सूचनाको शक्ति - The Power Of Information

        

बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै किसान

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ । रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारी खेती गर्दै आइका छन् ।

बगरमा उत्पादित तरकारी बिक्री गरेर उनले घरखर्च जुटाउँदै आएका छन् । ‘दोदाले सबै जमिन लग्यो । अहिले बगरमा खेती गर्छु । सुरुमा घर परिवारका लागि मात्र खेती गर्थेँ,’ उनले भने, ‘आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ । सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।’

उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन् । दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ । बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन् ।

डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन् । त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो । दोदाको कटान अझै रोकिएको छैन । प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ । मोलसिंह भन्छन्, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ ।’

डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्योे । विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन् । बर्खामा दोदाको बाढीले सास्ती गर्छ । बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन ।

‘उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ,’ उनले भने, ‘उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ ।’ दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन् । बगरमा तरभुजा, काँक्रा, लौका, फर्सी लगायत खेती गरिएको छ ।

माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ । चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए । ‘वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ । माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी,’ उनले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ ।’

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार ०७:३७