सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको झगडिया गाउँमा आगलागी, नौ घर जलेर नष्ट

बाँकेको राप्ती सोनारी गाउँपालिका–७ झगडिया गाउँमा मंगलबार साँझ आगलागी हुँदा ६ घर र तीन वटा गोठ जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले दिनु भएको जानकारीअनुसार बच्चाहरू खेल्नेक्रममा रमेश गद्दीको घरबाट सुरु भएको आगलागीबाट गाउँका छ वटा घर र तीन वटा गोठ जलेर नष्ट भएको छ ।

नरैनापुर गाउँपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

दमकल समयमै आएकाले मानवीय क्षति नभएको बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले बताउनुभयो । उहाँले हावाहुरीको मौसममा खाना पकाउँदा वा पकाइसकेपछि सावधानी अपनाउन सर्वसाधारणसँग आग्रह गर्दैआएको बताउनुभयो ।

हावाहुरीको मौसममा जिल्लाको नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका विभिन्न ठाउँमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार ११:००