सूचनाको शक्ति - The Power Of Information

        

समृद्धिका पाइलाहरु

समृद्धिका सम्भावना खोज्दै ‘खजुरा’, सम्भव छ ‘समृद्धि’

खजुरा गाउँपालिकासँग उपलब्ध प्रकृति र संस्कृतिलाई उन्नतिसंँग जोड्न सक्ने हो भने खजुराको समृद्धि टाढा छैन । अन्यथा पुरानै ढर्राको बजेट, नीति, कार्यक्रममा चल्ने अनि गाउँमा गाडीको धुलो उडाउँदैमा स्थानीय तहको समृद्धि सम्भव छैन ।

नेपालमा संघीयता अहिले पनि कार्यान्वयनकै चरणमा छ । स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहका सरकारहरू सञ्चालनमा छन् । तर संघीयताका आधारको रूपमा रहेका कतिपय स्थानीय सरकारहरुलाई अझै पनि समृद्धिका पाइलाहरु पछ्याउन हम्मेहम्मे परिरहेको छ । तर बाँकेको खजुरा गाउँपालिका भने त्यो दिशातर्फ धेरै अघि बढिसकेको छ ।

दैनिक प्रशासनीक काम कारबाहीहरुलाई प्रभावकारी बनाउँदै खजुराले समृद्धिका लागि दोडिरहेको छ । जनप्रतिनिधि र कर्मचारीहरु समृद्ध गाउँपालिका बनाउन निरन्तर कर्ममा खटिएका छन् । उनीहरुले संविधानको भावना अनुसार कामहरुलाई तीव्रता दिइरहेका छन् । समृद्धिका सम्भाव्यताहरु खोज्दै खजुरा अघि बढिरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको प्रमुख ब्यापारिक केन्द्र नेपालगन्जपछिको उदाउँदो शहर हो खजुरा ।

साविकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर, रनियापुर गाविसहरुलाई गाभेर खजुरा गाउँपालिकाले प्रशासकीय भवन निर्माण, अत्याधुनिक सुविधा सम्पन्न बहुउद्देश्यीय सभाहल, शीतभण्डार, चक्रपथ जस्ता धेरै महत्वाकांक्षी योजनाहरु केही सम्पन्न गरिसकेको छ भने केही सम्पन्न हुने चरणमा छन् । १०२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खजुरा कृषि, पर्यटनको प्रचुर सम्भावना रहेको गाउँपालिका पनि हो । खजुराले शैक्षिक विकासमा पनि निकै फड्को मारेको छ ।

नेपालकै प्रमुख कृषि नगदै बालीको रुपमा उब्जाउ गर्न सकिने कपास खेती, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई लक्षित गरी सञ्चालित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको पहिचान हो । यहाँ कृषिको प्रचुर सम्भावना छ । बाँकेमै धेरै उत्पादन हुने क्षेत्रमा खजुरा पहिलो स्थानमै आउँछ । यहाँको कृषियोेग्य जमिनमा अझै पनि पर्याप्त सिँचाइ पुग्न सकेको छैन । यहाँ सिँचाइ सुविधा विस्तार गर्न सकिएमा कृषिमा अब्बल रहने निर्विवाद छ ।

तर निर्वाहमुखी खेती प्रणालीलाई भने व्यावसायिकतामा परिणत गर्न जरुरी छ । विभिन्न जातजाती, भाषाभाषी, धार्मिक विविधता र सहिष्णुता रहेको खजुराको कुल जनसंख्या ६२ हजार ७८९ रहेको छ । यसको करिब अधाभन्दा बढी जनसंख्या कृषिमै निर्भर छ । बाँकेमा निर्माणाधिन सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न हुने हो भने यहाँका निसानहरुले पर्याप्त लाभ लिन सक्नेछन् । सिँचाइका नयाँ प्रविधि अवलम्बन गर्न सकिएमा खजुरा गाउँपालिकाभित्रका सिँचाइ नभएका स्थानलाई सिञ्तिच गरेर थप उत्पादन लिन सक्ने अवस्था छ ।

प्रमुख खाद्यान्न बालीमात्र होइन, यहाँ तरकारी उत्पादन पनि उस्तै राम्रो छ । पशुपालन, मत्स्यपालन, मौरीपालन, कुखुरापालन लगायतका क्षेत्रमा धेरै किसानहरुले सफलता प्राप्त गरेका छन् । यहाँको अर्को प्रमूख आधार भने खेल पर्यटन नै हो । यहाँ पर्याप्त खेल मैदानहरु छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता गराउन सक्ने सामथ्र्य खजुरा गाउँपालिकासँग छ । त्यसो त आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले आधुनिक खेलकूद पूर्वाधारहरु उपहार दिएर गएको छ भने स्थानीय तहले पनि खेल पूर्वाधारमा जोड दिइरहेको छ ।

त्यस्तै केही नीजि लगानीमा पनि खेल मैदानहरु तयार भइरहेका छन् । खेल क्षेत्र र पर्यटनलाई सँगसँगै अघि बढाउने हो भने खजुराबासीको आम्दानीको दरिलो स्रोत खेलकूद नै बन्ने निश्चित छ । यसका लागि सरकारी, नीजि र सार्वजनिक साझेदारी आवश्यक छ । त्यो वातावरण स्थानीय तह वा जनप्रतिनिधिहरुले तयार गर्न सक्नुपर्छ । खजुरा गाउँपालिकासँग उपलब्ध प्रकृति र संस्कृतिलाई उन्नतिसंँग जोड्न सक्ने हो भने खजुराको समृद्धि टाढा छैन । यसका लागि यस स्थानीय सरकारले प्रभावकारी ढंगबाट कार्य गर्नुपर्ने खाँचो छ ।

उच्चतम प्रविधिको प्रयोग र निजी क्षेत्रको सक्रियता उत्तिकै आवश्यक छ । उपलब्ध सम्भावनाहरूलाई उपयोग गरेर समृद्धिको यात्रा तय गर्न दरिलो ढंगले स्थानीय सरकारले नेतृत्व गरिरहेको छ र गर्नुपर्ने आवश्यकता पनि उत्तिकै छ । त्यसका लागि जनप्रतिनिधिहरु मानसिकतारुपमै तयार भएर लाग्नुपर्छ । तर कतिपय कामहरुमा सहकार्य हुन नसक्दा निर्वाचित जनशक्तिको ऊर्जा अन्योलतामा खेर गइरहेको छ । संविधानले स्थानीय सरकारलाई परम्परागत सेवा प्रवाहको निकायका रूपमा मात्रै सीमित नराखी आर्थिक विकासको एउटा अङ्गकै रूपमा स्थापित गरेको छ ।

स्थानीय बजार व्यवस्थापन, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ लगायतका स्थानीय पूर्वाधार निर्माण र विकासका साथै कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी जस्ता उत्पादनमूलक क्षेत्रमा काम गर्ने जिम्मेवारी दिएको छ । स्थानीय तहको निर्वाचनले संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास मात्र भएको छैन, यसले सामुदायिक गतिविधिमा नागरिक सहभागी हुने वातावरण बनेको छ । स्थानीय विकास, निर्माण र आर्थिक विकासका गतिविधिमा वृद्धि गराएको छ ।

यी गतिविधि गर्न स्थानीय तहले आफ्नै स्रोत परिचालन गर्न सक्ने अधिकार संविधानले दिएको छ । स्थानीय आवश्यकतालाई मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारलाई दृष्टिगत गरेर उत्पादन गर्ने रणनीति लिएर स्थानीय तहले आफ्नो क्षेत्रभित्र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न सक्छन् । उत्पादन, प्रशोधन, बजारीकरण तथा सेवाको व्यावसायिक विकासका लागि स्थानीय तहले विशेष भूमिका निर्वाह गर्नसक्छ । कृषि, पशुजन्य तथा सामान्य घरेलु उद्योगबाट उत्पादन हुने वस्तुको आयात भइरहँदा स्थानीय तहबाट गरिने प्रयासले ती वस्तुको आयातलाई प्रतिस्थापन गर्नसक्छ ।

यसका लागि पिछडिएको र ग्रामीण क्षेत्रमा उद्यमशीलता विकासका लागि प्रयास हुनुपर्छ । लघु, घरेलु साना र मझौला उद्योगको प्रवद्र्धन गर्न स्थानीय स्रोत, साधन र सीपको आधारमा स्थानीय माग अनुसारका वस्तु उत्पादन गर्न आवश्यक प्रविधि, व्यवस्थापन र बजार प्रवद्र्धनमा क्षमता विकास गर्नुपर्छ । खजुरा गाउँपालिकाका प्रत्येक एकाइमा एक वा एकभन्दा बढी आर्थिक केन्द्र विकास हुने वातावरण बनेको छ । स्थानीय सरकारले अब आफ्नो क्षेत्रका आवश्यकता, क्षमता र उपलब्ध स्रोत, साधनलाई विचार गरेर आर्थिक विकासको योजना बनाउनुपर्छ ।

आफ्नो क्षेत्रका लागि उपयुक्त हुनेगरी कृषि र पशुपालन सम्बन्धी व्यवसाय विकासको नीति र मोडल बनाउनुपर्छ । यसले खजुराको समृद्धि सम्भव छ भने खजुरा गाउँपालिकाबासीको समावेशी आर्थिक वृद्धि दरमार्फत गरिबी, असमानता, बेरोजगारी तथा परनिर्भरताको अन्त्य गरी दिगो विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्छ । अन्यथा पुरानै ढर्राको बजेट, नीति, कार्यक्रममा चल्ने अनि गाउँमा गाडीको धुलो उडाउँदैमा स्थानीय तहको समृद्धि सम्भव छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ०९:५८

लोकप्रिय