सूचनाको शक्ति - The Power Of Information

        

नवनिर्मित क्षेत्रीय कारागार भवन

बाँकेमा ३ हजार कैदीबन्दी राख्न मिल्ने कारागार भवन उद्घाटन

गृहमन्त्रीले भने– ‘खल्तीबाट नाम झिकेर कैद मिनाहा गर्ने प्रवृत्ति अन्त्य हुन्छ’

 बाँकेको नौबस्तामा ३ हजार कैदीबन्दी क्षमताको कारागार भवन उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नवनिर्मित क्षेत्रीय कारागार भवनको उद्घाटन गरेका छन् । १३४ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा २४ सय पुरुष र ६ सय महिला कैदी अटाउँछन्

सो भवन ३ अर्बको लागतमा निर्माण भएको हो । तीन चरणमा निर्माण सम्पन्न कारागारमा प्रशासनिक, मेडिकल र स्पोर्टस ब्लक छन् । पत्येक ब्लकमा एक–एक हजार कैदीबन्दी अटाउँछन् । भवन उद्घाटन गर्दै गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउन छलफल भइरहेको बताए ।

उनले भने, ‘कारागार यातना केन्द्र होइन, सुधार गृह बनुन भन्नेमा सरकार सचेत छ ।’ पहुँच भएकाले मात्रै कैद मिनाहा पाएको गुनासो सम्बोधन गर्ने मन्त्री लामिछानेले बताएका छन् । उनले भने, ‘अब, खल्तीबाट नाम झिकेर कैद मिनाहा गर्ने प्रवृत्ति अन्त्य हुन्छ ।’ आचरण सुधार गर्ने कैदीलाई पहुँच नचाहिने र उनीहरुको साथमा सरकार भएको लामिछानेको भनाई छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार १२:१६

लोकप्रिय