२०८२ मंसिर १९ , शुक्रबार 6, December 2025, Saturday
संवाद

गाउँपालिकाको विकास जनप्रतिनिधि र कर्मचारीको साझा लक्ष्य

जनताका असिमित चाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौति छ । हामीले सकेसम्म जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं ।
सत्यपाटी
सत्यपाटी । बाँके । २०८१ वैशाख २५ गते मंगलबार

गेरुवा गाउँपालिका बर्दियाबाट सरुवा भएर २०८० मंसीर २० गतेदेखि खजुरा गाउँपालिका बाँकेमा आफ्नो कार्यभार सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना आफ्नो स्थानीय तहमा लामो अनुभव, योग्यता र कार्य क्षमताका आधारमा कुशल प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ । उहाँ लामो समयदेखि स्थानीय सरकार सञ्चालनको नेतृत्वदायी भूमिका र जिम्मेवारीमा हुनुहुन्छ । खजुरा गाउँपालिकाको समग्र विकासको अवस्था लगायतका विभिन्न विषयमा प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानासँग गरिएको विशेष कुराकानीको सम्पादित अंश :

खजुरा गाउँपालिकाको वर्तमान अवस्था कस्तो छ ?

संघियता अएपछि सिंहदरबार गाउँ गाउँमा भनिने गरिन्छ । संघीयता आइसकेपछि अर्थात् जनप्रतिनिधि चुनिनुभन्दा पहिले र जनप्रतिनीधि आइसकेपछि खजुरा गाउँपालिकाको विकासको अवस्था हेर्दा आकाश पातालको फरक छ । स्थानीय सरकार आएपछि हरेक टोलटोलमा व्यवस्थित बाटो बनेको छ । ती बाटोहरु पिसिसी भएका छन् । संघीय र प्रदेश स्तरीय पूर्वाधार निर्माण योजनाको अतिरिक्त गाउँपालिका बाट कालोपत्रे र पिसिसि बाटो सहित नाला पनि निर्माण गरिएको छ । बर्षातमा आएको पानी वा फोहोर पानी, नाला हुँदै बग्ने भएकोले पहिला जस्तो डुवानको समस्या अहिले छैन । ६–७ बर्षअघिको अवधि र अहिलेको अवस्था हेर्ने हो भने खजुरा गाउँपालिकाले विकासको फड्को मारेको छ ।

काम गर्ने क्रममा अन्य स्थानीय तह र खजुरा गाउँपालिकामा कस्तो अनुभव गर्नुभएको छ ?

स्थानीय तहमा कार्यप्रगति सबैमा एकै प्रकृतिको हुन्छ । जनप्रतिनिधीहरु अलगअलग भए पनि, कतिपय स्थानीय तहमा त्यहाँको भुगोल, जनसंख्या, रितिरिवाज र रहनसहनले फरक पार्ने हो । जस्तो यसअघि म बर्दियाको गेरुवामा कार्यरत रहँदा त्यहाँ थारु बहुल क्षेत्र भएकाले बडघर, योजना निर्माणमा उनीहरुको सहभागिता, थारु संस्कृति, परम्परा र रहनसहनमा स्थानीय सरकारको अलि बढी महत्व हुने गरेको थियो । अहिले खजुरामा आइसकेपछि यो पालिका मिश्रित समुदायको बसोबास रहेको पालिका हो । यहाँका चार वटा वडामा मधेसी–मुस्लिम समुदायको बाहुल्यता छ भने चार वटा वडामा पहाडी समुदायको बाहुल्यता छ । यहाँ मिश्रित किसिमको जाती, संस्कृति, रहनसहन र परम्परा छ । सबैलाई सम्मान गर्दै काम गर्नुपर्ने हुन्छ । संस्कृति, भुगोल, विकासको स्तर, जनसंख्या लगायतका कारणले फरक पार्दछ ।

खजुरामा सेवा प्रवाह छिटोछरितो र चुस्तदुरुस्त बनाउन के–के प्रयास भएका छन् ?

हाम्रा दैनिक प्रशासनीक कामहरु पालिका र वडा कार्यालयहरुबाट भइरहेका छन् । कामहरु आइसकेपछि नरोकिउन भनेर कर्मचारीलाई सचेत पनि गराएका छौं । केही समयअघि पालिकाका सम्पूर्ण कर्मचारीहरुले १६ बुँदे सामुहिक प्रतिवद्धता जारी गरेका छौं । जसले गर्दा सेवा प्रवाह चुस्त बनाउने कहि कसैको काम रोकिएको छ भने उहाँहरुले सम्बन्धीत शाखा प्रमुखसँग कुरा गर्ने, वडामा हो भने वडाध्यक्षसँग कुरा गर्ने, पालिकामा अध्यक्षसँग सम्पर्क गर्ने गरी हामीले पालिकाको काम नरोक्ने गरी काम गर्ने साझा प्रतिवद्धता रहेको छ । हामीहरु त्यसलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं ।

पालिकासँग कृषक लाभान्वित योजना के–के छन् ?

कृषकहरुलाई लाभांवित हुने गरी उन्नत जातको धानको बिउ, रसायनिक मल, किटनाषक औषधी, स्प्रे टयाङ्की, सिचाईको अभाव भएको ठाउँमा ड्युब टुबेल बोरिङ्ग जस्ता कार्यक्रमहरु गरिएको छ । किसानहरुलाई खेतीपाती गर्न आवश्यक पर्ने सीपमूलक तालिमसहित कृषि उपकरणहरु पनि दिइएको छ ।

गाउँपालिकामा भएका बेरोजगार नागरिकका लागि थप योजना के छन् ?

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा स्वरोजगार कार्यक्रम नै आएको छ । जसमा बेरोजगार युवा, महिला वा अन्य नागरिकलाई उनीहरुको शिप क्षमता अनुसार रोजगारी दिने काम भएको छ । खजुरा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तरगत आर्थिक वर्ष २०७९–०८० मा १६ वटा आयोजनामा १०७ जनाले रोजगार पाएका छन् । रोजगार कार्यक्रमले गाउँमै रोजगारी प्रदान गरी बेरोजगार व्यक्तिलाई आर्थिक संकट हुनबाट जोगाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा काम गर्न थालेपछि परिवारको ‘गरिबी’को दर घटेको छ ।

गाउँपालिकाले कस्ता योजनालाई मुख्य प्राथमिकतामा राख्ने गरेको छ ?

पालिकाभित्र हुने सबै कार्यको योजनालाई प्राथमिकतामा राख्ने गरेको छ । खासगरी शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि लगायतको योजनामा बढी फोकस गरिएको छ । ढलान भई अधुरै रहेका सडक र नालालाई पूर्णता दिने, कच्ची बाटोलाई पक्की र ढलान गरी बाटोघाटोको समस्यालाई दिर्घकालीन समाधान गर्ने योजना रहेको छ । पालिकाभित्र रहेका हरेक क्षेत्रको आवश्यकतालाई मध्यनजर गरी योजना तयार गरिएको छ । क्रमिक रुपले विकासको गतिलाई अगाडी बढाइनेछ ।

खजुरामा सेवा प्रवाह छिटोछरितो र चुस्तदुरुस्त बनाउन के–के प्रयास भएका छन् ?

हाम्रा दैनिक प्रशासनीक कामहरु पालिका र वडा कार्यालयहरुबाट भइरहेका छन् । कामहरु आइसकेपछि नरोकिउन भनेर कर्मचारीलाई सचेत पनि गराएका छौं । जसले गर्दा सेवा प्रवाह चुस्त बनाउने कहि कसैको काम रोकिएको छ भने उहाँहरुले सम्बन्धीत शाखा प्रमुखसँग कुरा गर्ने, वडामा हो भने वडाध्यक्षसँग कुरा गर्ने, पालिकामा अध्यक्षसँग सम्पर्क गर्ने गरी हामीले पालिकाको काम नरोक्ने गरी काम गर्ने साझा प्रतिवद्धतासहित अघि बढिरहेका छौं ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

अन्य गाउँपालिकामा जस्तै साझा समस्या यस गाउँपालिकामा पनि छन् । खासगरी, स्रोतसाधन भनेको प्रायः सीमित नै हुन्छ । मागका आधारमा आपूर्ति पक्ष कम हुनु स्वाभाविक नै हो । जनताका असिमित चाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौति छ । हामीले सकेसम्म जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ र हुनुपर्छ जस्तो लाग्छ ?

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य गाउँपालिकाको विकासकै हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यता अनुसार अगाडि बढ्दा दुवै पक्षबीचको सम्बन्धमा कुनै पनि किसिमको असमझदारी हुनेछैन र भएको पनि छैन ।

अन्त्यमा, खजुराको विकास र समृद्धिका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

खजुरा धेरै सम्भावना भएको स्थानीय तह हो । यहाँको सम्भावना पहिचान गर्न गर्न जरुरी छ । विशेषगरी कृषिको विकास गरी जनतालाई अघि बढाउन सकिन्छ । शिक्षामा प्राविधिक शिक्षाको ब्यवस्था गरेर विद्यार्थीलाई सीप सिकाउन सकिन्छ । यसैगरी स्वास्थ्यतर्फ १५ शैय्याको अस्पताललाई ब्यवस्थापन गर्न सकियो भने यहाँका जनतालाई प्रभावकारी स्वास्थ्य सुविधा दिन सक्छौं । स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पशु, भौतिक पूर्वाधार र मानवीय विकासमा ठोष योजना बनाएर अघि बढ्न सकेमा जनताको अपेक्षा अनुसार स्थानीय सरकारले काम गर्न सक्छ । स्थानीय तहको विकासका लागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी जनप्रतिनिधि र नागरिकको आचरण तथा व्यवहारमा सुधार आए विकासले गति लिनसक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्र गर्ने हो भने अपेक्षा गरेको कार्य सफल हुन सक्दैन ।

प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार