सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा किन भयो कृषि कामदारको हाहाकार ?

नेपालमा कृषि श्रमिकहरूको अभाव रहेको पाइएको छ । युवाहरू दक्षिण कोरिया, मलेसिया, इजरेल जस्ता देशमा कृषि क्षेत्रमा काम गर्न गइरहँदा स्वदेशमा भने कृषि श्रमिकहरूको अभाव देखिएको हो । केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय कृषि जनगणना अनुसार देशभरिका करिब ४० प्रतिशत स्थानीय तहमा कृषि कामदारको अभाव देखिएको छ ।

देशभरिका कुल ६ हजार ७४३ वडाहरूमध्ये कार्यालयले ६ हजार ३६ वडाहरूबाट कृषि क्षेत्रको जनगणना गरेको थियो । जसमध्ये २ हजार ४१७ वडाहरूमा विगत तीन वर्षमा कृषि कामदारको अभाव भएको पाइएको हो । तथ्यांक कार्यालयका अनुसार मधेस प्रदेशमा कृषि कामदारको अभाव भएका वडाहरूको संख्या सबैभन्दा बढी रहेको छ ।

यो प्रदेशमा गणना भएका मध्ये ७१३ (६२ प्रतिशत) वडामा कृषि कामदारको अभाव हुने गरेको विवरण प्राप्त भएको छ । कामदारको सबैभन्दा कम अभाव कर्णाली प्रदेशमा देखिएको छ । कार्यालयका अनुसार कर्णाली प्रदेशमा गणना गरिएका वडामध्ये ८३ वटा वडा अर्थात् १३ प्रतिशतमा मात्र कृषि कामदारको अभाव हुने गरेको विवरण सम्बन्धित वडा कार्यालयहरूले उपलब्ध गराएका छन् ।

कृषि कामदार अभाव भएका वडाहरूमध्ये १ हजार ३८४ वटा वडाले जग्गा ठेक्का वा अधियाँमा दिइएको छ । गणनामा समेटिएका ७७७ वटा वडाले कृषि कार्य घटाउन बाध्य भएको भनेका छन् । ५७५ वडाले कम कामदार चाहिने कृषि सुरु गरेका छन् भने १ हजार ३३८ वडाले मेशिनको प्रयोग गरेर कृषि कामदारको अभाव पूर्ति गरेका छन् । बाँकी १ हजार १९२ वटा वडाले अन्य वडाबाट मजदुर ल्याएर अभावको पूर्ति गरेको बताएका छन् ।

श्रम मन्त्रालयले यो वर्षदेखिको दश वर्षलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रालयले देशमा आन्तरिक रोजगारी सिर्जना गर्न र दक्ष कामदारहरूको अभाव पूर्ति गर्ने उद्देश्यले यस्तो दशक घोषणा गरिएको जनाएको छ । तर केन्द्रीय तथ्यांक विभागले नेपालमा अझै ११ प्रतिशत मानिसहरू बेरोजगार रहेको जनाएको छ ।

कृषि क्षेत्रमा देखिएको कामदार अभावको प्रमुख कारण आप्रवासन हो । ‘मूल कारण चाहिँ बसाइसराइ भन्ने नै देखिएको छ । जहाँ खेती हुन्छ त्यहाँबाट मानिसहरू बसाइँ सरेर सहरतिर गए कति बाहिर पनि गए,’ केन्द्रीय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले भने । उनका अनुसार पैतृक थलोमा बसिरहेका मानिसहरू अवसरको खोजीमा अन्यत्र जाँदा कामदारको अभाव भएको हो ।

अनुसन्धानकर्ता मीना पौडेल युवा पुस्तालाई कृषिमा आकर्षित गर्न नसक्नु पनि जनशक्ति अभावको एउटा कारण रहेको बताउँछिन् । ‘हाम्रो शिक्षामै कृषिलाई प्राथमिकता दिन सकेका छैनौँ,’ अनुसन्धानकर्ता पौडेलले भनिन्, ‘संस्थागत रूपमै कृषिमा प्रोत्साहित गर्न सकेका छैनौँ ।’ तथ्यांक कार्यालयले औँल्याएका प्रमुख कारणहरूमध्ये दोस्रो नम्बरमा वैदेशिक रोजगारी पनि औँल्याइएको छ ।

‘आर्थिक रूपले सक्रिय युवा जनसंख्या परिवारमा अनुपस्थित छन् । केटाकेटी र बुढाबुढी निष्क्रिय उमेर समूहका मानिसहरू छन् त्यस कारण काम गर्ने जनशक्ति पाइएनन् भन्ने छ । त्यो भनेको वैदेशिक रोजगारी पनि हो,’ कार्यालयका प्रवक्ता समेत रहेका रेग्मीले भने । कृषि क्षेत्रमा काम गर्ने मजदुरहरूले दैनिक औसत ५३१ देखि ६६५ रुपैयाँसम्म ज्याला पाउने गरेका कार्यालयको सर्वेक्षणले देखाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजाल कृषि क्षेत्रका काममा युवाहरूको रुचि नहुनुको एउटा कारण पारिश्रमिकको विषय पनि हुनसक्ने ठान्छन् । ‘त्यो क्षेत्रमा कृषि कामदारको अभाव हुनुको मुख्य कारण चाहिँ वैदेशिक रोजगार पनि हुनसक्छ,’ रिजाल भन्छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार १२:१५

लोकप्रिय