गत केही दिनयता नेपालगन्जमा अत्यधिक बढेको गर्मी र नियमित चलिरहेको तातो हावा लु का कारण बिरामी हुनेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ। बिरामी हुनेमा बालबालिका सबैभन्दा बढी छन् ।
अत्यधिक गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको स्थानीय अस्पतालहरूले जनाएका छन् । हाल उपचारका लागि अस्पताल पुग्ने बालबालिका बढ्दै गएको समेत चिकित्सकहरूको भनाइ छ ।
स्थानीय कान्ति आरोग्य अस्पतालका बाल रोग विशेषज्ञ डा रोमा बोराले गर्मीकै कारण बिरामी बालबालिका दैनिक २५ देखि ३० जनासम्म उपचारका लागि आउने गरेको बताउनुभयो । उहाँका अनुसार धेरैजसो बालबालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको समस्या देखिएको छ ।
डा. बोराले खासगरी तीनदेखि आठ वर्षसम्मका बालबालिका बढी बिरामी परेको पाइएको बताउनुभयो । उहाँले बालबालिकालाई घरबाट बाहिर निस्कन नदिने, सकेसम्म मास्क लगाइदिने, हाँच्छु गर्दा कुहिनाले छापेर गर्न लगाउने र झोलिलो कुरा खुवाउनु पर्ने सुझाव दिनुभयो ।
भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले अहिलेको गर्मीबाट रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका बढी प्रभावित भएको बताउनुभयो । उहाँले भेरी अस्पतालमा आउने बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको जनाउनुभयो ।
सूचना अधिकारी डा. रिसालले मौसमी फ्लुबाट प्रभावित भएका बालबालिकालाई निको हुन सामान्यता चारदेखि पाँच दिन लाग्ने जनाउँदै अत्यधिक गर्मीका कारण बढेको मौसमी फ्लुबाट जोगिन घरकै खाना खाने, पानी धेरै पिउने, सफा खाने कुरा मात्र खाने, घाममा नबस्ने र धेरै हिँडडुल नगर्ने सुझाव दिनुभएको छ ।
अस्पतालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित बनेका सय भन्दा बढी बालबालिका अस्पतालको ‘ओपिडी’ मा दैनिक उपचारका लागि आउने गरेका छन् ।
त्यस्तै नेपालगन्ज शिक्षण अस्पतालका सहनिर्देशक डा रोमन किदवाईका अनुसार अत्यधिक गर्मीले भएको रुघाखोकी र भाइरल फ्लुबाट प्रभावित हुने बालबालिकाको सङ्ख्या दिनदिनै बढ्दै गएको बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके