सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : सूचना तथा सञ्चार प्रविधि दिवस

प्रविधिबाट प्रभावित बन्दै ‘सन्देश’ निर्माणको प्रक्रिया

आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि आज पत्रकारितामा रोबोट र एआइ (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग भइरहेको अवस्था छ ।

पत्रकारिता र सञ्चार प्रक्रियामा सन्देशको निकै ठूलो महत्व हुन्छ । एक किसिमले भन्ने हो भने सञ्चार जहिल्यै सन्देशको वरिपरि केन्द्रित हुन्छ । सञ्चारको प्रक्रिया गतिशील हुने नै सन्देशका लागि हो भनेर भनियो भने गलत हुने छैन । र, पत्रकारिता सन्देश अभिव्यक्तिको माध्यम हो । तर अहिले यही सन्देश प्रविधिबाट प्रभावित हुने अवस्थाको निर्माण भएको छभन्दा असङ्गत नठहरिएला । रङ्गीन टेलिभिजनको अविष्कारपछिका दिनमा पत्रकारिता र आमसञ्चारका प्रसिद्ध विद्वान मार्शल म्याकलुहानले भन्नुभएको थियो, ‘मिडियम इज द म्यासेज अर्थात माध्यम नै सन्देश हो ।’

कालान्तरमा उहाँले आफ्नो धारणाको परिमार्जन गर्नुभएको थियो । सारमा उहाँको सङ्केत थियो, प्रविधिले सञ्चारको मूल प्रक्रियालाई प्रभावित गर्न सक्छ । तर आज कताकता लाग्न सक्छ मार्सल सही हुनुहुन्थ्यो । आज सञ्चार तथा सूचना प्रविधिको यति विकास भएको छ कि साँच्चै सन्देश निर्माण तथा आदानप्रदान प्रक्रिया यसबाट प्रभावित हुन पुगेको हो कि भन्ने भान हुन्छ । यो त भयो पत्रकारितामाथिको प्रभावको कुरो । तर मानव समाजको सायद यस्तो कुनै क्षेत्र बाँकी छैन, जो सूचना र सञ्चार प्रविधिबाट अछुतो रहेको होस । र, स्वभाविक रुपमा नेपाल र नेपाली समाज पनि यसबाट प्रभावित छ ।

नेपालले पछिल्लो दशकमा अनुभूत गर्न सकिने गरी फड्को मारेको क्षेत्र हो सूचना र सञ्चार प्रविधि । हालसम्मको अवस्थाको मूल्याङ्कनको प्रयत्न गर्ने हो भने नेपालमा यस क्षेत्रसँग सम्बन्धित जनशक्तिको ठूलो सङ्ख्या तयार भइसकेको छ । यसै क्षेत्रको सबलीकरणमा वल पुग्ने गरी नेपालले मे २ का दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको आयोजना गर्ने गरेको छ । सरकारी पहलमै आयोजना गरिने यो दिवस मनाउने औपचारिक जिम्मेबारीको निर्वाह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने गरेको छ । विगतमा छ संस्करणमा आयोजना भइसकेको यस पटक यो दिवसको सातौं संस्करण ‘समृद्ध नेपालको आधार ः सूचना, प्रविधि र सञ्चार’ भन्ने नाराका साथ आयोजना गरिँदैछ ।

सन्दर्भमा धेरैतर्फबाट निरासाको अनुभव गरिरहिएको अवस्थामा यो एउटा यस्तो क्षेत्र हो, जसले आम नेपालीमा आशाको सञ्चार गर्न सफलता प्राप्त गरेको अनुभव गरिएको छ । यो यस्तो क्षेत्र हो, जसले एकैपटक युवालाई विदेश पलायन हुनबाट रोक्ने, स्वदेशी मुद्रा विदेश जानबाट रोक्दै विदेशी मुद्रा नेपाल भित्र्याउने र नेपाललाई विदेशमा चिनाउनेजस्ता कार्य गरिरहेको छ । यी तीनै सन्दर्भ वर्तमान नेपालका लागि निकै महत्वपूर्ण छन् । तथापि, यस क्षेत्रको विकास र प्रवद्र्धनका दिशामा केही समस्या र चुनौती विद्यमान छन् । आगामी दिनमा तिनको सम्बोधन निश्चय पनि राष्ट्रिय कार्यभार बन्न सक्नुपर्ने कुरामा विमति हुन सक्दैन । छरिएर रहेको यो क्षेत्रलाई सङ्गठित गर्नु, जनशक्तिको पहिचान र तिनको प्रवद्र्धन, आवश्यक नीतिको निर्माण र कार्यान्वयन, जनशक्तिलाई आवश्यक शिक्षा र प्रशिक्षणजस्ता विषय यस्तै हुन्, जहाँ सरकार लगायत सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ ।

यस क्षेत्रमा अहिलेसम्म जे जति उपलब्धि सूचीबद्ध गर्ने प्रयास गरिएको छ । त्यसमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ । तुलनात्मक रुपमा सरकारले थप योगदानको रणनीति निर्माण गर्नु अपेक्षित छ । विश्वव्यापी रुपमा यस क्षेत्रका विज्ञको माग बढिरहेको सन्दर्भमा नेपालले यस क्षेत्रमा उचित नीति निर्माण गरी आर्थिक लगानी बढाउन सकेको अवस्थामा भविष्यमा विदेशी आर्जन गर्ने यो महत्वपूर्ण क्षेत्र हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । यस क्षेत्रमा विदेशी लगानीसमेत प्राप्त गर्न सकिने कुरा तेस्रो लगानी सम्मेलनमा डाटा सेन्टर स्थापनाका लागि साढे तीन अर्वको परियोजनामा दुईपक्षीय हस्ताक्षर भएबाट पनि स्पष्ट हुन्छ । तेस्रो लगानी सम्मेलनमा हस्ताक्षर भएका योजनामध्ये सम्भवतः सबैभन्दा ठूलो राशिको योजना नै यही हो । यस परियाजनालाई यस क्षेत्रमा विकासका लागि एक महत्वपूर्ण प्रस्थानविन्दु मान्न सकिन्छ ।

विश्व सूचना तथा सञ्चार प्रविधिको बजारको विश्लेषण गर्ने हो भने दक्ष जनशक्तिको आपूर्ति तथा एप र प्रोगामको निर्माणका क्षेत्रमा नेपालको महत्वपूर्ण उपस्थिति अनुभूत गर्न थालिएको छ । अहिले नेपालले विश्व बजारमा जनशक्ति, एप र प्रोग्राम आपूर्ति गर्न सफलता प्राप्त गरेको छ । यो नेपालको महत्वपूर्ण उपलब्धि हो । भविष्यमा यस कार्यले निरन्तरता पाउनुपर्दछ र सरकारले सक्षम सहजकर्ताको भूमिका निर्वाह गर्नु वाञ्छनीय छ । यो क्षेत्र विश्वमा अहिले यस्तो क्षेत्रका रुपमा विकसित हुँदेछ, जसको आवश्यकता अन्य सबै क्षेत्रमा बोध हुन थालेको छ । यस क्षेत्रको सहभागिताबिना अन्य क्षेत्रले न त आवश्यक गति प्राप्त गर्न सक्ने न त अपेक्षित उपलब्धि नै प्रदान गर्न सक्ने स्थितिको निर्माण भएको छ । कहाँसम्म भने पत्रकारिता क्षेत्र पनि अपवाद छैन ।

माथि प्रारम्भमै पनि उल्लेख गरियो, आजको पत्रकारिता एक हदसम्म सञ्चार प्रविधिको विकासबाट प्रभावित छ । सूचना तथा सञ्चार प्रविधिको द्रुततर विकासका कारण समग्रमा पत्रकारिताको स्वरुप नै परिवर्तित हुन पुगेको छ । सन् १४४० को दशकमा जर्मनीमा गुटेनवर्गद्वारा छापाखानाको अविष्कारपछिका दिनमा पत्रकारिताले औपचारिक रुपमा विकास यात्रा प्रारम्भ गरेको हो । त्यस बेलादेखिको समयको मूल्याङ्कन गर्ने हो भने पछिल्लो करिब तीन दशक यस्तो समयावधि हो जुन समयमा पत्रकारिताले अत्यन्तै द्रुतगतिमा विकास गरेको छ । प्रविधिको विकासले पत्रकारिताको परम्परागत स्वरुपलाई नै विस्थापित गर्नसक्ने खतरा बढेको छ । आजको पत्रकारिता प्रविधिबाट यति बढी प्रभावित भइसक्यो कि आज पत्रकारितामा रोबोट र एआइ (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग भइरहेको अवस्था छ ।

स्वभाविक रुपले नेपाल पनि अपवाद छैन । यहाँ पनि पत्रकारितामा प्रविधिको मनग्गे प्रभाव परेको छ । नेपालजस्तो कम विकसित देशमा पनि आधुनिक सञ्चार प्रविधिको प्रयोगविना पत्रकारिता कर्म असम्भव बन्न पुगेको छ । नेपाली पत्रकारिता क्षेत्रमा पनि प्रविधिगत दक्ष जनशक्तिको मागमा निकै वृद्धि हुन पुगेको अनुभव गर्न थालिएको छ । निश्चय पनि आजको पत्रकारिता प्रविधिबाट निर्देशित हुन बाध्य छ भन्दा अनुचित हुँदैन । विशेषगरी इन्टरनेटको विकास भएपछिका दिनमा सञ्चार र पत्रकारिता क्षेत्रमा प्रविधिको हस्तक्षेप बढेको छ र यसका राम्रा नराम्रा दुवै प्रभाव यस क्षेत्रमा अनुभूत गरिएको छ भन्दा अतिशयोक्ति हुँदैन । इन्टरनेटमा आधारित डिजिटल प्रविधिले पत्रकारिताका माध्यमलाई तीव्र बनाएको छ । प्रभावकारी पनि बनाउने प्रयत्न गरेको छ । आमव्यक्तिमा सूचनाको शीघ्र सम्प्रेषणलाई सहज बनाएको छ ।

पत्रकारितालाई व्यावसायिक पत्रकारहरूको कित्ताबाट नागरिक पत्रकारिताको कित्तामा पुर्याउने काम गरेको छ । प्रविधिको प्रयोगले पत्रकारितालाई यति प्रतिस्पर्धी बनाएको छ कि आजको समयमा पत्रकारले कुनै पनि घटना र स्कूपलाई एकछिन पनि ‘होल्ड’ गर्न सक्दैन । एकजनाले होल्ड गरेछ भने पनि अर्को पत्रकारले त्यस्ता सूचना तत्काल सम्प्रेषण गर्छ । यसो गर्दा उसले सूचनाको सत्य स्थापित गर्न आवश्यक सम्पादकीय प्रक्रिया (एडिटोरियल प्रोसेस) र ‘गेट किपिग’ को अवधारणालाई अनुशरणमा समस्या बोध गरेको हुन सक्छ । यसो हो भने यसले निश्चय पनि समाचारमा विश्वसनीयताको सङ्कट निम्त्याएको छ र निम्त्याउँछ ।

माथि उल्लेख गरी सकियो, वर्तमानमा व्यावसायिक र नागरिक गरी पत्रकारिता दुई कित्तामा विभाजित छ । यसलाई सम्भव बनाएको छ इन्टरनेटमा आधारित डिजिटल प्रविधिले । इन्टरनेटको विकासपछि न्यू मिडिया (नयाँ मिडिया) निकै सशक्त ढङ्गले उपस्थित भएको छ । यसले सामाजिक सञ्जाल र अनलाइनको प्रयोगलाई जनसामान्यको पहुँचमा ल्याएको छ । आज सूचना सम्प्रेषणका लागि पत्रकार नै भइरहनुपर्छ भन्ने मान्यता क्रमशः अस्वीकृत भइरहेको छ । तर जनसामान्यको पहुँचमा पुगेका डिजिटल प्लेटफर्महरूमार्फत सम्प्रेषित सूचनाको आँधीबेहरीले सँगसँगै विश्वसनीयताको सङ्कट निम्त्याएको छ, यसमा दुई मत हुन सक्दैन ।

यसो हुनुको मूल कारण हो, सम्पादकीय प्रक्रियाको अनुशरणमा समस्या । कहाँसम्म भने व्यावसायिकरुपमा पत्रकारिता गर्नहरूमै पनि सामाजिक सञ्जाल र अनलाइनको प्रयोग गरी सूचना सम्प्रेषण गर्ने सन्दर्भमा समस्या छ । कुनै दुई मत छैन, आजको सन्दर्भमा सामाजिक सञ्जाल पत्रकारिताको अत्यन्त ठूलो निर्णायक अङ्गका रुपमा विकसित भएको छ र हुँदैछ । माथिको विश्लेषणबाट पनि पत्रकारितामा प्रविधिको प्रभावबारे बुझ्न सकिन्छ । पत्रकारितामा जहिल्यै पनि सन्देशको निर्माण र आदानप्रदान महत्वपूर्ण मानिन्छ । तर प्रविधिले यसमा नयाँ ढङ्गले बहस निम्त्याएको छ भन्दा असान्दर्भिक ठहरिँदैन ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १७:०७