२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

अनुदानको प्रतीक्षामा बाँकेका किसान

 नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ । ज्ञान केन्द्रले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदानका लागि प्रस्तावना दर्ता गरेका नौ सय बढी किसान अनुदानको आशमा दैनिक केन्द्रमा आउने गरेका छन् ।

‘सिँचाइ अभावले खेतीमा समस्या बेहोर्दै आएका किसान अनुदानको पर्खाइमा छौँ, नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढामगरले भने, ‘ज्ञान केन्द्रले सिँचाइका लागि ‘डिपबोरिङ’मा अनुदान दिने भएपछि आशा जागेको छ ।’

सिँचाइका लागि मोटर तथा डिपबोरिङका लागि सूचना आह्वान गर्दा धेरै किसानले प्रस्तावना दर्ता गरेका कारण वितरणमा चुनौती भएको  ज्ञान केन्द्रका कृषिविज्ञ जीवनकुमार केसीले बताए। 

अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँलगायत खेती वर्षामा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठूलो सङ्ख्यामा किसानको आवेदन परेको उनले बताए । केन्द्रले यस वर्ष  एक करोड ५० लाख अनुदान दिने तयारी गरेको छ । 

करिब एक सय किसानलाई एक लाख ५० हजारका दरले मोटर तथा डिपबोरिङका लागि अनुदान दिने योजना बनाए पनि ठूलो सङ्ख्यामा प्रस्ताव पेस भएकाले अनुदान रकम घटाएर वितरण गरिने कृषिविज्ञ केसीले जानकारी दिए  । 

प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार