सूचनाको शक्ति - The Power Of Information

        

विश्वव्यापी रूपमा बढ्दै लिङ्ग क्यान्सर

ब्राजिलका जोआओ (नाम परिवर्तन)ले सन् २०१८ मा आफ्नो लिंगमा गाँठो फेला पारे । यसलाई जँचाउन उनी डाक्टरकहाँ पुगे । ६३ वर्षीय जोआओ ती दिनहरू सम्झन्छन्, ‘म धेरै मेडिकल क्लिनिकहरूमा गएँ र मेरो समस्या के हो भनेर डाक्टरसँग परामर्श गरेँ ।’ अधिकांश डाक्टरले छालाको वृद्धिका कारण यसो भएको भनेर औषधी दिए ।

औषधी सेवन गरे पनि जोआओको लिंगमा गाँठो बढ्ने क्रम रोकिएन । यसले उनको वैवाहिक जीवनमा समेत असर गर्न थाल्यो । जोआओ र उनकी श्रीमतीबीचको यौन सम्बन्धमा पनि कमी आयो । जोआओ आफूलाई के भएको थियो भनेर पत्ता लगाउनमा अडिग थिए । उनले पाँच वर्षसम्म विशेषज्ञहरूको लगातार सम्पर्कमा रहे ।

हरेक पटक डाक्टरहरूले उनलाई थप औषधी दिए र नयाँ बायोप्सी गर्न भने । ‘त्यसले पनि मलाई मद्दत गरेन,’ जोआओ भन्छन् । पाँच वर्षपछि २०२३ मा उनलाई लिंगको क्यान्सर भएको बताइयो । ‘यो म र मेरो परिवारका लागि एकदमै पीडादायी प्रहार थियो । विशेष गरी मैले मेरो लिंगको केही भाग काट्नुपर्यो । मलाई आफू अंगभंग भएको महसुस भयो,’ जोआओ भन्छन् ।

उनले थपे, ‘यो यस्तो क्यान्सर हो जसबारे तपाईं कसैसँग कुरा गर्न पनि सक्नुहुन्न, किनकि तपाईंलाई हाँसोको पात्र बन्छु भन्ने डर हुन्छ ।’ लिंगको क्यान्सर दुर्लभ रोग हो । विश्वभर यो क्यान्सरका बिरामी र मृत्युको संख्या लगातार बढिरहेको छ । पछिल्लो अध्ययनअनुसार जोआओको देश ब्राजिलमा लिंगमा हुने क्यान्सरको दर उच्च छ अर्थात् प्रत्येक एक लाख मानिसमा २.१ जनालाई यो क्यान्सर छ ।

‘शल्यक्रियाको नाममा डर’

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ देखि २०२२ सम्ममा देशमा लिंगको क्यान्सरका २१ हजार घटना दर्ता भएका थिए । जसका कारण चार हजारभन्दा बढीको मृत्यु भएको छ । यसैगरी विगत एक दशकमा यो क्यान्सरका कारण ६५ सयभन्दा बढी व्यक्तिले आफ्नो लिंग काट्नुपरेको छ । यसको मतलब औसतमा प्रत्येक दुई दिनमा लिंगको एक शल्यक्रिया हुन्छ ।

ब्राजिलको सबैभन्दा गरिब प्रान्तमध्येको एक मारान्हाउमा प्रत्येक एक लाख पुरुषहरूमध्ये ६.१ जनालाई लिंगको क्यान्सर हुने गरेको पाइएको छ, जुन संसारकै सबैभन्दा उच्च दर हो । लिंगको क्यान्सरका लक्षण प्रायः त्यसमा भएको घाउबाट सुरु हुन्छ । यो निको हुँदैन र लिंगबाट धेरै दुर्गन्धित स्राव निस्कन्छ । यदि लिंगको क्यान्सर छिटै पत्ता लाग्यो भने बिरामीलाई शल्यक्रियाद्वारा गाँठो हटाउने, रेडियोथेरापी वा केमोथेरापीमार्फत निको हुने राम्रो मौका हुन्छ ।

सरसफाइमा ध्यान नदिएका कारण क्यान्सर भएको हुनसक्ने ब्राजिलियन सोसाइटी अफ युरोलोजीका मौरिसियो डेनर कोर्डेइरो बताउँछन् । लिंग क्यान्सरलाई यथास्थितिमा राखिएमा र समयमै उपचार नगरिएमा लिंगको सम्पूर्ण वा केही भाग काट्नुपर्ने चिकित्सक बताउँछन् । कुनै अवस्थामा नजिकैका यौन अंगहरू अर्थात् अण्डकोषसमेत काट्नुपर्ने हुन सक्छ ।

यसै वर्षको जनवरीमा जोआओले क्यान्सरबाट छुटकारा पाउनका लागि आफ्नो लिंगको एक भाग शल्यक्रिया गरेर काट्नुपरेको थियो । यो उनका लागि धेरै कठिन समय थियो । ‘हामीले यस्तो अवस्थाबाट गुज्रनुपर्छ भनेर कहिल्यै सोचेका थिएनौं । जब यो रोग लाग्छ, तपाईंले कसैलाई के भयो भन्न पनि सक्नुहुन्न,’ जोआओ भन्छन् ।

‘म शल्यक्रियाबाट धेरै डराएको थिएँ तर मसँग अर्को विकल्प थिएन । शल्यक्रियापछिका केही सातासम्म म धेरै दुःखी भएँ । लिंगको एक भाग मबाट वञ्चित हुनु एकदमै डरलाग्दो कुरा हो,’ उनी भन्छन् । चिकित्सकका अनुसार कतिपय बिरामीको लिंग पूरै काट्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरूको जीवन पूर्णतयः परिवर्तन हुन्छ ।

के भन्छन् डाक्टर ?

साओ पाउलोको एसी क्यामेरागो क्यान्सर सेन्टरका युरोलोजी विभागका प्रमुख डा. थियागो क्यामेलो मोउराओका अनुसार आशिंक रूपमा अंगविच्छेद गर्दा लिंगबाट नै पिसाब गर्न मिल्छ तर पूरै काट्नुपरेमा बिरामीले शौचालयको सिटमा बसेर पिसाब फेर्नुपर्ने हुन्छ । विज्ञहरूका अनुसार लिंगको क्यान्सर हुनुका धेरै कारण हुन सक्छन् । यसमा लिंगका अगाडि छाला मोटो हुनु र धुम्रपान प्रमुख कारण हुन सक्छन् ।

ब्राजिलियन सोसाइटी अफ युरोलोजीका चिकित्सक मौरिसियो डेनर कोर्डेरो सरसफाइमा ध्यान नदिँदा पनि क्यान्सर हुन सक्ने बताउँछन् । ‘लिंगको छालालाई राम्ररी सफा नगर्दा छालामुनि जम्मा भएको फोहोरका कारण ब्याक्टेरिया संक्रमण हुने वातावरण बन्छ,’ उनी भन्छन् । उनका अनुसार नियमित रूपमा यस्तो फोहोर भइरह्यो भने ट्युमर बन्ने खतरा बढ्छ ।

सरसफाइको अभावबाहेक ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) संक्रमण हुनु पनि लिंग क्यान्सरको जोखिम बढाउने कारक रहेको मौरिसियो बताउँछन् । एचपिभी भाइरसले कतिपय अवस्थामा मुख र लिंगको क्यान्सर निम्त्याउँछन् । कोर्डेरोका अनुसार यस भाइरससँग सम्बन्धित क्यान्सरबाट बच्न एचपिभी खोप निकै प्रभावकारी उपाय हुन सक्छ तर यो खोप लगाउने दर ब्राजिलमा अत्यन्त कम छ ।

ब्राजिलमा खोपको उपलब्धता भए पनि केटीहरूमा एचपिभी खोप लगाउने दर ५७ प्रतिशत मात्रै छ । केटाहरूमा भने खोपको दर ४० प्रतिशतभन्दा माथि छैन । यस रोगको समग्र रोकथामका लागि खोप लगाउनेको प्रतिशत ९० प्रतिशत हुनुपर्छ । खोपबारे गलत जानकारी हुनु र यसको प्रभावकारिताको आशंका र खोप अभियानको अभावका कारण खोप दर न्यून रहेको मौरिसियो ठान्छन् ।

ब्राजिलमा मात्र सीमित छैन यो समस्या

यो समस्या ब्राजिलमा मात्रै सीमित छैन । लिंग क्यान्सर अर्थात् पेनाइल क्यान्सरबारे हालै गरिएको एक अनुसन्धानअनुसार यसप्रकारका बिरामीको संख्या विश्वभर बढिरहेका छन् । सन् २०२२ मा ‘जेएमआइआर पब्लिक हेल्थ एन्ड सर्भिलेन्स’ नामक पत्रिकाले ४३ देशको पछिल्लो तथ्यांक विश्लेषण गरेर एक प्रतिवेदन प्रकाशित गरेको थियो ।

सो प्रतिवेदनअनुसार सन् २००८ देखि २०१२ बिचमा अफ्रिकी देश युगान्डामा प्रत्येक एक लाख मानिसमा २.२ जनामा लिंग क्यान्सर रहेको देखिएको थियो । यसपछि प्रतिलाखमा ब्राजिलमा २.१ जना, थाइल्यान्डमा १.४ जनामा यो क्यान्सर रहेको पाइएको थियो । यो क्यान्सरको सबैभन्दा कम दर कुवेतमा रहेको पाइएको थियो, जहाँ प्रतिलाखमा मात्र ०.१ जनामा यो रोग देखिएको थियो ।

चीनको सनयात सेन विश्वविद्यालयका लिवेन फु र तियान टियानको नेतृत्वमा गरिएको एक अनुसन्धानअनुसार यो क्यान्सर र यसबाट हुने मृत्युका हिसाबले विकासशील देशहरू सबैभन्दा बढी पीडित छन् । यी देशमा सन् १९७९ देखि २००९ बीच यसको दर बढेको छ । यी देशमा यो अवधिमा प्रतिलाख व्यक्तिमा १.१ देखि बढेर १.३ जनासम्ममा यो रोग विस्तार भएको देखिएको छ ।

यसैगरी जर्मनीमा सन् १९६१ देखि २०१२ बीच यो रोग ५० प्रतिशतले बढेको पाइएको छ । यस अवधिमा जर्मनीमा यो क्यान्सरको दर प्रतिलाख मानिसमा १.२ बाट बढेर १.८ पुगेको पाइएको थियो । ग्लोबल क्यान्सर रजिस्ट्रीले यो रोगको प्रकोप अझै बढ्ने आँकलन गरेको छ । उक्त संस्थाका अनुसार सन् २०५० सम्म विश्वभर लिंग क्यान्सरका घटनाहरू ७७ प्रतिशतले बढ्न सक्छन् ।

विज्ञहरूका अनुसार यो परिवर्तनको मुख्य कारण बुढ्यौली पनि हो । यो क्यान्सरका धेरैजसो बिरामीमा ७० वर्ष पुगेका वृद्धवृद्धा देखिएका छन् । कोर्डेइरो थप्छन्, ‘यो क्यान्सर एकदमै दुर्लभ रोग हो र यसलाई रोकथाम गर्न सकिन्छ । सबै उमेरका पुरुषले यौनसम्पर्कपछि हरेक दिन आफ्नो लिंग साबुन र पानीले धुनु महत्वपूर्ण हुन्छ ।’

उनी यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्नुपर्ने र लिंगको टुप्पोतिरको छालामा समस्या भएका व्यक्तिहरूले शल्यक्रिया गरेर लिंगको टुप्पो हटाउनुपर्ने सल्लाह दिन्छन् । यसले यो क्यान्सरको जोखिम कम हुन्छ । अहिले ब्राजिलका जोआओ आफ्नो लिंगको एक भाग काटिएपछि दुखाइ हटेको बताउँछन् ।

‘म पहिलेभन्दा निकै सहज महसुस गरिरहेको छु तर बाँकी जीवनमा मेरो लिंगको एक भाग काट्नु परेको कठोर वास्तविकतासँगै म बाँच्नुपर्ने छ,’ उनी भन्छन् । ब्रिटिस क्यान्सर रिसर्चका अनुसार लिंग क्यान्सर भएको पत्ता लागेका ९० प्रतिशतभन्दा बढी पुरुषमा यो क्यान्सर लिम्फ नोड्स अर्थात् रोग प्रतिरोधक गाँठोसम्म फैलिएको छैन भने ती रोगी अर्को पाँच वर्ष अथवा सोभन्दा बढी बाँच्न सक्छन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ०८:२२