पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट १५ हजार नगद बरामद गरिएको थियो । तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो ।
एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,’ सूचना अधिकारी कुशवाहाले भने । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।
गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई १ लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । पाँचथर