सूचनाको शक्ति - The Power Of Information

        

धनियाँ बेचेरै वार्षिक आठ लाख आम्दानी

खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना–साना मुठा पार्दै गरेको अवस्थामा भेटिए दाङको घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रैमहिना खेती गर्ने गरेको उनले बताए । उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायिक रुपमा धनियाँखेती गर्थे ।

आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उनले बताए । दुई कठ्ठाखेतमा चार किलो धनियाँको बीउ दुई हजार चार सय रूपैयाँमा खरिद गरि खेती गरेको उनले बताए । त्यो धनियाँ बिक्री गरेर दुई लाख रूपैयाँ आम्दानी गरेको उनले बताए । बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए । सिजनमा पाँच रूपैयाँ मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा १० रूपैयाँ मुठाका दरमा बिक्री हुन्छ ।

धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए । धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार ५०० रूपैयाँसम्म आम्दानी हुने गरेको अमितले बताए । उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार ५०० रूपैयाँसम्मको बिक्री हुने गरेको उनको भनाइ छ । धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए ।

‘बैशाख, जेठ र असारमा धनियाँ १० रूपैयाँ प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उनले भने । गत वर्ष यी तीन महिनामा दुई लाख रूपैयाँ आम्दानी गरेको उनले बताए । सरदर वर्षको आठ लाख रूपैयाँ धनियाँ बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले बताए । ‘धनियाँ छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ’, उनले भने ।

उनका अनुसार लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँँ छर्नुपर्छ । त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ । उनीसँग बाह्रैमहिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्रैमहिना गर्ने गरेको उनले बताए । ‘इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ,’ उनले भने ।

स्रोत : रासस
प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार ११:४३