सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक होमस्टे र राप्तीसोनारीको नयाँ गाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।

‘नेपालगञ्ज, कोहलपुर लगायतका सहरी क्षेत्रबाट गर्मी छल्न होमस्टे आउने चलन बढ्दै गएको छ,’ चौधरीले भने, ‘पूर्व–पश्चिम राजमार्ग क्षेत्र नजिकै भएकाले बाँके र बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा होमस्टेमा पाहुना घुम्न आउने गरेका छन् ।’ छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ ।

खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब ५०० आन्तरिक पर्यटक पुग्ने गरेका छन् । ‘यतिबेला बाहिरी जिल्लासँगै नेपालगन्ज लगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्,’ चौधरीले भने, ‘एकपटक यहाँ आएका पाहुनाहरु फेरि फर्किएर आउने गर्नुभएको छ ।’

गाभर होमस्टे आउने पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको व्यवस्था गर्ने गरिएको छ । स्थानीय स्वादसँगै प्राकृतिक मनोरममा पाहुना आकर्षित हुने गरेको च्यामा होमस्टेका सञ्चालक गणेश दहितले बताए । बाँके, बर्दियासँगै काठमाडौँबाट पाहुना घुम्न आउने गरेको उहाँको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरबाट गर्मी छल्न च्यामा होमस्टे पुगेका प्रज्ज्वल जोशीले समय मिलाएर होमस्टे घुम्न आउने गरेको बताए ।

बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफू कहाँ आउने गरेको नयाँगाउँ सात नम्बर होमस्टेकी सञ्चालक शोभी थारूले बताइन् । होमस्टे आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगी लगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरेको उनको भनाइ छ । नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो ।

सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुनाको चहलपहल हुने गर्दछ । होमस्टे नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार रहेकाले पनि आन्तरिक पर्यटकको चहलपहल हुने गरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए ।

बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १४:३०

लोकप्रिय