सूचनाको शक्ति - The Power Of Information

        

श्रमिक दिवस : मजुरीमै बित्यो जीवन

निधारमा दाम्लोको दाग साक्षी छ, उनी मजदुरी गर्छन् । दिनभरी पाखुरा खियाएपछि मात्रै उनको घरमा बेलुकाको छाक टर्छ । आज विश्वले १३५औँ मजदुर दिवस मनाइरहँदा धादिङकी मनसुरा विसीलाई मजदुरी नगरी सुख्खै थिएन । सधै झैँ कम्मरमा पटुकी बेरेर उनी इँटा, बालुवा र ढुङ्गा बोक्न गए ।

विसीलाई मजदुर दिवसको अर्थ थाहा छैन, तर उहाँले आधा जीवन मजदुरीमै बिताइसकेका छन् । बानेश्वरस्थित एउटा बन्दै गरेको घरमा उनले इँटा र बालुवा ओर्साने काम पाएका छन् । ‘शारीरिक रुपले जति कठिन काम छ, उति नै जोखिम पनि छ”, उहाँ भन्नुहुन्छ, “यही काम पाउन पनि ६ महिना कुर्नुपर्यो ।’

विसीका लागी श्रम गर्न पाउनु नै ठूलो उपलब्धि हो । त्यो भन्दा महत्वपूर्ण समयमै भनेजति पारिश्रमिक पाउनु हो । धादिङबाट उनी दुईवर्ष अघि काठमाडौँ परिवारसहित आएका हुन् । काठमाडौँमा रोजगारी पाउने आशा बोकेर आउनुभएकी विसी दःुख गरे अनुसार पारिश्रमिक नपाएको बताउाछन् ।

‘दिनभरी काम गर्यो, साहुले भने जति ज्याला दिँदैन,’ उनी भन्छन्, ‘काम नगरौँ केटाकेटी भोकै पर्छन् भन्ने चिन्ता हुन्छ ।’ ठेकेदारमार्फत रकम बुझ्ने हुँदा पूरै पारिश्रमिक नपाउने गरेको विसी बताउँछन् । ‘रकम थोरै भयो भन्यो भने अरुलाई काममा लैजान प्रतिस्पधा चल्छ । त्यसैले जस्तोसुकै अन्याय भए पनि सहनुपर्छ,’ विसीले भने, ‘बेरोजगारी धेरै छ, थोरै ज्यालामा पनि काम गरिहाल्छन्, अझै महिलालाई त आधाको पनि आधा पारिश्रमिक दिने चलन छ ।’

यस्तै शङ्खुवासभाकी राममती तामाङ पनि घर बनाउन मजदुरी गर्छिन् । महिनाभरि एउटाको घरमा कपडा धुँदा रु १० हजार मात्रै पारिश्रमिक लिने गरेको उनले बताइन् । यत्तिले खर्च पुग्दैन । त्यसैले उनी एक महिनामा तीनवटा घरमा कपडा धुने गरेको बताउँछिन् । ‘समयमै तलब दिँदैनन्,’ तामाङ भन्छिन्, ‘दुःख गरे जति कमाइ हुने भए श्रीमान् बिदेश पठाउनुपर्दैन थियो ।’

उनका श्रीमान् रोजगारका लागि विदेशमा छन् । पोखराका ज्ञानु गुरुङ काठमाडाँैमा पढ्न आए । घरको खर्चले महँगी धान्न सकेन । उनले विकल्पमा काम दोहारी साँझमा गीत गाउने काम रोजे । रातभरी गाउनुपर्ने मध्यरातमा कोठामा आउनुपर्ने । त्यसमा पनि समयमै तलब नपाउने उनले भोग्नु परेको पीडा हो । मनोरञ्जन क्षेत्रमा काम गर्नेलाई त्यति सम्मानित दृष्टिले हेरिदैन भन्ने गुरुङले धेरै पटक महसुस गरेका छन् ।

त्यसैले पेसाको पहिचान लुकाएर श्रम गर्नु अर्को मजदुरको मुख्य चुनौती हो । ‘दोहोरीमा गाउने भनेर धेरैले कोठै दिन मानेनन्,’ उनले भने, ‘त्यसैले अहिले अस्पतालको कर्मचारी भन्नुपरेको छ ।’ ‘मर्यादित काम, श्रमिकको सम्मान हाम्रो अभियान भन्ने मूल नारा रहेको विश्व मजदुर दिवस’ले मनोरञ्जन क्षेत्रका मजदुरलाई छोएको छैन ।

श्रममा समान रोजगार विकास गराउने हेतुले काठमाडौँ महानगरपालिकाले श्रम बैंक स्थापना गरेको छ । महानगरपालिकाका सामाजिक विकास विभाग अधिकृत भवानी कपालीका अनुसार उक्त बैंकमा निवेदन पेस गरे आफ्नो दक्षता अनुकुलको जुनसुकै रोजगार उपलब्ध हुँदै आएको छ । ‘हामी कहाँ कामप्रतिको सम्मान नहुँदा श्रम बैंक प्रभावकारिता भने जति हुन नसकेको छैन,’ कपालीले भने । व्यक्तिको क्षमता र दक्षता अनुसारको श्रम बैंकले रोजगार दिने उनले बताए ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले श्रम ऐन कार्यान्वयनको अवस्था भयाभह भएको बेला घरेलु मजदुरको स्थीति अझै कहाली लाग्दो रहेको सुनाए । महासङ्घले हालै प्रकाशन गरेको तथ्याङ्क अनुसार २१ दशमलव सात प्रतिशत उद्योग र प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिएको अवस्था सार्वजनिक गरेको छ । यो विगतको तुलनामा ६ प्रतिशतले बढी हो । विसं २०७९ मा न्यूनतम पारिश्रमिक नदिनेको सङ्ख्या १५ दशमलव ३० प्रतिशत थियो । सरकारले रु १७ हजार ३०० न्युनतम पारिश्रमिक तोकेको छ ।

स्रोत : रासस
प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १८:०७