सूचनाको शक्ति - The Power Of Information

        

बजेटमा माओवादीलक्षित कार्यक्रमलाई अर्बौं रुपैयाँ

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमा केही नेकपा (माओवादी केन्द्र) पार्टीलक्षित कार्यक्रम राखिएको छ । माओवादी पार्टीलक्षित कार्यक्रमको लागि अर्बौं रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गर्नको लागि बजेट छुट्टयाइएको छ । द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता र पुनःस्थापनाका लागि शान्ति कोष स्थापना गर्न एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

‘सशस्त्र द्वन्द्व, जनआन्दोलन तथा अन्य आन्दोलनमा घाइते र अपांगता भएकालाई प्रदान गरिँदै आएको जीवन निर्वाह भत्तालाई निरन्तरता दिएको छु,’ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने । काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोथेरापी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरिएको छ ।

सीता दाहाल प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी हुन् । उनको २०८० असार २७ गते निधन भएको थियो । आगामी वर्षको बजेटमा गुरिल्ला ट्रेललाई पनि अघि बढाउने उल्लेख गरिएको छ ।

पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्न ग्रेट हिमालयन ट्रेल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गरिने अर्थमन्त्री पुनले बताए । ‘पुराना प्रचलनमा रहेका पदमार्गको संरक्षण र सम्वर्द्धन गरिनेछ । सम्भावित जोखिमयुक्त क्षेत्रमा पर्यटकीय उद्धार केन्द्र स्थापना गरिनेछ । पर्यटन पूर्वाधार विकासका लागि पाँच अर्ब ४६ करोड विनियोजन गरेको छु,’ अर्थमन्त्री पुनले भने ।

प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम आगामी आर्थिक वर्ष अघि बढाइने छ । छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न उक्त कर्याक्रमको लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:३१

लोकप्रिय