सूचनाको शक्ति - The Power Of Information

        

संवाद

गाउँपालिकाको विकास जनप्रतिनिधि र कर्मचारीको साझा लक्ष्य

जनताका असिमित चाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौति छ । हामीले सकेसम्म जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं ।

गेरुवा गाउँपालिका बर्दियाबाट सरुवा भएर २०८० मंसीर २० गतेदेखि खजुरा गाउँपालिका बाँकेमा आफ्नो कार्यभार सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना आफ्नो स्थानीय तहमा लामो अनुभव, योग्यता र कार्य क्षमताका आधारमा कुशल प्रमुख प्रशासकीय अधिकृत हुनुहन्छ । उहाँ लामो समयदेखि स्थानीय सरकार सञ्चालनको नेतृत्वदायी भूमिका र जिम्मेवारीमा हुनुहुन्छ । खजुरा गाउँपालिकाको समग्र विकासको अवस्था लगायतका विभिन्न विषयमा प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानासँग गरिएको विशेष कुराकानीको सम्पादित अंश :

खजुरा गाउँपालिकाको वर्तमान अवस्था कस्तो छ ?

संघियता अएपछि सिंहदरबार गाउँ गाउँमा भनिने गरिन्छ । संघीयता आइसकेपछि अर्थात् जनप्रतिनिधि चुनिनुभन्दा पहिले र जनप्रतिनीधि आइसकेपछि खजुरा गाउँपालिकाको विकासको अवस्था हेर्दा आकाश पातालको फरक छ । स्थानीय सरकार आएपछि हरेक टोलटोलमा व्यवस्थित बाटो बनेको छ । ती बाटोहरु पिसिसी भएका छन् । संघीय र प्रदेश स्तरीय पूर्वाधार निर्माण योजनाको अतिरिक्त गाउँपालिका बाट कालोपत्रे र पिसिसि बाटो सहित नाला पनि निर्माण गरिएको छ । बर्षातमा आएको पानी वा फोहोर पानी, नाला हुँदै बग्ने भएकोले पहिला जस्तो डुवानको समस्या अहिले छैन । ६–७ बर्षअघिको अवधि र अहिलेको अवस्था हेर्ने हो भने खजुरा गाउँपालिकाले विकासको फड्को मारेको छ ।

काम गर्ने क्रममा अन्य स्थानीय तह र खजुरा गाउँपालिकामा कस्तो अनुभव गर्नुभएको छ ?

स्थानीय तहमा कार्यप्रगति सबैमा एकै प्रकृतिको हुन्छ । जनप्रतिनिधीहरु अलगअलग भए पनि, कतिपय स्थानीय तहमा त्यहाँको भुगोल, जनसंख्या, रितिरिवाज र रहनसहनले फरक पार्ने हो । जस्तो यसअघि म बर्दियाको गेरुवामा कार्यरत रहँदा त्यहाँ थारु बहुल क्षेत्र भएकाले बडघर, योजना निर्माणमा उनीहरुको सहभागिता, थारु संस्कृति, परम्परा र रहनसहनमा स्थानीय सरकारको अलि बढी महत्व हुने गरेको थियो । अहिले खजुरामा आइसकेपछि यो पालिका मिश्रित समुदायको बसोबास रहेको पालिका हो । यहाँका चार वटा वडामा मधेसी–मुस्लिम समुदायको बाहुल्यता छ भने चार वटा वडामा पहाडी समुदायको बाहुल्यता छ । यहाँ मिश्रित किसिमको जाती, संस्कृति, रहनसहन र परम्परा छ । सबैलाई सम्मान गर्दै काम गर्नुपर्ने हुन्छ । संस्कृति, भुगोल, विकासको स्तर, जनसंख्या लगायतका कारणले फरक पार्दछ ।

खजुरामा सेवा प्रवाह छिटोछरितो र चुस्तदुरुस्त बनाउन के–के प्रयास भएका छन् ?

हाम्रा दैनिक प्रशासनीक कामहरु पालिका र वडा कार्यालयहरुबाट भइरहेका छन् । कामहरु आइसकेपछि नरोकिउन भनेर कर्मचारीलाई सचेत पनि गराएका छौं । केही समयअघि पालिकाका सम्पूर्ण कर्मचारीहरुले १६ बुँदे सामुहिक प्रतिवद्धता जारी गरेका छौं । जसले गर्दा सेवा प्रवाह चुस्त बनाउने कहि कसैको काम रोकिएको छ भने उहाँहरुले सम्बन्धीत शाखा प्रमुखसँग कुरा गर्ने, वडामा हो भने वडाध्यक्षसँग कुरा गर्ने, पालिकामा अध्यक्षसँग सम्पर्क गर्ने गरी हामीले पालिकाको काम नरोक्ने गरी काम गर्ने साझा प्रतिवद्धता रहेको छ । हामीहरु त्यसलाई आत्मसाथ गर्दै अघि बढिरहेका छौं ।

पालिकासँग कृषक लाभान्वित योजना के–के छन् ?

कृषकहरुलाई लाभांवित हुने गरी उन्नत जातको धानको बिउ, रसायनिक मल, किटनाषक औषधी, स्प्रे टयाङ्की, सिचाईको अभाव भएको ठाउँमा ड्युब टुबेल बोरिङ्ग जस्ता कार्यक्रमहरु गरिएको छ । किसानहरुलाई खेतीपाती गर्न आवश्यक पर्ने सीपमूलक तालिमसहित कृषि उपकरणहरु पनि दिइएको छ ।

गाउँपालिकामा भएका बेरोजगार नागरिकका लागि थप योजना के छन् ?

प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा स्वरोजगार कार्यक्रम नै आएको छ । जसमा बेरोजगार युवा, महिला वा अन्य नागरिकलाई उनीहरुको शिप क्षमता अनुसार रोजगारी दिने काम भएको छ । खजुरा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तरगत आर्थिक वर्ष २०७९–०८० मा १६ वटा आयोजनामा १०७ जनाले रोजगार पाएका छन् । रोजगार कार्यक्रमले गाउँमै रोजगारी प्रदान गरी बेरोजगार व्यक्तिलाई आर्थिक संकट हुनबाट जोगाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा काम गर्न थालेपछि परिवारको ‘गरिबी’को दर घटेको छ ।

गाउँपालिकाले कस्ता योजनालाई मुख्य प्राथमिकतामा राख्ने गरेको छ ?

पालिकाभित्र हुने सबै कार्यको योजनालाई प्राथमिकतामा राख्ने गरेको छ । खासगरी शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि लगायतको योजनामा बढी फोकस गरिएको छ । ढलान भई अधुरै रहेका सडक र नालालाई पूर्णता दिने, कच्ची बाटोलाई पक्की र ढलान गरी बाटोघाटोको समस्यालाई दिर्घकालीन समाधान गर्ने योजना रहेको छ । पालिकाभित्र रहेका हरेक क्षेत्रको आवश्यकतालाई मध्यनजर गरी योजना तयार गरिएको छ । क्रमिक रुपले विकासको गतिलाई अगाडी बढाइनेछ ।

खजुरामा सेवा प्रवाह छिटोछरितो र चुस्तदुरुस्त बनाउन के–के प्रयास भएका छन् ?

हाम्रा दैनिक प्रशासनीक कामहरु पालिका र वडा कार्यालयहरुबाट भइरहेका छन् । कामहरु आइसकेपछि नरोकिउन भनेर कर्मचारीलाई सचेत पनि गराएका छौं । जसले गर्दा सेवा प्रवाह चुस्त बनाउने कहि कसैको काम रोकिएको छ भने उहाँहरुले सम्बन्धीत शाखा प्रमुखसँग कुरा गर्ने, वडामा हो भने वडाध्यक्षसँग कुरा गर्ने, पालिकामा अध्यक्षसँग सम्पर्क गर्ने गरी हामीले पालिकाको काम नरोक्ने गरी काम गर्ने साझा प्रतिवद्धतासहित अघि बढिरहेका छौं ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

अन्य गाउँपालिकामा जस्तै साझा समस्या यस गाउँपालिकामा पनि छन् । खासगरी, स्रोतसाधन भनेको प्रायः सीमित नै हुन्छ । मागका आधारमा आपूर्ति पक्ष कम हुनु स्वाभाविक नै हो । जनताका असिमित चाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौति छ । हामीले सकेसम्म जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौं ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो छ र हुनुपर्छ जस्तो लाग्छ ?

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य गाउँपालिकाको विकासकै हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यता अनुसार अगाडि बढ्दा दुवै पक्षबीचको सम्बन्धमा कुनै पनि किसिमको असमझदारी हुनेछैन र भएको पनि छैन ।

अन्त्यमा, खजुराको विकास र समृद्धिका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?

खजुरा धेरै सम्भावना भएको स्थानीय तह हो । यहाँको सम्भावना पहिचान गर्न गर्न जरुरी छ । विशेषगरी कृषिको विकास गरी जनतालाई अघि बढाउन सकिन्छ । शिक्षामा प्राविधिक शिक्षाको ब्यवस्था गरेर विद्यार्थीलाई सीप सिकाउन सकिन्छ । यसैगरी स्वास्थ्यतर्फ १५ शैय्याको अस्पताललाई ब्यवस्थापन गर्न सकियो भने यहाँका जनतालाई प्रभावकारी स्वास्थ्य सुविधा दिन सक्छौं । स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पशु, भौतिक पूर्वाधार र मानवीय विकासमा ठोष योजना बनाएर अघि बढ्न सकेमा जनताको अपेक्षा अनुसार स्थानीय सरकारले काम गर्न सक्छ । स्थानीय तहको विकासका लागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी जनप्रतिनिधि र नागरिकको आचरण तथा व्यवहारमा सुधार आए विकासले गति लिनसक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्र गर्ने हो भने अपेक्षा गरेको कार्य सफल हुन सक्दैन ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १५:५४