सूचनाको शक्ति - The Power Of Information

        

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन

बाँके र बर्दियाका स्थानीय तहमा ८९ करोड ८४ लाख ६३ हजार रुपैयाँ बेरुजु

महालेखापरीक्षकको प्रतिवेदन अनुसार बाँकेको बैजनाथ गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ ।

आर्थिक वर्ष २०७९–०८० को लेखा परीक्षणमा बाँके र बर्दिया जिल्लाका स्थानीय तहमा ८९ करोड ८४ लाख ६३ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार बाँके र बर्दियाका स्थानीय तहमध्ये बाँकेको बैजनाथ गाउँपालिकाको बेरुजु सबैभन्दा धेरै देखिएको छ ।

बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० मा १ अर्ब ९७ करोड ६५ लाख ७६ हजारको लेखापरीक्षण गरेकोमा ५.१३ प्रतिशत (१० करोड १३ लाख २७ हजार रुपैयाँ) बेरुजु रहेको छ । प्रतिवेदन अनुसार डुडुवा गाउँपालिकाले १ अर्ब २८ करोड २२ लाख ७८ हजारको लेखापरीक्षण गरेकोमा ४.७८ प्रतिशत (६ करोड १२ लाख ७८ हजार रुपैयाँ) बेरुजुसहित दोस्रो स्थानमा छ ।

त्यस्तै तेस्रो स्थानमा रहेको कोहलपुर नगरपालिकाले २ अर्ब ८४ करोड ७९ लाख ७३ हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा ४.६७ प्रतिशत (१३ करोड ३० लाख ७२ हजार रुपैयाँ) बेरुजु रहेको छ । आर्थिक वर्ष २०७९–०८० को लेखा परीक्षण प्रतिवेदन अनुसार नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिका चौथो स्थानमा परेका छन् ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार नेपालगन्ज उपमहानगरपालिकाले ४ अर्ब १२ करोड ६६ लाख ५२ हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा ४.०२ प्रतिशत (१६ करोड ५७ लाख ५२ हजार रुपैयाँ) र नरैनापुर गाउँपालिकाले १ अर्ब ४८ करोड २३ लाख ५५ हजारको लेखापरीक्षण गरेकोमा ४.०२ प्रतिशत (५ करोड ९५ लाख ७१ हजार रुपैयाँ) बेरुजु देखिएको छ ।

त्यस्तै जानकी गाउँपालिकाले एक अर्ब ३६ करोड १२ लाख ४५ हजारको लेखापरीक्षण गरेकोमा २.९४ प्रतिशत (४ करोड ८७ हजार रुपैयाँ), खजुरा गाउँपालिकाले एक अर्ब ८५ करोड ९७ लाख ९७ हजारको लेखापरीक्षण गरेकोमा २.४७ प्रतिशत (४ करोड ५९ लाख ८५ हजार रुपैयाँ) बेरुजु देखिएको छ । बाँकेमा सबैभन्दा कम बेरुजु राप्तीसोनारी गाउँपालिकामा देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० मा १ अर्ब ९६ करोड २८ लाख ५८ हजारको लेखापरीक्षण गरेकोमा २.०५ प्रतिशत (४ करोड २ लाख १३ हजार रुपैयाँ) बेरुजु रहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । यता बर्दियामा भने सबैभन्दा धेरै बेरुजु रकम बढैयाताल गाउँपालिकामा देखिएको छ ।

बढैयाताल गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० मा १ अर्ब ८६ करोड ५३ लाख ५६ हजारको लेखापरीक्षण गरेकोमा ३.४१ प्रतिशत (६ करोड ३५ लाख २६ हजार रुपैयाँ) बेरुजु रहेको छ भने बाँसगढी नगरपालिकाले १ अर्ब ५९ करोड ६ लाख ११ हजारको लेखापरीक्षण गरेकोमा ३.८३ प्रतिशत (४ करोड ४९ लाख ४७ हजार रुपैयाँ) बेरुजु देखिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९–०८० मा गुलरिया नगरपालिकाले २ अर्ब ७ करोड ९३ लाख ६३ हजारको लेखापरीक्षण गरेकोमा २.२० प्रतिशत (४ करोड ५७ लाख ९९ हजार रुपैयाँ), बारबर्दिया नगरपालिकाले २ अर्ब ७ करोड ३९ लाख ५४ हजारको लेखापरीक्षण गरेकोमा १.८४ प्रतिशत (३ करोड ८१ लाख १ हजार रुपैयाँ) बेरुजु देखिएको महालेखापरीक्षकको प्रतिवेदनले जनाएको छ ।

त्यस्तै मधुवन नगरपालिकाले आर्थिक वर्ष २०७९–०८० मा १ अर्ब ८१ करोड ३४ लाख ८० हजारको लेखापरीक्षण गरेकोमा १.१८ प्रतिशत (२ करोड १४ लाख ५४ हजार रुपैयाँ), ठाकुरबाबा नगरपालिकाले १ अर्ब १० करोड ५३ लाख ४३ हजारको लेखापरीक्षण गरेकोमा ०.८६ प्रतिशत (१ करोड ५५ लाख ६४ हजार रुपैयाँ) बेरुजु देखिएको छ ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार गेरुवा गाउँपालिकाले १ अर्ब ३० करोड ९० लाख ८९ हजारको लेखापरीक्षण गरेकोमा ०.८४ प्रतिशत (१ करोड ९ लाख ६४ हजार रुपैयाँ) र राजापुर नगरपालिकाले १ अर्ब ९९ करोड ८६ लाख ५४ हजारको लेखापरीक्षण गरेकोमा ०.५४ प्रतिशत (१ करोड ८ लाख २३ हजार रुपैयाँ) बेरुजु देखिएको छ । बर्दियामा सबैभन्दा कम बेरुजु राजापुर नगरपालिकामा देखिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १४:३२

लोकप्रिय