सूचनाको शक्ति - The Power Of Information

        

३८ लाख नेपालीले खान्छन् सामाजिक सुरक्षा भत्ता

सामाजिक सुरक्षामा आबद्ध नेपालीको संख्यामा वृद्धि हुँदै गएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्त पुनले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण अनुसार सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्यामा पछिल्लो एक वर्षमा ५.५ प्रतिशतले वृद्धि भएको हो ।

गत फागुन महिनासम्म सो संख्या ३८ लाख २७७ पुगेको छ । गत वर्ष सामाजिक सुरक्षामा आबद्धको संख्या ३७ लाख ६ हजार ३२७ थियो । ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५१६, ६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २६१, ६० वर्ष कटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २७० रहेको छ ।

त्यस्तै विधवा महिला ५ लाख ७६ हजार ५५३, पूर्ण अपाङ्गता भएका ६६ हजार ४५२, अति अशक्त अपाङ्गता भएका १ लाख ४२ हजार १८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १७६, लोपोन्मुख जाति २२ हजार २४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८४४ छन् । हरेक वर्ष राज्यले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकमको आकार बढ्दै गएको छ ।

चालु आर्थिक वर्षमा संघीय सरकारले सामाजिक सुरक्षातर्फ २ खर्ब ९८ अर्ब ५७ करोड १९ लाख विनियोजन गरेको थियो । सामाजिक सुरक्षामा सरकारले छुट्याएको रकम कूल बजेटको १४.७८ प्रतिशत, चालु बजेटको २२.६७ प्रतिशत र कूल ग्राहस्थ उत्पादनको ५.५४ प्रतिशत हो । १० वर्षअघि आर्थिक वर्ष ०७०.०७१ मा कूल बजेटको ८.१७ प्रतिशत मात्र सामाजिक सुरक्षा शीर्षकमा खर्च भएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १०:११

लोकप्रिय