सूचनाको शक्ति - The Power Of Information

        

बाढीको जोखिममा रहेका २५ परिवारका लागि सुरक्षित आवास

बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण सुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका प्रमुख केवल चौधरीले बताए । उनले नगरपालिकाका अधिकांश क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन उच्च घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।

नगरपालिकाले गत वर्ष वडा नं ५ मा १६ वटा सुरक्षित उच्च आवास निर्माण गरेको थियो । बर्सेनि अन्य सङ्घसंस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको नगरप्रमुख चौधरीले बताए । स्थानीय छेदु डगौराले उच्च घर निर्माण भएपछि बर्सेनिको बाढी र डुबानबाट छुटकारा पाइने विश्वास व्यक्त गरेका छन् । उनले वर्षौँदेखिको सरकारसँगको माग अहिले आएर पूरा भएको बताएका छन् ।

‘वर्षौँदेखिको हाम्रो पीडा सरकारले सुनेको छ । हामीले सरकारसँग माग्दै आएको माग अब पूरा हुँदैछ । महिनौँसम्म बाढीका कारण सडकमा बस्नुपर्ने हाम्रो बाध्यता अब सधैँका लागि अन्त्य हुनेमा विश्वस्त छौँ,’ उनले भने । स्थानीय शिवजी डगौरा पनि उच्च घर निर्माण हुन थालेपछि यतिबेला उत्साहित बनेका छन् । घरको सबै जायजेथा बोकेर महिनौँ सडकमा त्रिपालमुनि बस्नुको पीडाबाट छुटकारा पाउने आशामा शिवजी उत्साहित बनेका हुन् ।

पकरियापुरमा एउटा नमूना घरसहित २५ घर निर्माण भइरहेका छन् । ७० लाख ४९ हजार ९२२ लागतमा निर्माण हुन लागेको ती घरका लागि नगरपालिकाको रु २४ लाख लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले रु २१ लाख २९ हजार ६०० लगानी गर्दा रु २५ लाख ३० हजार ३२२ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ ।

राष्ट्रिय दलित नेटवर्कका लालबहादुर डगौरा थारूले संस्थामार्फत सञ्चालित सुरक्षित आवास परियोजनाले सरकारसँग सहकार्य गर्दै विपन्न वर्गका आवास निर्माणका काम गर्दै आएको बताएका छन् । ‘प्रदेश तथा स्थानीय सरकारसँगको साझेदारीमा विभिन्न स्थानीय तहमा आवश्यकतानुसारको आवास निर्माणको काम गर्दै आएका छौँ,’ उनले भने ।

खासगरी सामाजिक तथा आर्थिक रूपमा कमजोर नागरिकलाई सुरक्षित आवास निर्माण गर्ने काम हुँदै आएको छ ।’ परियोजनाले यसअघि कैलारी गाउँपालिकाको विपतपुरमा २७, लम्कीचुहा नगरपालिकामा २०, घोडाघोडी नगरपालिकामा १२ घर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरिसकेको थारूले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार ११:३०