सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रीका श्रीमतीको नाममा अथाह सम्पत्ति

सरकारले धेरै समयपछि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । गत साता सार्वजनिक गरिएको विवरण अनुसार मन्त्रीहरूले आफ्नो नाममा केही पनि सम्पत्ति नभएको देखाउँदै श्रीमतीको नाममा सम्पत्ति देखाएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग भरतपुरमा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ । यो जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । भरतपुर महानगरपालिका वडा नं.१२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ । त्यो पनि पत्नीकै नाममा रहेको छ । प्रचण्डपत्नी सीताको मृत्यु भइसकेको छ ।

अर्को रमाइलो के भने उपप्रधानमन्त्री रवि लामिछानेको सम्पत्ति पनि श्रीमतीकै नाममा रहेको छ । उनले श्रीमती निकिता पौडेलको नाममा रहेको सम्पति सार्वजनिक गरेका छन । गृहमन्त्री लामिछानेले आफूसँग बुढानीकलकण्ठ नगरपालिका–८ मा पाँच आना, भक्तपुरमा एक रोपनी एक आना तथा पत्नी निकिता पौडेलका नाममा काठमाडौंमा १० रोपनी जग्गा रहेको जनाएका छन् । उनले ८० तोला सुन भएको पनि विवरणमा उल्लेख गरेका छन् ।

सबैभन्दा धनीमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र गरिवमन्त्री उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ देखिएका छन् । रघुवीरपछि क्रमशः शिक्षामन्त्री सुमना श्रेष्ठ, वनमन्त्री नवलकिशोर साह, सहरी विकासमन्त्री धनबहादुर बुढा, श्रममन्त्री डोलप्रसाद अर्याललगायत मन्त्रीहरू धनी देखिएका छन् ।

उनीहरूसँग काठमाडौं लगायत विभिन्न ठाउँमा प्रशस्त जग्गा, तीन–चार ठाउँमा घर, झण्डै सय तोला सुन र करोडभन्दा माथि बैंक ब्यालेन्स रहेको विवरणमा उल्लेख छ । वनमन्त्री साहले त आफूसँग १२ बोरको एक थान बन्दुक (राइफल) समेत रहेको जनाएका छन् । उनले विभिन्न ठाउँमा नौवटा घर, १५ ठाउँमा जग्गा रहेको जनाएका छन् ।

उनले आफूसँग १ करोड ३५ लाख रूपैयाँ बराबरको सेयर, करिब १८० तोला सुन, करिब १ हजार ५०० तोला चाँदी रहेको विवरणमा उल्लेख गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग एक सेट हीराको हार, ११ तोला सुन र १० तोला चाँदी रहेको जनाएकी छिन् । विदेशी बैंकमा समेत करोडभन्दा बढी रकम रहेको उनले जनाएकी छिन् ।

सम्पत्ति विवरणमा उनले एक विदेशी नागरिकका नाममा १ करोड ५० लाख रूपैयाँ बराबरको युएस डलर तथा २ करोड ३४ लाख रूपैयाँ बराबर युरो डलर आफूसँग रहेको जनाएकी छिन् । पावल स्वविन्सकी नाम गरेका ती विदेशी नागरिकसँग उनको नाता के पर्छ, त्यसबारे उनले सम्पत्ति विवरण फाराममा खुलाएकी छैनन् ।

सम्पत्ति विवरणमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति भने अरू मन्त्रीहरूको तुलनमा कम देखिएको छ । उनले आफूसँग गोरखाको सिरान चोकमा ३८ रोपनी जग्गा तथा बैंकमा १ लाख २२ हजार रूपैयाँ ब्यालेन्स रहेको जनाएका छन् ।

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले आफूसँग नगद मात्रै २ करोड २५ लाख तथा ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको देखाएका छन् । ललितपुरमा २ रोपनी १३ आना क्षेत्रफलमा तथा जनकपुरमा ४ हजार २०० वर्गमिटर क्षेत्रफल जग्गामा उनका घर छन् ।

उपप्रधानमन्त्री महासेठले सिन्धुली, धनुषा र ललितपुरमा उनको प्रशस्त जग्गा छ । धनुषामा मात्र उनीसँग सात बिघा तीन कट्ठा जग्गा छ । यसैगरी उनले ४३ तोला सुन र यसबाहेक विभिन्न गहना तथा १५० तोला चाँदी रहेको जनाएका छ ।

यसैगरी सहरी विकासमन्त्री धनबहादुर बुढाले आफूसँग सातवटा घर भएको जनाएका छन । उनले चारवटा घर डोल्पा र तीनवटा घर काठमाडौंमा रहेको विवरणमा उल्लेख गरेका छन् । यसैगरी उनीसँग १५० तोला सुन, ३०० तोला चाँदी, ६० लाख रूपैयाँ बैंक ब्यालेन्स रहेको जनाइएको छ । काठमाडौमा मात्र उनीसँग ४४ आना जग्गा रहेको बताइएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आफूसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रूपैयाँ जम्मा रहेको जनाएका छन्। उनले रोल्पा माडीचौरमा ८२० वर्गमिटर बराबरको जग्गा पैतृक सम्पत्तिका रूपमा रहेको विवरणमा उल्लेख गरेका छन् ।

यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले आफूसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हीरा रहेको जनाएका छन् । विभिन्न १२ ठाउँमा जग्गा रहेको उनले जनाएका छन् । उनले आफू र आफ्नो पत्नी अम्बिका केसीका नाममा २ करोडभन्दा बढी नगद बैंक तथा सहकारीमा रकम रहेको विवरणमा उल्लेख गरेका छन ।

यस्तै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग सेयर मार्केटमा झन्डै १० करोड रूपैयाँ बराबरको लगानी रहेको विवरणमा उल्लेख छ । उनले आफूसँग १५ हजार ९०६ कित्ता सेयर रहेको जनाएका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १०:२०

लोकप्रिय