सूचनाको शक्ति - The Power Of Information

        

‘बर्फानी बाबा’मा खानेपानीको काम अन्तिम चरणमा

बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित अति दुर्गम स्थान चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको छ ।

जिल्लाको अति नै लोकप्रिय तथा अत्यन्त दुर्गम स्थान ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री कृष्णा केसी ‘नमुना’ले जानकारी दिनुभयो । उहाँले लामो समयदेखिको जनताको माग रहेको सो मन्दिरमा खानेपानी पुर्‍याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

राप्तीसोनारी ४ को कुम्भरमा डिप बोरिङ गाडेर बोरिङमार्फत् करिब साढे सात किलोमिटर टाढा ‘बर्फानी बाबा’ मन्दिरमा पानी पुर्‍याउने कार्य द्रुत गतिमा भइरहेको जानकारी दिनुभयो ।

कुम्भरमा डिप बोरिङ गाड्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । कुम्भरबाट ‘बर्फानी बाबा’ मन्दीरसम्मको करिब साढे सात किलोमिटर लामो दुरीमा पाइप बिछाउने काम भइरहेको र करिब आधाभन्दा बढी दुरीमा पाइप बिछाउने कार्य सम्पन्न भएको उहाँले बताउनुभयो ।

पूर्वमन्त्री केसीका अनुसार ‘बर्फानी बाबा’ मन्दिर रहेको डाँडामा पानी सङ्कलन गर्नका लागि ३५ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ। त्यसैगरी मन्दिर क्षेत्रमा भक्तजनहरूको आवासका लागि भवन निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

खानेपानीका लागि प्रदेश सरकारको ७० लाख रुपियाँको बजेट र भवन निर्माणका लागि ८० लाख रुपियाँको बजेट आफूले विनियोजित गरेको उहाँले जानकारी दिनुभयो । निर्माणाधीन भवनको पहिलो तलाको ढलानको काम सकिएको र अब माथिल्लो तलाको काम सुरु हुने उहाँले बताउनुभयो ।

यही महिना भित्रमा ‘बर्फानी बाबा’मा पानी पुर्‍याउने र भवन निर्माणको काम पनि सम्पन्न भइसक्ने उहाँले जानकारी दिनुभयो । अति नै दुर्गम स्थान चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’मा हिन्दु धर्मावलम्बी भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

नेपालका विभिन्न स्थानका साथै भारतसम्मबाट ‘बर्फानी बाबा’ मन्दिर दर्शन गर्न आउने भक्तजनहरूका लागि बस्नका लागि आवास र पिउने पानीको समेत व्यवस्था हुन नसक्दा भक्तजनहरू समस्यामा पर्ने गरेका थिए ।

अब भवन निर्माणका साथै खानेपानीको काम पनि सम्पन्न भएपछि भने उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भई स्थानीयको आर्थिक उपार्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १६:४१

लोकप्रिय