सूचनाको शक्ति - The Power Of Information

        

साढे ४५ अङ्कले बढ्यो नेप्से

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४५ दशमलव ६९ अङ्कले बढेर २ हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको आँकलन गरिएको छ।

आज ३२३ कम्पनीको १ करोड २२ लाख ४० हजार ८०२ कित्ता सेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा ५ अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सबै समूहका उपसूचक हरियो देखिएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह ४ दशमलव ३८ र निर्जीवन बीमा समूह ३ दशमलव ८१ प्रतिशतले बढेको छ।
चारवटा लघुवित्त कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १४ करोड ८० लाख ८३ हजार २५७ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फण्ड–२ को ४ लाख २१ हजार २०७ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार १९:१६

लोकप्रिय