सूचनाको शक्ति - The Power Of Information

        

विचार

मानवीय जीवनशैलीमा मेसिनको प्रभाव

यो अनौठो र अद्वीतिय नेटवर्किङले आउँदो दशकमा सूचना तथा सञ्चार आदान प्रदानको उच्चतम बाटो खाल्ने छ भने सुचना संकुचन गर्ने अबस्था रहने छैन ।

हामीले प्रयोग गर्ने कलम, कम्प्युटर, प्रिन्टर लगाायत सबै मेसिन नै हुन् । समयको परिवर्तनसँगै मेसिनको आकार र क्षमतामा विकास भइरहेको छ । मानिसले प्रयोग गर्ने भाला, खुकुरी वा बन्चरो जो बल र गतिको माध्यमबाट मानिसले चाहेको काम सहज गरिदिन्छ, यी पनि मेसिन नै हुन् । मेसिनको विकासक्रमले मानिसको जीवनशैलीमा सहजता थपिएको छ भने मेसिनले पनि उत्कृष्ट सेवा प्रदान गर्न मेसिनमा कृत्रिम बौद्धिकता (एआई) समेत प्रयोग हुन थालेको छ । कृतिम बौद्धिकता समेतको मेसिनको प्रयोगले मानव जीवनशैलीमा ठूलो परिवर्तन ल्याएको छ । समग्र समाजको विकासमा मात्र नभई स्वास्थ्य, शिक्षा र सञ्चार क्षेत्रमा एआईले पुर्याएको उपलब्धि २१ औँ शताब्दीको प्रविधि विकासको क्षेत्रको ठूलो उपलब्धि हो ।

मेसिनको विकासक्रमलाई बढो सचेत तबरले नियाल्दै र आफूलाई अझ मेसिनमैत्री बनाउन आजका मानिसका लागि अपरिहार्य भइसकेको छ । यसले मानिसलाई मेसिन जति नै फुर्तिलो बनाउनुपर्ने बाध्यता थप्दै पनि गएको छ । प्रविधिका कारण जीवन जति सहज भएको छ, त्यति नै प्रविधिको उपयोगको लतले हामीमा विभिन्न समस्या पनि सिर्जना गर्दै गइरहेको छ । मोबाइल आउनुभन्दा पहिले धेरै साथीभाइका टेलिफोन नम्बरहरु हामीलाई स्मरण हुन्थ्यो । आजभोलि हजारौं नम्बरहरु मोबाइलमा भण्डारण गरेर राखेका हुन्छौँ । यसले ती टेलिफोन नम्बरहरु खोजेको बेलामा मेसिनमार्फत उपलब्ध हुन्छ तर पहिलेजस्तो हामीले स्मरण गरिरहेका हुँदैनाँै । यसबाट एउटा शङ्का उत्पन्न भएको छ कि कतै हामी हाम्रो स्मरण क्षमतामा हस ल्याइरहेका त छैनौँ ? मेसिनको प्रयोगले हाम्रो स्वास्थ्यमा प्रभाव परेको त छैन ? यी र यस्ता विषयवस्तु जनस्तरमा छलफल गर्नुपर्ने बेला भइसकेको छ । केही समय अगाडि केहीबेर मात्र फेसबुक उपयोग गर्न नपाउँदा हामी प्रविधिको लतमा फसेका छौँ कि भन्ने पनि देखियो ।

विद्युत्को आपूर्ति केही समयका लागि मात्र रोकिने हो भने हामीले प्रयोग गर्ने मेसिनमा धेरै नै प्रभाव पर्छ । त्यसबाट हाम्रो जीवनशैलीमा प्रभाव पर्ने निश्चित छ । त्यसैले मेसिन तथा प्रविधिको प्रयोगमा मानिस सचेत हुनु जरुरी छ । मेसिन नै प्रयोग नगरौँ भन्ने त होइन तर मेसिनमा सामेल एआईले हामीलाई थाहा नपाउँदो तरिकाले मेसिन प्रयोगको लत बिसाइरहेको छ । आउँदा दिनमा झन् धेरै उच्चतम् प्रविधि सामेल भएका मेसिनहरु बन्दैछन् र बजारमा सहज उपलब्ध हुने अवस्था छ किनकी हरेक देशले आफ्नो उन्नतिलाई मेसिनको विकासक्रमसँगै गाँसेका छन् । आजका दिनमा संरा अमेरिका, चीन, ताइवान, जापान, जर्मनी, इजरायल, रसियालगायतका देशले नयाँनयाँ प्रविधिको आविस्कार गरेर प्रविधिको उच्चतम् प्रयोग गरी विकास गरिरहेका छन् । यद्यपि, इतिहासमा एसिया विकासमा धेरै अगाडि थियो । एसियाभन्दा झण्डै एक हजार वर्षपछि मात्र युरोपृली नागरिकहरु नयाँनयाँ आविस्कारमा लागेका देखिन्छन् ।

अबका दिनमा हामी संसारस‘ग कसरी सूचना तथा सन्देश आदानप्रदान गर्छाँै भनेर एआई, पाइभ जी, ब्लकचेन, एआर, भिआर, क्यान्टम कम्प्युटिङ र लटजस्ता प्रविधिले निर्धारण गर्ने छन् । जोन म्याक् कार्थीलाई हामीले कृत्रिम बौद्धिकताको जननी भन्न सक्छौँ । कृत्रिम बौद्धिकताको अन्वेषण अलेन टुरिङ, मार्भिन मिस्काई, अलेन नेवेल र हर्बट ए समेतको संलग्नतामा भएको हो । स्मार्ट भन्ने शब्दको मेसिन प्रयोग गर्दै हुनुहुन्छ भने तपाई एआई प्रयोगकर्ता हो । घण्टी लाग्ने घडी आज परिस्कृत भएर निन्द्राबाट ब्युँझाउँदै गर्दा बाहिर पानी परिरहेको छ र तपाईं सधँैजसो अफिस जाने बाटोमा पुल भत्किएको छ, तपाईंले वैकल्पिक मार्ग प्रयोग गरी जाँदा एक घण्टा थप समय लाग्छ भनेर सन्देश प्रवाह गर्न थालिसकेको छ । त्यो स्मार्ट अर्लाम भनेको एआई हो । तपाईंले नाडीमा बाधेको घडीले प्रेसर उच्च भएको छ औषधि खानुभयो भनेर एकाएक बाटोमा हिंड्दै गर्दा तपाईंको मार्ट घडीले सन्देश प्रवाह गर्दै ग¥यो भने एआई तपाईंले प्रयोग गरेका कारण तपाईंको स्वास्थ्यप्रति चिन्ता देखाइरहेको छ भन्ने मेसिनको सामथ्र्य हो र त्यो नै आजको विकसित मेसिन हो ।

अनलाइन सपिङका लागि ब्राउजिङ गर्दैगर्दा ब्राउजिङ र यसअघिको सामान खरिदको सूचीको आधारमा तपाईलाई मन परेका र छनोट गर्दै गरेका सामानहरु नै लगातार तपाईंलाई देखाइरहन्छ, त्यो पनि एआई हो । यसबाट तपाईकोे समय सदुपयोग भएको छ । हामीलाई मेसिनले आर्थिक कारोबार, स्वास्थ्य सेवा यहाँसम्म कि चलाउने मोटरगाडी समेत एआई प्रविधिबाट नै प्रत्येक क्षण सघाइरहेका हुन्छन् । कुन कम्पनीको शेयर किन्ने वा शरिरको तौल दुरुस्त राख्ने, डाक्टरले दिएको निर्देशनअनुसार विभिन्न पद्घतिमध्ये कुन समयमा के गर्नु ठीक होलासम्म भन्ने कुरा एआईले नै मार्गदर्शन गरिरहेको अवस्था छ । हामीले जति परिस्कृत एआई प्रयोग गर्दै जान्छौँ, त्यति नै थप सेवा तथा सुविधा दिन मेसिन सबल हुनेछ । यसरी निर्माण गरिने मेसिनलाई मानिसकै विभिन्न रुपमा निर्माण गरी अहिले मोडेल, समाचार प्रस्तोता समेत बनाइसकेको अवस्था छ । सुरुका दिनमा सिन्हवा समाचार समिति र सोगोउ अफ चाइनाले समाचार रिपोर्टिङ उद्देश्यका लागि एआई विकास गरेका थिए ।

छिमेकी देश भारतमा ‘सना’ नामको एआई समाचार बाचिका प्रख्यात कार्यक्रम प्रस्तोता रोबर्ट हो । एआईले आफूलाई मन पर्ने मानिसका लागि कविता लेखिदेउ भन्दा लेखिदिने अवस्थामा हामी पुगेका छौँ भने फिडब्याकका आधारमा एआई आफैँ परिस्कृत समेत बन्दै जान्छ, पत्रकार, कवि, लेखक, कलाकार सबैलाई एआईले सहयोग पुर्याइरहेको छ । समय परिवर्तन गतिशील छ, गतिलाई प्राविधिक पाटोबाट नियाल्दा काल, गुरुत्वाकर्षण र स्पेस जस्ता आयामबाट बुझ्न सहज हुन्छ । सामाजिक परिवेशमा परिवर्तन प्रायःजसो सकारात्मक हुन्छन् र त्यसबाट प्रलय वा अनिष्टको अवस्थामा बाहेकमा सिर्जनशीलता समेतको विकास हँुदै जान्छ । ढुङ्गे युगको सूचना तथा सञ्चारको आदानप्रदान अत्यन्तै सीमित कोडहरूवाट हुन्थ्यो भने सङ्केत विकास हुँदै जाँदा लिपिवद्वताले लेखन कला विकास भएको थियो । यस क्रमबाट नै भाषा र भाषिकाहरूले सङ्ग्रहित हुन पाए । तर हरेक परिवर्तनमा प्रविधि नङ्ग र मासु जस्तै अन्तनिहित रहे ।

मानव जीवनशैलीमा विज्ञान र प्रविधिकै कारण यो स्थानसम्म आइपुगेको हो । हामीले अडियो, भिडियोमार्फत सूचना आदानप्रदानको एक युग पार गरिसकका छौँ । हरेक कुराको विकास भनेको सूचना तथा सञ्चारमा समृद्ध समाज हो । कुनै पनि परिवर्तन सूचना सञ्चारको यथेस्ट प्राप्तिबाट हुने गर्छ । सञ्चार जगत्को मूल्यमान्यता मर्यादित बनाउन सकेनौँ भने यसवाट समाजको विकास हुन सक्दैन । त्यसैले सञ्चार उद्यमी, सञ्चारकर्मी, मूलधारका सञ्चार उद्योगहरू जिम्मेवार छन् रहन्छन् र रहनु पनि पर्दछ । पर्चा छरेर, भित्तेलेखन गरेर त्यसपछि माईकिङ गर्दै सन्देश प्रवाह गरेर विश्वभरि राजनीतिक परिवर्तन भएका छन् । सूचना नै शक्ति हो भन्ने आज स्थापित भइसकेको छ । अहिले हामी विभिन्न कला, पम्पलेट, पोष्टर, पत्रपत्रिका, हुँदै रेडियो प्रसारण, दूरदर्शन प्रसारण र इन्टरनेटको विकासक्रम सम्म पुगिसकेका छौँ ।

आउँदो दशक हामी इन्टनेट ब्रोडकास्टिङ्गमा नै केन्द्रित हुनेछौँ । हामी आन्तरिक सञ्चारलाई प्रविधिमार्फत विश्वव्यापीकरण गरिसकेका हुनेछौँ । एलन मस्कको न्युरालिङ्कले विकास गर्दै गरेको विसिआई प्रविधिलाई मानव हितको मूल्य मान्यतामा प्रयोग गर्दा संसारका सबै मानिस एउटै सर्भरमा गासिने निश्चित छ । मानव शरिर पनि अनगिन्ति ट्रान्समिटर र रिसिमर भएको वायलोजिक संयन्त्र हो । यो संयन्त्रमा विसिआई प्रयोग गरेपछि हाम्रो मस्तिष्कको हरेक गतिविधि रेकर्ड गर्ने र त्यसलाई प्रयोग गर्ने क्रमको सुरुआत हुनेछ । यी नयाँ सूचना तथा सन्देशहरू यदि इन्टरनेटमार्फत हामीले लिङ्क र शेयरको अधिकार सुनिश्चित गर्ने विश्वव्यापी कानुनको निर्माण गर्न सक्यौँ भने सूचना तथा सञ्चारका अहिले हामीले उपयोग गरिरहेका प्रविधिमा विश्वका करिब आठ अर्ब मानिसको बौद्धिकता एकापसमा सङ्गठित हुनेछ । यो अनौठो र अद्वीतिय नेटवर्किङले आउँदो दशकमा सूचना तथा सञ्चार आदान प्रदानको उच्चतम बाटो खाल्ने छ भने सुचना संकुचन गर्ने अबस्था रहने छैन ।

स्रोत : रासस
प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १८:११