सूचनाको शक्ति - The Power Of Information

        

भवन अभावले पढाइ प्रभावित

हुम्लाको सिमकोट गाउँपालिका–१ दोजामस्थित चाङला हिमाल आधारभूत विद्यालयलाई भवन अभाव भएको छ । भवन अभाव भएपछि बालबाविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई पढाउन समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक राजु लामाले भने, ‘विद्यालयमा एउटै साँघुरो कोठामा दुई फरक फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’

कक्षा २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गरिँदै आएको उनले बताए । विद्यार्थीले पढाइमा बाधा पुगेको गुनासो गर्ने गरेका उनको भनाइ छ । ‘चार र पाँच कक्षाका विद्यार्थीलाई पनि एउटै कक्षामा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ,’ प्रधानाध्यापक लामाले भने ।

विद्यालयसँग ६ कोठामात्रै छन् । एउटामा कार्यालय कक्ष, अर्कोमा बालविकास, एउटामा कक्षा १ का र अर्कोमा कक्षा २, ३ का र बाँकी रहेको एउटा कोठामा चार र पाँच कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गरिँदै आएको शिक्षक सञ्जय फडेराले बताए । एउटै कोठामा फरक फरक कक्षाका विद्यार्थीलाई राखेर पठनपाठन गराउँदा उनीहरुलाई पढाएको कुरा बुझ्न समस्या हुने गरेको शिक्षक फडेराले बताए ।

विद्यालय भवन निर्माणका लागि स्थानीयवासीलाई सहयोगका लागि आग्रह गरिएको शिक्षक फडेरा बताउँछन् । कक्षा १ मा छात्रछात्रा गरी ३३, कक्षा दुईमा चार, कक्षा तीनमा आठ, कक्षा चारमा चार तथा पाँचमा तीन विद्यार्थी अध्ययनरत रहेका उहाँले जानकारी दिनुभयो । बालबिकास कक्षामा ७० विद्यार्थी छन् । विद्यालयका प्रधानध्यापकसहित चार स्थायी शिक्षक तथा दुई कार्यालय सहयोगी रहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १७:१४

लोकप्रिय