको छ । तर कांग्रेसका गौरव कपुर सरकारले राज्यमा नयाँ उद्योग गर्न नसकेका कारण र रोजगारी सिर्जना गर्न नसक्दा धेरै मतदाताहरू दुःखी भएको दाबी गर्छन् । भारतीय जनता पार्टीकी अश्विनी शाही भने राज्यमा भएका खराब पाटोमा प्रतिपक्षी दलहरू जिम्मेवार रहेको बताउँछिन् ।

‘सन् २०१७ मा भाजपाले उत्तर प्रदेशमा चुनाव जित्दा यो राज्य गरिबी, निरक्षरता र बेरोजगारीले भरिएको थियो । हामीले त्यसमा परिवर्तनको काम सुरु ग¥यौँ । तर मानिसहरूलाई गरिबीबाट माथि उठाउन समय लाग्छ । मेरो विचारमा सन् २०२९ सम्म हामी ९० प्रतिशत मानिसहरूलाई गरिबीबाट माथि उठाउन सफल हुनेछौँ,’ उनी भन्छिन् । शाही सत्ताप्रति असन्तुष्टि केही हदसम्म भएको स्वीकार गर्छिन् । तर मोदीका कारण उत्तर प्रदेशसहित भारतभरि नै भाजपाले चुनाव जित्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १२:०७

लोकप्रिय