सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

जय ‘आमा’ दिवस

अनि मन्दिर छेउ धोतीको सप्को बिछ्याएकी आमाले अशक्त र रोगी भएकोले घर निकाला भएको बताउँछिन्,

आमा…
हजुर…
हँ…
है…
के भयो ?
किन कराको ?
कति आमा आमा गरेको ?
यस्तै यस्तै जवाफ जे जसरी आएनी ‘आमा’…भन्न कहिल्यै कसैलाई नछुटोस्,
यो अकाट्य नाता कतै, कबै, कसैको नटुटोस्,
काख बिना आमाको कुनै सन्तानलाई हुँर्कन बढ्न नपरोस्,
आमा सम्बोधन गर्दा र सुन्दा कसैको आँखाबाट आँशु नझरोस्,

आमा बिना यस धर्तीमा कोही कसरी अवतरित हुन सक्दछ ?
पहिलो रोदनसँगै आँखा खोल्दा पहिलो दृश्य आमाको मुहार बेगर अरू कसैको कसरी देख्न सकिन्छ ?
प्रथम स्तनपानभन्दा अरू के कुरा बालकका लागि अमृत हुन सक्दछ ?
आमाको अंगालो भन्दा सुरक्षित स्थान र स्वर्गीय आनन्द अन्यत्र कहाँ पाउन सकिन्छ ?

साँच्चै पहिलो शब्द ‘आमा’ नभन्नेले त्यस पछि अरू बोली बोल्न सम्भव होला कि नहोला ?
पहिलो प्रेम आमासँग नहुनेले प्रेमको सहि परिभाषा थाहकका पाउँछन् होला कि पाउँदैनन् होला ?
पहिलो कदम ‘आमा’ बेगर चाल्नेले त्यसपछिका जिन्दगीका उतार चढावमा कदमहरू कसरी चाल्छन् होला ?
पहिलो गुरूको रूपमा आमा नपाउनेको ब्यवहारिक र नैतिक शिक्षा कसरी र कहाँबाट पाउँछन् होला ?
हो यस्तै यस्तै प्रश्नहरू खेलिरहन्छन् मनमा,

जब म स–साना नीनीहरूलाई सडकपेटी र सार्वजनिक स्थानमा यत्रतत्र देख्दछु,
उनीहरूको त्यो ‘नाई मेरो आमा त छैन’ वा ‘सानैमा छोडेर गाको रे’ भन्ने भनाईहरू सुन्दछु,
अँधेरो कुनामा चौपायाहरूसँग अंगालो मारी निष्लोट निदाएको भेट्दछु,
एक हाथले कवाडको झोला काँधमा अड्याई अर्को हाथले डेन्ड्राइड चुस्दै गरेको फेला पार्दछु,

मुटुमा गाँठो पर्दछ,
आवाज घाँटीमै अड्किन्छ,
आँखा अनायासै रसाउँछन्,
आमा नाताको रित्तोपन खड्किन्छ,
चाल अनायासै बढ्दछ,
आत्मा नराम्रोसँग काँप्दछ,

जब बाटो छेउककमा भेटिएकी आमाले सन्तान सम्पन्नशाली देशमा भएको सुनाउँछिन्,
भिख माग्दै गरेकी आमाले सन्तान उच्च ओहोदामा रहेको बखान गर्छिन्,
आश्रममा रहेकी आमाले छोरा छोरीसँग आफ्नो लागि समय नभएको ब्यथा पोख्छिन्,
अनि मन्दिर छेउ धोतीको सप्को बिछ्याएकी आमाले अशक्त र रोगी भएकोले घर निकाला भएको बताउँछिन्,
मष्तिष्क शून्य हुन्छ,
श्वास घाटीमै अड्किन्छ, रक्तचापले म्याराथुनमा भाग लिन्छ,
नचाहँदा नचाहँदै अन्जानका लागि पनि मुख खोल्न मन लाग्छ,
छि, दुष्ट, निच, पापी, कुलंगार जस्ता शब्द बोल्न मन लाग्छ,

बिर्स्यौ तिमीले ?
यी आमा त्यहि जीउँदो भगवान् हुन्, जसले मृत्युलाई चुनौती दिँदै हामीलाई जीवन दिएकी थिइन्,
उनी त्यहि धर्ती हुन्, जहाँ हाम्रो अस्तित्वलाई निश्वार्थ अंकुरित गराएकी थिइन्,
त्यहि जननी हुन्, जसले हाम्रा खातिर आफ्नो शौन्दर्य, रहर र हैसियत तिलाञ्जित गरेकी थिइन्,
त्यहि महतारी हुन्, जसले हाम्रा लागि आफ्नो भोक, निन्द्रा र आरामसँग सम्झौता गरेकी थिइन्,
तर हामी त यो सब मनन गर्ने भन्दा पनि तपसिलका कुरा सुन्ने सभ्य समाजमा पो छौं त होइन ?
जहाँ…
उसले त आमाको शेषपछि आमाको नाममा अक्षयकोष स्थापना गर्यो रे,
फलानाले त आमाको मृत्यु कर्म मन फुकाएर गर्यो रे,
कसैले त आमाको दुःख बर्ष दिनलाई नै बोक्यो रे,
कसैले आमाको मासिक पैतालिस बार्षिक सबै बृद्धाश्रममै सक्यो रे,
भन्ने कुराको चर्चा र होडबाजी हुन्छ,

के यहि हो त ‘आमा’ नाताप्रतिको हाम्रो बुझाई ?
के यहि हो त आफ्नी जननीप्रतिको हाम्रो सच्चा सम्मान ?
के यहि हो त ती उदार धर्तीप्रतिको हाम्रो मानवता ?
के यहि हो त त्यागी प्रतिमूर्तिप्रतिको हाम्रो कर्तब्यपरायणता ?

साँच्चै तपाईको आमा कता हुनुहुन्छ ?
आमा तपाईसँग हुनुहुन्छ कि तपाई आमासँग हुनुहुन्छ ?
आमा तपाईका लागि जाग्नुहुन्छ कि तपाई आमाका लागि ब्यूझँनुहुन्छ ?
आमा तपाईका ब्यवहारले रुनुहुन्छ कि तपाई आमाका लागि रुनुहुन्छ ?
आमा तपाईको जननी हुन पाएकोमा गर्व गर्नुहुन्छ कि आफ्नै कोखलाई धिक्कार्नुहुन्छ ?

के हरेक दिनको आमाको खानपिनको ख्याल छ तपाईलाई ?
आमाको हालको उमेर र अवस्थाको ज्ञान छ तपाईलाई ?
नियमित चेकजाँच र सेवन गर्ने औषधिको हेक्का छ तपाईलाई ?
वहाँको धर्मकर्म र तीर्थव्रत गर्ने ईच्क्षाको कदर छ तपाईलाई ?

यदि छ भने आडम्बर गर्नुभन्दा जिवित रहँदै निस्वार्थ मनले आमाको आदरपूर्वक ख्याल राखौं,
‘आमा’ बस ‘आमा’ हुन् हामी पनि सच्चा सन्तानको कर्ममा ध्यान राखौं,
जुन घरमा जिउँदो रहँदासम्म आमाको सेवा र कदर हुन्छ त्यहाँ मृत्यु पश्चात आत्मा शान्तीको ढोंग गरिरहनुपर्दैन,
जसले आमालाई आमाको दर्जा र सम्मान दिएको हुन्छ, उसलाई भौतिक अभावबीच पनि आत्मिक शान्ती अन्यत्र खोज्नुपर्दैन ।
जय ‘आमा’ दिवस

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार १७:११

लोकप्रिय