सूचनाको शक्ति - The Power Of Information

        

बालविवाह विरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी

रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् । ‘विवाहबारे कल्पनासमेत गरेकी थिइनँ । भर्खर आठ कक्षा पढ्दै गरेकी मलाई त्यो कुरा सुन्दा कस्तो भयो होला ! त्यसैमा आमाबाटै राम्रो केटा राम्रो छ भनेर पकाएको कुराले निकै पोल्यो,’ ति किशोरी भनिन् ।

असहमति हुँदा पनि परिवारले आफूलाई हेर्न भनि केटालाई घरमै ल्याएपछि राम्रो भनिएको केटाले १० कक्षा पढ्दै गर्दा विद्यालय छोडेको र केही काम नगरिरहेको सुनाएपछि आफू थप मर्माहत भएको उनको भनाइ छ । ‘उनको कुरा सुनेपछि मेरो मन झनै भाडियो, कुनै पनि हातलमा बिहे नगर्ने सोचमा पुगेँ । मैले त अडान लिए तर घरपरिवारको दबाबमा कतिपयले यस्तो गर्न सक्दैनन् नि !’ उनको भनाइ थियो ।

उनका अनुसार धेरै पढेलेखेका अभिभावकले पनि धेरै छोरी ठूली भएपछि विवाह गर्दा धेरै दाइजो दिनुपर्ने डरले पनि सानै उमेरमा विवाह गर्ने चलन रहेको छ । उनी अहिले सिर्जनशील संस्था नेपाल रुपन्देहीमा फिल्ड मोटिभेटरको रूपमा काम गरिरहेकी छन् । वालविवाह रोकथाममा सक्रिय भएर काम गरिरहेकी छन् । सानो उमेरमा हुने विवाहको बारेमा गाउँघर, बालकल्व र विद्यालयमा पुगेर जनचेतना जगाउने गरेको उनले बताइन् ।

आफ्नो विवाहको प्रतिकार गरेकी उनको पहलमा स्थानीयस्तरमा अरु छवटा बालविवाह पनि रोकिएका छन् । नेपालगन्जकी एक किशोरीको तीन वर्षअघि १८ बर्षको उमेर हुँदा घरपरिवारले विवाह गरिदिए । आफ्नो असहमति हुँदाहुँदै परिवारले जबर्जस्ती विवाह गरिदिएको उनको गुनासो छ । १० कक्षा पढ्दै गरेकी उनलाई पढाइलाई निरन्तरता दिने भनेर बिहे गर्न बाध्य पारिएको थियो । उनलाई झुक्कएर श्रीमती र दुई सन्तान भइसकेका व्यक्तिसँग विवाह गरिएको थियो, त्यो कुरा केटाको घर पुगेपछि मात्रै थाहा भएको थियो ।

‘श्रीमती र छोरा भएको मानिसले मलाई झुठ बोलेर किन बिहे गरेको ? भनेर प्रश्न गर्दा केटा पक्षले परिवारसँग पैसा लिएर विवाह गरेको भन्न जवाफ आयो । बाँकी दुःख र यातनाका कुरा त गरिसाध्य छैन,’ उनले भनिन् । उनले स्थानीय फातिमा फाउन्डेनको सहयोगमा अहिले कक्षा १२ को परीक्षा सकेर बसेकी छन् । सोही फाउन्डेसनको सहयोगमा बालविवाहविरुद्धको अभियानमा जोडिएकी छन् ।

दलित महिला उत्थान संघ बर्दिया, फातिमा फाउन्डेसन नेपालले बाँके, सोइया महिला स्वावलम्बी संस्था रुपन्देही, सिर्जनशील संस्था नेपाल रुपन्देही र मुक्त कमलहरी विकास मञ्चले बालविवाह रोकथाम सम्बन्धी सचेतना फैलाउन यस्तै युवतिलाई संगठित गर्ने काम गरिरहेका मुक्त कमलरी विकास मञ्चका ज्ञानु थापाले जानकारी दिइन् । उनले भनिन्, ‘किशोरकिशोरीको समूह बनाएर बालविवाहका नकारात्मक पक्षबारेमा जानकारी दिने गरेका छौँ । बालविवाह गरेका र गर्नबाट जोगिएका किशोरीहरू हाम्रो अभियानमा खुलेर लागेका छन् ।’

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १७:३५

लोकप्रिय