सूचनाको शक्ति - The Power Of Information

        

विपद् 

आगलागीबाट पाँच वर्षमा साढे नौ अर्बको क्षति

आगलागी नियन्त्रणका लागि दमकल र फयरपम्प पर्याप्त नहुँदा समस्या भएको छ । 

आगलागीका कारण पछिल्लो पाँच वर्षमा रु साढे नौ अर्ब बराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआएम)का अनुसार आगलागीका कारण बस्ती लगायतका संरचनामा क्षति पुग्दा रु नौ अर्ब ४७ करोड ४५ लाख ९३ हजार २२७ बराबरको आर्थिक क्षति भएको छ ।

विसं २०७७ देखि २०८१ को वैशाख दोस्रो सातासम्मको अवधिमा आगलागीका कारण उक्त क्षति भएको प्राधिकरणको भनाइ छ । सो आगलागीबाट ४२२ जनाले ज्यान गुमाएका छन् भने एक हजार ७०६ जना घाइते भएका छन् । विसं २०८१ मा ५६८ वटा आगलागीका घटनाबाट करिब रु ३१ करोड ७६ लाख बराबरको क्षति भएको छ ।

आगलागीका कारण १६ जानाले ज्यान गुमाइसकेका छन् भने ५२ जाना घाइते भएका छन् । यस वर्ष आगलागीबाट एक हजार ९४ घरपरिवार प्रभावित भएका छन् भने २२८ घरमा आंशिक र ६२८ घरमा पूर्ण क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । साथै यस अवधिमा २८२ गोठमा क्षति पुगेको छ भने ४०० पशु चौपायामा पनि क्षति पुगेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका लागि विसं २०८० मा चार हजार ४६ आगलागीका घटनामा करिब रु दुई अर्ब ५२ करोड बराबरको आर्थिक क्षति भएको छ । यस अवधिमा १०८ जनाले ज्यान गुमाएका थिए भने ५०४ घाइते भएका थिए । सो अवधिमा पाँच हजार ११२ घरपरिवार प्रभावित भएका थिए । साथै ५११ घरमा आंशिक र एक हजार ८३ घर पूर्णरुपमा क्षति पुगेको थियो ।

८८६ गोठमा क्षति पुगेको दुई हजार १४८ पशु चौपाया क्षति भएको पाइएको छ । यस अवधिमा भने पाँच वर्षकै धेरै आगलागीका घटना भएको तथ्याङ्क छ । विसं २०७९ तीन हजार २४ वटा आगलागीका घटना भएकामा रु दुई अर्ब ५१ करोड बराबरको क्षति भएको थियो । सो अवधिमा भने १०९ जनाको मृत्यु भएको थियो भने ३९२ जना घाइते भएका थिए ।

तीन हजार ७३६ घर प्रभावित भएका थिए । साथै ५८२ घर आंशिक र ९७६ घर पूर्णरुपमा क्षति पुगेको थियो । यस अवधिमा ७१८ गोठ र दुई हजार ८६ पशुचौपयामा क्षति पुगेको प्राधिकरणको भनाइ छ । यसैगरी विसं २०७८ मा भने दुई हजार ६३१ वटा आगलागीका घटना हुँदा रु दुई अर्ब २६ करोड बराबरको क्षति हुँदा ९२ जनाले ज्यान गुमाएका छन् थिए भने ३७९ जना घाइते भएका थिए ।

यस अवधिमा आगलागीका कारण दुई हजार ८५७ घरपरिवार प्रभावित भएका थिए । साथै ७२५ घर आंशिक तथा ७४९ घरमा पूर्णरुपमा क्षति पुगेको थियो । यस अवधिमा ६१३ गोठमा क्षति पुगेको र ९६८ पशु चौपयामा क्षति पुगेको थियो । विसं २०७७ मा दुई हजार ६३१ वटा आगलागीका घटना भएकामा रु एक अर्ब ८५ करोड बराबरको क्षति पुगेको थियो ।

साथै ९७ जनाको मृत्यु भएको थियो भने तीन सय ७९ जना घाइते भएका थिए । यस अवधिमा तीन हजार ४२७ परिवार प्रभावित भएका थिए साथै ६९५ घरमा आंशिक र एक हजार १३८ घरमा पूर्णरुपमा क्षति पुगेको थियो । प्राधिकरणको तथ्याङ्कअनुसार ७९७ गोठमा क्षति पुगेको थियो भने एक हजार ४२८ पशु चौपायामा क्षति पुगेको छ ।

आगलागीजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास मर्मत वा अस्थायी आवास अनुदानको व्यवस्था गरिएको छ । आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान वितरण कार्यविधि, २०७८ मा मर्मत वा अस्थायी आवासका लाभग्राहीले सम्झौता अनुसार काम सुरु गरेको अवस्थामा रु २५ हजार र कार्य सम्पन्न गरेको प्राविधिक जाँचपास प्रतिवेदनका आधारमा रु २५ हजार गरी जम्मा रु ५० हजार पाउने उल्लेख छ ।

आगलागीजन्य विपद्बाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माण वा पुनःस्थापनाका लाभग्राहीले निजी आवास पनुःनिर्माण वा पुनःस्थापनाका लागि क्षतिको यथार्थ प्राविधिक मूल्याङ्कनका आधारमा हिमाली जिल्लामा बढीमा रु पाँच लाख, पहाडी जिल्लामा बढीमा रु चार लाख र तराईका जिल्लामा बढीमा रु तीन लाख गरी तीन किस्तामा पाउने कार्यविधि छ ।

सम्झौता हुनासाथ पहिलो किस्ताबापत रु ५० हजार, ‘प्लिन्थ लेभल’सम्म आवास निर्माण सम्पन्न गरिसकेपछि अनसूची–६ बमोजिम निर्माण सम्पन्न गरेको प्राविधिक जाँच प्रतिवेदनका आधारमा दोस्रो किस्ताबापत हिमाली जिल्लामा रु दुई लाख ५० हजार, पहाडी जिल्लामा रु दुई लाख र तराईका जिल्लामा रु एक लाख ५० हजार अनुदान पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

तर सरकारी निकाय वा संस्थाबाट अनुदान प्राप्त गर्ने गलत मनसायले जानाजानी वा लापरबाहीपूर्वक घर आगलागी गरेमा वा वन डढेलो वा आगलागीजन्य अन्य कार्य गरेको पाइएमा कुनै पनि अनुदान रकम उपलब्ध नहुनेसमेत कार्यविधि उल्लेख छ । कार्यविधिअनुसार जानाजानी वा लापरबाहीपूर्ण कार्य गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले हरेक वर्ष बढ्दो आगलागी तथा वन डढेलो न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी सञ्चार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको जानकारी दिएका छन् । ‘आगलागी नियन्त्रणका लागि हामीसँग भएका अग्नि नियन्त्रणका उपकरण पर्याप्त हुन नसक्दा प्रभावकारीरुपमा नियन्त्रणका गतिविधि सञ्चालन गर्न सकिरहेका छैनाँै,’ उनले भने ।

उनका अनुसार पर्याप्त बजेट अभावका कारण ती उपकरणहरु खरिद हुन सकेको छैन । आगलागी र डढेलोको जोखिम कम गर्न आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री जिल्ला तथा स्थानीय तहलाई वितरण, सबैखालका सञ्चारमाध्यममार्फत सचेतनामूलक सामग्रीको प्रकाशन तथा प्रसारण, सरोकारवाला निकायसँग विपद् संवाद, तालिम सञ्चालन तथा स्व–अध्ययन सामग्रीको उपलब्धता, आवास गुमाएका नागरिकको उद्धार तथा तुलनात्मकरुपमा सुरक्षित आवास निर्माण गर्न अनुदान वितरण लगायतका कार्य गरेको पोखरेलले जानकारी दिए ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पनि बस्तीका आगलागीमध्ये विद्युत् ‘सर्ट’ हुनु, वन डढेलो बस्तीमा सर्नु, सतर्कता अपनाउन नसक्नुले गर्दा बस्तीमा आगलागी हुने गर्छ । ‘फुस तथा घरका छाना, काठका घर छन् भने घाना पकाउने क्रममा पनि आगलागी भएका घटना छन् । चाडपर्वमा बत्ती बालेर छोड्दा पनि आगलागीका घटना बढेको पाइएको छ,’ उनले भने । आगलागी नियन्त्रणका लागि दमकल र फयरपम्प पर्याप्त नहुँदा समस्या भएको उनको भनाइ छ ।

‘दमकल १५८ वटा चालु अवस्थामा छन् भने २२ वटा बिग्रिएको अवस्थामा छन् र ११४ वटा फायरपम्प स्थानीय तहमा वितरण भएका छन्,’ उनले भने, ‘यी उपकरणहरु पर्याप्त छैनन् ।’ आगलागी नियन्त्रणका दक्ष जनशक्ति नहुँदा पनि समस्या भइरहेको भन्दै भट्टराईले स्थानीय तहलाई पनि आगलागी नियन्त्रण सम्बन्धी तालिम आवश्यकता रहेकामा जोड दिए । प्राधिरकणका अनुसार यस वर्ष पनि वर्षा कम भएको र आगलागी तथा वन डढेलाका घटनाको जोखिम अधिक भएकाले पनि यसतर्फ प्राधिकरणले विशेष ध्यान दिएको छ ।

इसिमोड र वन तथा भू–संरक्षण विभागको साझेदारीमा डढेलो पहिचान तथा अनुगमन प्रणालीको प्रयोग गरी प्रत्येक दिन देशभर लागेको डढेलोको अनुगमन गर्ने व्यवस्था गरिएको छ । आगलागी र वन डढेलोको जोखिमको अवस्थाको जानकारी प्राप्त गरी सोहीअनुसार न्यूनीकरण तथा नियन्त्रणका कार्य सञ्चालन गर्न आगलागी तथा वन डढेलो सम्बन्धी ‘लाइभ’ जानकारी समेत दिँदै आइएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १५:४८