२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday
सन्दर्भ : १३५ औं श्रमिक दिवस

कामै नगरी खान कहाँ पाइन्छ ?

मालिक भएर आफ्नो लागि काम गर्नु र मालिकका लागि मजदुरी गर्नुमा भिन्नता छैन र ?
सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ वैशाख १९ गते बुधबार

न दुःखी बिरामी न घाम पानी न त दिन रात नै भन्न पाउँछौं
रोजगारदाताको एक बोलावटमा सर्बस्व बिर्सेर छिनभरमै आउँछौं ।
घर परिवार, सन्चो बिसन्चो अनि केहि रहर र इच्छा तिम्रा पनि त छन् होला ?
तैपनि तन मन सककगै श्रम दिएर तिमीले नै त अरूलाई मालिक बनाउँछौं ।

के आज हामीले हाम्रा घरायसी कामका सहयोगीहरूलाई आज बिदा हो काम नगर भनि अह्राउन सक्यौं ?
हाम्रा खेतबारीमा पर्म गर्न आउनेलाई आज आफ्नै काम गर्नु है भनि सुझाउन सक्यौ ?
हाम्रा ब्यवसाय प्रवर्द्धनमा दिलो ज्यान दिने सहयोगीलाई आजको उपस्थिति स्वेच्छिक बनाउन सक्यौं ?
कि अत्यावस्यक भएर बोलाउनु परेकालाई आज एक दिनको मेहनत थप गरेर दिन सक्छौं ?

हामीले अहिले मनमनै सोच्दैछौं !
नचाहिने कुरा, कहाँ हुन्छ त्यस्तो त ?
हामी पनि त एक प्रकारको श्रमिक नै त हौं
हामीलाई पनि त बिदा, आराम अनि अतिरिक्त भुक्तानीको चाहना हुन्छ त्यो कसले दिने नि ?
हामी सबै बराबर नै हौं, कामै नगरी खान कहाँ पाइन्छ ?
बस् आ–आफ्नो क्षमतानुरूपको काम गर्ने न हो ?
हामीले पनि त घाम पानी, दिनरात नभनी काम गरिराखेकै छौं त भन्ने सोच्यौ हैन त ?

हुन त हो नि हामी पनि एक प्रकारको श्रमिक नै त हौं ।
मालिक भएर आफ्नो लागि काम गर्नु र मालिकका लागि मजदुरी गर्नुमा भिन्नता छैन र ?
कमाउनका लागि श्रम खर्चिनु र कमाउनेका लागि श्रम बेच्नु फरक होइन र ?
ऐस आराम बढाउनका लागि कमाउनु र जीविकोपार्जनका लागि कमाउनुमा अन्तर छैन र ?
उच्च लक्ष्य राखेर भौतिकता बढाउनु र जिवित रहन साँझ बिहानको छाक जुटाउन पसिना खर्चिनुमा भेद छैन र ?

त्यसैले त,
वास्तविक श्रमिक बाहेक सबैले १३५ औं श्रमिक दिवस मनाउँदैछौं
मजदुर बाहेक सबैले विश्वभरी आज सार्वजनिक बिदा पाउँदैछौं
मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्दै सिंहनाद गर्दै,
शब्द मात्रमै सिमित राख्दै श्रमिकको श्रमको गुनगान पनि गाउँदैछौं ।

प्रकाशित मिति : २०८१ वैशाख १९ गते बुधबार