सूचनाको शक्ति - The Power Of Information

        

श्रमिक दिवसले छोएन इँटाभट्टाका मजदुरलाई

चाँगुनारायण नगरपालिका–९ ताथलीको बिएम इँटाभट्टामा कार्यरत भकुण्डेबेँसीकी सानी नेपालीले दैनिक दुई हजारदेखि दुई हजार ५०० इँटा बोक्छन् । दुई वर्षीया छोरीलाई छ वर्षकी अर्की छोरीसँग राखेर हनुमान इँटा उद्योगमा कार्यरत दाङ घोराहीकी सीमा घर्ती इँटा बोकेर दैनिक एक हजार कमाई गर्छिन् । उनीहरू दुवैजना आज पनि बिहानदेखि काममा व्यस्त थिए । उनीहरूलाई श्रमिक दिवसका बारेमा कुनै जानकारी छैन ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोट सेती भैरव इँटाभट्टामा काम गर्ने दाङ घोराहीकै सानीकान्छी घर्ती पनि इँटाभट्टामै व्यस्त छन् । उनले श्रमिक दिवसका बारेमा बुझ्ने फुर्सद नै नभएको बताइन् । उनले भनिन्, ‘दिवसका चासो छैन, चिन्ता पनि छैन, इँटा बिग्रिएला, पैसा नपाइएला भन्ने चिन्ता मात्रै हुन्छ । पाँच महिना काम गरेर एक वर्षको परिवारको गर्जो टार्ने चिन्ता छ । इँटा बनाउने, सुकाउने, मिलाउने, बोक्नेलाई यस्ता दिवसले कहाँ छुन्छ र ? दिवस र बिदा त सरकारी जागिर खानेलाई मात्रै हो, हामी मजदुरलाई होइन ।’

सिन्धुपाल्चोक माङ्खाकी ४० वर्षीया रामकुमार परियार र पत्नी कृष्णा परियारलाई आज अन्तर्राष्ट्रिय श्रमिक दिवस भन्ने थाहा छैन । यस वर्षका लागि ठेक्का लिएको तीन लाख इँटा बनाई सकेर घर फर्किन हतारमा रहेकी परियारले जतिसक्दो चाँडो ठेक्का लिएको काम सकेर फर्कने हतारो मात्र रहेको बताइन् । त्यसो त सरकारले आज सार्वजनिक बिदा दिएको छ तर यी मजदुरहरूलाइ न बिदा छ, न दिवसको चासो । कृष्णाले भनिन्, ‘खोई के दिवस हो थाहा छैन, हामीलाई बिदा पनि छैन, ठेक्का लिएको इँटा पूरा गर्ने चिन्ता छ ।’

परियारलाई मात्रै हैन, भकुन्डेकी कल्पना बिकलाई पनि श्रमिक दिवस र बिदाबारे जानकारी छैन । तीन सन्तानकी आमा २६ वर्षीया बिकलाई चिन्ता छ त केवल साना तीन सन्तानको । ‘लोग्ने आधा दिन काम गरेर जाँड खाएर बस्नुहुन्छ,’ उनले भनिन्, ‘दिउँसो पनि राति पनि हामीलाई गाह्रो, यी बच्चाबच्चीको चिन्ता छ, खै के गर्नु ।’ इँटा बोकिरहेकी १७ वर्षीया टुल्की बिकको काखमा एक वर्षकी छोरी छ । श्रीमान्सँगै इँटाभट्टामा काम गर्दै आएकी टुल्कीलाई यस वर्ष ठेक्का लिएको इँटा सबै सिध्याउने चटारो छ ।

‘दिवसले के गर्छ, खान दिँदैन, लाउन दिँदैन, काम सकेर पैसा बोकेर घर जान हतारो छ हामीलाई, गाउँमा मकै छर्न ढिला भइसक्यो,’ सूर्यविनायक नगरपालिका–८ सिपाडोलको इँटाभट्टाकी मजदुर शर्मिला धामीले भनिन् । रामेछापबाट दुई छोरी, एक छोरा र श्रीमान्सँगै सिपाडोलको इँटाभट्टामा इँटा बोक्न आएकी २७ वर्षीया पवित्रा कार्कीलाई दिवसको पर्वाह छैन । ‘यसपालि रु एक लाखमा इँटा पार्ने ठेक्का लिएका छौँ,’ कार्कीले भनिन्, ‘ठेक्का सकेर छिटो गाउँ फर्किन पाए हुन्थ्यो, अब पैसा लिएर घर जान हतारो छ, मकै छर्नु छ ।’

अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर आज भव्य रूपमा मनाइरहँदा भक्तपुरका इँटाभट्टाका श्रमिकलाई भने दिवसले छोएन । आज बिहानदेखि मध्याह्नसम्म इँटाभट्टामा काम गर्न व्यस्त यहाँका मजदुरहरू रोजीरोटीका लागि इँटा थन्क्याउन र बोक्न व्यस्त देखिन्थे । भक्तपुरमा सञ्चालित ५८ वटा इँटाभट्टाका अधिकांश मजदुर आफ्नो काममा खटिएका छन् । इँटा व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष नातिभाइ ह्याम्बाले दिवस भनेर मजदुरलाई व्यवसायीले बिदा दिनु नपर्ने बताए ।

सबै ठेक्कामा काम हुने भएकाले शुक्रबार आधा दिन र शनिबार बिदा हुने गरे पनि दिवसमा मजदुरले बिदा बस्ने नगरेको बताए । भक्तपुरमा सञ्चालित इँटाभट्टामा करिब २५ हजार मजदुरले काम गर्छन् । धेरैजसो मजदुर काम सकेर घर फर्किन हतारोमा छन् । रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायत जिल्लाबाट इँटाभट्टामा मजदुरी गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार १८:००