सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने

चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस वर्षको आर्थिक वृद्धिदरको अनुमान सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले यो तथ्यांकले अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको संकेत गर्ने बताए ।

यस वर्षको ६–८ महिनाको वास्तविक तथ्यांक र बाँकी अवधिको अनुमानका आधारमा यो आर्थिक वृद्धिदर सार्वजनिक गरिएको उनले जानकारी दिए ।

सरकारले चालु आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सहित बजेट ल्याएको थियो । तर, बजेको लक्ष्यभन्दा आर्थिक वृद्धिदर न्यून हुने अनुमान केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ ।

उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भएपनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । यससँगै नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब पुगेको छ ।

कार्यालयले वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक मार्फत उक्त तथ्यांक ल्याएको हो । अर्थतन्त्रमा देखिएको शिथिलताले गत आवमा १.९५ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हासिल भएकोमा चालु आवमा केही सुधार भएपनि लक्ष्यभन्दा धेरै न्यून हो ।

आधारभूत मूल्यमा ५० खर्ब ५० अर्ब पुगेको कार्यालयको अनुमान छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ ।

चालु आवमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १७:२४