सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय अनुसन्धानबाट प्रहरी आएकालाई बढुवामा निषेध !

राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा स्थानान्तरण भएकाहरूलाई बढुवा निषेध गर्ने तयारी थालिएको छ । प्रहरीमा स्थानान्तरण भएपछि उनीहरूको विगत र कार्यसम्पादन राम्रो नभएका कारण बढुवामा निषेध गर्न लागिएको हो । प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा रिक्त चार दरबन्दीका लागि बढुवाको तयारी सुरु भएसँगै उनीहरूलाई थप बढुवाबाट बञ्चित गर्न लागिएको स्रोतले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा.मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा गरिएपछि उनीहरूको स्थानमा एसएसपी बढुवाको तयारी थालिएको हो । गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले एसएसपीमा बढुवा सिफारिस गर्नेछ । समितिमा आइजीपी र उनले तोकेका एआइजी सदस्य छन् ।

बढुवाको दाबेदारमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका विमल बस्नेत छन् । राष्ट्रिय अनुसन्धान विभागमा २०५३ पुस ५ मा भर्ना भएर नेपाल प्रहरीमा आएका उनी २०७२ फागुनमा एसपीमा बढुवा भएका हुन् । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा बस्दा घुस लिएको भन्दै प्रहरी प्रधान कार्यालयले उनलाई पाँच वर्ष बढुवा नहुने गरी कारबाही गरेको थियो ।

पाँच वर्ष बढुवा रोक्का गर्ने प्रधान कार्यालयको निर्णय अनुसार उनी यस पटक पनि बढुवामा भने नपर्ने स्रोतको दाबी छ । विभागमै २०५५ मा इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका एसपी श्यामकृष्ण अधिकारी पनि बढुवाको प्रतिस्पर्धामा छन् । उनी बाँकेमा बस्दा कारबाहीमा परेका थिए । उनको पनि बढुवा रोकिएको छ । एसपी हिराबहादुर पाण्डे पनि बढुवाको दाबेदार छन् तर, उनी सिरहामा बस्दा कांग्रेस नेता रामचन्द्र यादवसँगको विवादमा निलम्बनमै परेका थिए ।

यस्तै, २०५६ मा इन्सपेक्टरमा भर्ना भएका नान्तिराज गुरुङ आफूलाई अन्याय भएको भन्दै शक्ति केन्द्र धाइरहेका छन् । उनको बढुवा हुने संभावना बढिरहेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहेका रवीन्द्र रेग्मीको घर जाने दिन नजिक भएकाले उनको बढुवा हुने नहुने द्विविधा रहेको छ । गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल, विमलराज कँडेल र भीमबहादुर दाहाल बढुवाको दाबेदार छन् । कँडेल प्रहरी निरीक्षक हुँदा नै निलम्बनमा परेका थिए ।

उनको सबै तहमा ट्रयाक रेकर्ड राम्रो छैन । २०५८ मा इन्सपेक्टरमा भर्ना भएका रमेश थापा, प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढा मगर लगायत बढुवाको प्रतिस्पर्धामा छन् । पंगेनी सुन प्रकरणमा मुछिएकी अमला रोका पक्राउ गरेर पनि भगाउने मुख्य पात्रका रुपमा परेका छन् । उनको र रोकाको सम्पर्क भएको सिडिआर नै बाहिर आइसकेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार ०८:३७

लोकप्रिय