सूचनाको शक्ति - The Power Of Information

        

माधव नेपाल किन गए विपक्षी दलको बैठकमा ?

नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन निर्माणको प्रयासलाई तीव्रता दिएका छन् । देउवाले बुधबार सत्तारूढ नेकपा एकीकृत समाजवादीसहित विपक्षी दलहरू जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गरेका हुन् ।

नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग देउवाले आफ्नै निवासमा छलफल गरे । मुख्य विषय मधेश प्रदेशको सरकारसँग सम्बन्धित भए पनि राष्ट्रिय राजनीतिका अन्य पाटोहरूमा पनि छलफल भएको बताइन्छ ।

विश्वस्त सूत्रका अनुसार प्रदेशदेखि संघसम्म नयाँ राजनीतिक कोर्स अगाडि बढाउनेबारे छलफलमा सहभागी दलहरूबीच अधिकतम सहमति बनेको छ । हाल मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

मधेश सरकारसहितका अन्य सम्भावित सहकार्यबारे सभापति देउवाले नेताहरूसँग परामर्श गरेका थिए । ‘सभापतिजीले मुख्यतः मधेश प्रदेश सरकारबारे छलफल गर्न चाहनुभएको हो,’ कांग्रेसका एक नेताले भने, ‘मधेशमा दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा रहेको सरकार जोगाउने र सबैभन्दा ठूलो दल नेकपा एमाले नेतृत्वमा सरकार बन्ने वातावरण बन्न नदिने विषयमै छलफल भएको छ ।’

संवादको थालनी मात्रै भएकाले परिणामको लागि अझै पर्खनुपर्ने उनको भनाई थियो । बैठकमा सहभागी जसपालाई मधेशमा आफ्नो नेतृत्वको सरकार जोगाउनु छ । लोसपा मधेशमा एमाले, माओवादी र जनमतसँगको गठबन्धनमा सहभागी भइसकेको छ भने नेकपा एस केन्द्रमा सत्ता गठबन्धनमा भए पनि मधेशबारे अनिर्णित छ ।

देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेकपा एसका दुई मन्त्री छन् । सुदूरपश्चिम सरकार उसैको नेतृत्वमा छ । यस्तो बेला मधेशमा संघको विपरीत गठबन्धन बनाउने छलफलमा नेपालको उपस्थितिले सम्भावित राजनीतिक उथलपुथलको संकेत गर्छ ।

देउवा निवासको बैठकमा अध्यक्ष नेपालले मधेश सरकारबारे आफ्नो पार्टीले निर्णय लिन बाँकी नै रहेको र आफूहरू अस्थिरताको विरुद्धमा रहेको बताएका थिए । संघीय गठबन्धनमा पनि सन्तुष्ट नदेखिएका नेपालको पछिल्लो कदमलाई एमाले र माओवादीले कुन रूपमा व्याख्या गर्छन् त्यसैमा नेकपा एसको आगामी कदम भरपर्ने बताइन्छ । यस्तो बेला कांग्रेस सभापति देउवाले थालेको प्रयत्नलाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १०:४२

लोकप्रिय