सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा लागुऔषध ओसारपसार गर्ने २०६ जना पक्राउ

भारतसँग सीमा जोडिएका कारण बाँकेमा लागुऔषधको ओसारपसार, कारोबार तथा सेवनकर्ता वृद्धि हुँदै गएको पाइएको छ । प्रहरीले खुला सीमा नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौती रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाकाबाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले चालु आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा लागुऔषधका १३० मुद्दा दर्ता भएको जानकारी दिँदै ती मुद्दामा २०६ जनालाई पक्राउ गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको नौ महिनामा ५५३ ग्राम ९१६ मिलिग्राम ब्राउनसुगर, १३ किलो १२३ ग्राम चरेस, नौ किलो ३१३ ग्राम अफिम, पाँच किलो ३८६ ग्राम गाँजा, कोरेक्स तीन लिटर तीन सय मिलिलिटर र नाइट्रोजेपाम ४०३ पत्ता बरामद भएको छ ।

सीमापारिको भारतीय बजार रुपैडियामा खुलेआम बिक्ने र खुला सीमा भएकाले ओसारपसार सहज रहेकाले लागुऔषध नियन्त्रण निकै चुनौतीपूर्ण बनेको लागुऔषध विरुद्धका अभियन्ताको भनाइ छ । लामो समयदेखि लागुऔषधविरुद्ध सक्रिय दीपेन्द्र जोशीले पुनस्र्थापना केन्द्रमा सुधार भएर घर फर्किएका पुनः कुलतमा फसेको पाइएको जनाउँदै उपचार गरेर ठिक भएका बेरोजगार हुँदा पनि पुनः त्यही कुलतको दलदलमा फस्ने गरेको बताउनुभयो ।

उहाँले भारततर्फसमेत लागुऔषध कारोबार निरुत्साहन गर्न कानुनी कारबाही अगाडि नबढ्दासम्म नेपालको प्रयासले मात्रै लागुऔषधको सेवन र कारोबार नियन्त्रणमा नआउने बताउनुभयो । नेपाल–भारत दुई देशका सीमास्थित प्रशासन र प्रहरीका अधिकारीको बैठकमा समेत लागुऔषधको विषयले सधैँ जसो प्राथमिकता पाउने गरेको छ । लागुऔषध नियन्त्रणका लागि हरेक बैठकमा समन्वय गर्ने भनिए पनि भारतीय क्षेत्रमा लागुऔषधको बिक्री भने रोकिएको छैन ।

नेपालगन्ज नाका हुँदै लागुऔषध अफिम, गाँजा, चरेस भारततर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाइट्राजेपाम नेपाल भित्रिने गरेको छ । भारतसँग आवतजावत गर्ने खुला मुख्य नाका, छिमेकी देश भारतसँगको यस क्षेत्रका बासिन्दाको सम्बन्ध आदीलगायतका कारण पनि बाँके जिल्लामा लागुऔषधको कारोबार नियन्त्रण गर्न चुनौती छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले लागुऔषधले अन्य अपराध पनि बढाउने गरेकाले सो नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले चोरी, घरेलु हिंसा, झैझगडा जस्ता घटनाको कारकसमेत लागुऔषध हुने गरेकाले सो रोक्न कुनै पनि कसर बाँकी नराखिने बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार १९:३४

लोकप्रिय