२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

नेपालगन्जमा १३५ श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

सत्यपाटीसत्यपाटी । बाँके । २०८१ वैशाख २० गते बिहीबार

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार  नेपालगन्जमा १३५ जना श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।

लाइफलाइन हस्पिटल नेपालगन्ज र जिफन्टको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका –१३ मा श्रमिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हस्पिटलका फिजिसियन डा. पारस श्रेष्ठले जानकारी दिनुभयो ।

लाइफलाइन हस्पिटलका सञ्चालक समेत रहनुभएका फिजिसियन डा. श्रेष्ठले श्रमिक दिवसमा मजदुरहरूको स्वास्थ्य चेकजाँच गरिनुका साथै स्वास्थ्यसम्बन्धि परामर्श सेवा प्रदान गरिएको बताउनुभयो ।

साँझ बिहानको जोहो गर्न मुस्किल पर्ने श्रमिकहरूलाई निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत प्रदान गरेको उहाँहरुको भनाइ छ । स्वास्थ्य उपचार गराउन आउनुभएका रामबहादुर थापाले श्रमिकहरूको स्वास्थ्य उपचार राज्यले निःशुल्क गर्ने व्यवस्था गर्न सके हामीजस्ता मजदुरहरूले अकालमा ज्यान गुमाउने अवस्थाको अन्त्य हुने भन्नुहुँदै तीनै तहका सरकारले मजदुरहरूका लागि उचित दीर्घकालीन कार्यक्रमको रणनीति बनाउन जरुरी रहेको बताउनुभयो ।

वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत महिला रोग विशेषज्ञ डा. क्रिष्टिना श्रेष्ठले श्रमिकको स्वास्थ्य जाँच गर्नुभएको जिफन्ट बाँके अध्यक्ष कृष्णबहादुर बुढाले जानकारी दिनुभयो ।

सो अवसरमा श्रमिकहरूको रक्त परीक्षण, सुगर लगायतको चेकजाँच गरिएको छ । त्यसैगरी जोखिमपूर्ण काम गर्दा अपनाउनु पर्ने सावधानीबारेमा परामर्श समेत प्रदान गरिएको छ।

दैनिक श्रममा व्यस्त हुँदा उनीहरुलाई आफ्नो स्वास्थ्य अवस्थाबारे खासै जानकारी नहुने र स्वास्थ्य अवस्था जटिल भइसकेपछि मात्र हस्पिटल पुग्ने अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको जिफन्ट बाँकेले जनाएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : २०८१ वैशाख २० गते बिहीबार