सूचनाको शक्ति - The Power Of Information

        

साहसिक जलपर्यटन

पर्यटक तान्दै मोटरबोट

जलाशयमा डुङ्गा चलाउँदा सामान्य अनुभव मात्रै प्राप्त हुने र मोटरबोटको प्रयोग तथा अन्य गतिविधि गर्दा वास्तवमै साहसिक जलपर्यटन हुन्छ । मोटरबोटमार्फत गरिने गतिविधिमा हावा, पानी र गतिको सम्मिश्रण हुन्छ । यसले खेललाई साहसिक बनाउँछ ।

बुलबुले तालमा मोटरबोट सञ्चालन सुर्खेत २८ वैशाख ः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट सञ्चालन । लामो समयदेखि जीर्ण रहेको यस तालमा मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । तस्बिर ः सुरेश आचार्य÷रासस

नेपालका नदीमा पहिलोपटक ‘मोटरबोट’ चलेको सायद साढे पाँच दशकअघि हो । सन् १९६८ मा एड्मन्ड हिलारीले हेमिल्टन नामका दुईवटा मोटरबोट कोशी र गण्डकी नदीसम्म ल्याएका थिए । तत्कालीन समयमा यी बोट यातायात तथा ढुवानी प्रयोजनका लागि ल्याइएको थियो । हिलारीले केही समय नेपालका नदीमा ती मोटरबोट चलाएपछि स्वदेश फर्कनुअघि तत्कालीन भरतपुर गाउँ पञ्चायतलाई उपहार दिएका थिए ।

उपहारमा प्राप्त ती बोटलाई भरतपुर गाउँ पञ्चायतले केही समय विदेशी पाइलट राखेर सञ्चालन गर्यो पनि । तर पछि मर्मतसम्भार लगायतका समस्याले यी बोट सञ्चालनमा निरन्तरता भएन । केही समयपछि तीनै बोट भाडामा लिएर कोशी नदीमा चलाइयो । त्यसपछि लामो समयसम्म नेपालका नदीमा मोटरबोट खासै चलेनन् । फाट्टफुट्ट भने ढुवानी वा यातायातका रुपमा सञ्चालन भने भएका थिए ।

पछिल्लो एक दशकयता नेपालका यिनै मोटरबोट पर्यटकीय गतिविधि बढाउने माध्यम बनेका छन् । अहिले कैयौँ नदी तथा जलाशयमा मोटरबोट हुँइकिएको देखिन्छ । पूर्वमा कोशीदेखि पश्चिममा सुर्खेतको बुलबुल तालसम्म मोटरबोट सञ्चालन भइरहेको छ । मोटरबोट सञ्चालनमा आएसँगै ती क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ । नेपालमा मोटरबोट पर्यटनको सुरुआत गर्ने श्रेय व्यवसायी राजकुमार श्रेष्ठलाई जान्छ ।

चितवनको ठिमुरामा लभ्ली रिसोर्ट सञ्चालन गरेका उनले नारायणी नदीमा पहिलोपटक मोटरबोट सञ्चालन गरी पर्यटकलाई आकर्षित गरेका थिए । उनले जापानबाट दुई वटा जेट स्की र एउटा जेट बोट ल्याएर नारायणी नदीमा सेवा सुरु गरेका थिए । उनकै सिको गरेर पछि अन्य कम्पनी पनि थपिए । तर पछि यसले पनि निरन्तरता पाउन सकेन । सन् २०१६ मा लमजुङका विष्णुबहादुर ढकालले नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनी स्थापना गरेपछि भने मोटरबोट पर्यटनले पुनर्जीवन मात्र पाएन देशैभर फैलिएको छ ।

‘हाम्रो कम्पनीले नेपालमै मोटरबोट उत्पादनका साथै मर्मतसम्भारका लागि प्राविधिक जनशक्ति तयार पारेपछि मोटरबोट सञ्चालन गर्नेहरु बढे,’ ढकालले भने, ‘पछिल्लो समय हामीले जनशक्ति पनि उत्पादन सुरु गरेका छौँ, हाल हाम्रो कम्पनीबाट मोटरबोट उत्पादन गरी सञ्चालन गर्ने कम्पनीहरु बढेका छन् ।’ ढकालका अनुसार नेपालमा मोटरबोट पर्यटनको ठूलो सम्भावना छ । नेपालका कैयौँ नदी र जलाशयमा मोटरबोट सञ्चालन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने अवस्था बनेको छ ।

केही स्थानीय सरकारले त आफूकहाँ भएका नदी र जलाशयमा मोटरबोट सञ्चालनका लागि सहजीकरण गर्दै सो क्षेत्रको पर्यटन गतिविधि बढाएका छन् । भरतपुर महानगरपालिका, बागमती नगरपालिका, आबुखैरेनी गाउँपालिका तथा वीरेन्द्रनगर नगरपालिकाले आफ्नै अग्रसरतामा पर्यटनको प्रबद्र्धनमा मोटरबोट सञ्चालन गरेको उनको भनाइ छ । ढकालका शब्दमा कोशी नदीमा यातायात र ढुवानीका हिसाबले मोटरबोट सञ्चालन राम्रो मानिए पनि नारायणी नदी र मर्याङ्दी जलायशमा मोटरबोट सञ्चालन गरी पर्यटक आकर्षित गर्न राम्रो देखिएको छ ।

उनका अनुसार भरतपुर महानगरपालिकाले मोटरबोट सञ्चालनका कारण मनोरञ्जन करबाट मात्रै वार्षिक औसत रु ५० लाख सङ्कलन गर्दै आएको छ । यसबाट स्थानीय सरकारको राजस्व समेत बढेको छ । ‘सफा पानी, पर्याप्त लम्बाइ भएकाले मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलायश मोटरबोट सञ्चालनका लागि राम्रो छ, यस्तोमा मोटरबोट गतिविधि उत्कृष्ट मानिन्छ”, उनले भने । त्यसबाहेक नेपालगन्जको वाटरपार्कमा बोट राइडिङकै कारण भारतीय पर्यटकको सङ्ख्या बढेको छ ।

भरत ताल र नारायणी नदीमा पनि मोटरबोटकै कारण पर्यटक बढेका छन् । पछिल्लो समय सुर्खेतको बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि तालको स्वरुप नै फेरिएको छ । चितवनको देवघाटमा रहेका विभिन्न कुण्ड घुम्न पनि मोटरबोट माध्यम बनेको छ । त्यसबाहेक भरतपुरको शिवघाट, सिन्धुलीको खुर्कोट लगायतमा मोटरबोट चलिरहेको छ । बर्दियाको राजापुरमा बोट चढेर डल्फिन हेर्न पाइन्छ । मोटरबोटका गतिका कारण पानीको छाल निस्कँदा डल्फिन आउने गरेका छन् । यसले सो क्षेत्रको पर्यटकीय गतिविधि बढाएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित प्रमुख पर्यटकीय स्थल बुलबुले तालमा मोटरबोट सञ्चालन । लामो समयदेखि जीर्ण रहेको यस तालमा मोटरबोट सञ्चालन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । तस्वीर : सुरेश आचार्य । रासस

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बोटेबोरा कम्पनीसँगको सहकार्यमा बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएपछि तालको स्वरुप मात्रै फेरिएको छैन, आम्दानीको नयाँ स्रोत पनि थपिएको छ । लामो समयदेखि जलकुम्भी र फोहोरले भरिएको तालको अस्तित्व सङ्कटमा परेको अवस्थामा फोहोर सफा गरी बोटेबोरा कम्पनीले मोटरबोट सञ्चालनमा ल्याएको छ । कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेवापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ ।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालबाट फोहोर निकालेपछि पानीको सतह कम भएको र नगरपालिकाको सहकार्यमा केही माथिपट्टी रहेको दशधाराबाट रातिको समयमा पानी ल्याइएको बताए । मोटरबोट सञ्चालनपछि बुलबुले ताको स्वरुप फेरिएको उनको भनाइ छ । तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ ।

साथै, बोटेबोरा कम्पनीले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा वार्षिक रु २५ लाख बुझाउने गरी वाटरपार्कमा मोटरबोट सञ्चालन गरिरहेको छ । पछिल्लो समय मोटरबोट सञ्चालनमा आकर्षण देखिनुमा बागमती नगरपालिकामा रहेको भरत तालमा मोटरबोट सञ्चालन हुनु पनि हो । सुरुमा माछापालनका लागि बनाइएको पोखरीलाई तालमा परिणत गरिएपछि मोटरबोट सञ्चालन गरिएको थियो । मोटरबोटकै कारण उक्त क्षेत्रको पर्यटकीय गतिविधि मात्रै बढेको छैन, सयौँ जनाले रोजगारी पनि पाएका छन् ।

बागमती नगरपालिकाका उपप्रमुख लिलाकुमारी मोक्तानका अनुसार भरत तालमा मोटरबोट सञ्चालनका कारण धेरैले रोजगारी पाएका छन् भने यसबाट पालिकाको आम्दानी पनि बढेको छ । ‘हाल ३० भन्दा मोटरबोट सञ्चालन भइरहेका छन्, ताल आसपासमा विभिन्न होटल, रेष्टुराँ तथा पसल सञ्चालन भइरहेका छन् । सामान्य दिनमा औसतमा दुई हजार र मेलापर्व र बिदाका दिनमा पाँच हजारसम्म पर्यटक आउने गरेका छन्,’ उनले भने । उनका अनुसार मोटरबोट सञ्चालनबाट नगरपालिकाले २० प्रतिशत शुल्क लिने गरेको छ ।

त्यसो त स्याङ्जाको मिर्मीदेखि सेतिबेनीसम्मको बाँधमा यातायातका रुपमा स्टिमर भनिने मोटरबोट सञ्चालन लामो समयदेखि भइरहेको छ । नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीका सञ्चालक ढकालले मोटरबोटलाई पर्यटकीय मनोरञ्जनका साथै यातायातको साधनका रुपमा सञ्चालन गर्न सकियो भने निकै ठूलो फाइदा लिन सकिने धारणा राख्छन् । ‘अहिले नदी र जलाशयमा मोटरबोट बढी सञ्चालन भइरहेका छन् । मनोरञ्जनका हिसाबले राम्रो पनि हो तर यसको बढी उपयोग ढुवानी वा यातायातका रुपमा गर्न सकिन्छ,’ उनले भने ।

उनका अनुसार भारतको कलकत्तादेखि चितवनको दासढुङ्गासम्मको रुटमा १० टनसम्मको जहाज सजिलै ल्याउन सकिन्छ । यसो गर्न सकिएमा भने ढुवानी खर्च निकै कम हुन्छ । उनका अनुसार हिजोका दिनमा नेपालमा जलपर्यटन सम्बन्धी गतिविधिमा ¥याफ्टिङ मात्रै रहेकामा अहिले मोटरबोट थपिएपछि पर्यटकीय गतिविधि बढेको छ । आगामी दिनमा यसैका आधारमा विभिन्न पर्यटकीय गतिविधि पनि सञ्चालन गर्न सकिने उनको भनाइ छ । ‘हिजोका दिनमा विदेशमा गएर गरिने ‘वाटर स्पोर्टस्’का गतिविधिहरु आगामी दिनमा नेपालमै पनि गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि कैयन सम्भावना छन् ।’

जलाशयमा डुङ्गा चलाउँदा सामान्य अनुभव मात्रै प्राप्त हुने र मोटरबोटको प्रयोग तथा अन्य गतिविधि गर्दा वास्तवमै साहसिक जलपर्यटन हुने उनको भनाइ छ । ‘मोटरबोटमार्फत गरिने गतिविधिमा हावा, पानी र गतिको सम्मिश्रण हुन्छ । यसले खेललाई साहसिक बनाउँछ,’ उनले भने । उनी हामीकहाँ भएका जलाशयहरु विद्युत् उत्पादनमा मात्रै प्रयोग भइरहेको भन्दै त्यही जलाशयमा मोटरबोट सञ्चालन गरी थप आर्थिक गतिविधि बढाउन सकिने धारणा राख्छन् । ‘विदेशमा रु पाँच हजारमा गर्ने गतिविधि आजका दिनमा एक प्लेट ममःमा हुने खर्चमै हामीले उपलब्ध गराइरहेका छौँ,’ उनले भने, ‘रन अफ रिभरमा औसतमा रु २५० देखि ३५० सम्ममा अनुभव लिन सकिन्छ ।’

नेपालमै बन्छ बोट

नवलपरासीको गैँडाकोटमा रहेको नेपाल सीप एन्ड बोट बिल्डिङ कम्पनीले पछिल्लो एक दशकयता बोट निर्माण गर्दै आएको छ । ‘हामीले नेपालका नदीहरुको बहाव, पानीको गहिराइ, खोलाको गतिको अध्ययन गरिसकेका छौँ, सोहीअनुसार बोट उत्पादन गर्छौ,’ कम्पनीका अध्यक्ष ढकालले भने । उनका अनुसार कम्पनीले जापानको सुजुकी मरिन कम्पनीले उत्पादन गर्ने इन्जिन र प्रविधि प्रयोग तथा मेकानिकल स्टेरिङ प्रणालीका लागि अमेरिकाको मल्टिफेलेसको प्रणाली प्रयोग गरी बोट उत्पादन गर्दै आएको छ । उनका अनुसार एउटा मोटरबोट उत्पादनका लागि सामान्यतयाः औसतमा रु २० लाख पर्छ । त्यसबाहेक ग्राहकको रुचि र आवश्यकताका आधारमा यसको खर्च थपघट हुनसक्छ ।

स्रोत : रासस
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १५:०२