गत केही समययता आएर बाँकेका सामुदायिक र राष्ट्रिय वन जङ्गलमा डढेलो लाग्ने क्रम बढेको छ । जिल्लाका सामुदायिक र राष्ट्रिय वन जङ्गलमा डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले निर्माण गरेको दुई हजार किलोमिटर अग्नि रेखा प्रभावकारी बन्दै गएको हो ।
डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा अग्निरेखा बनाएकोमा सो बाट डढेलो नियन्त्रणमा ठुलो सहयोग प्राप्त भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा प्रभावकारी देखिएको छ, अग्नि रेखाले निकुञ्जको वन क्षेत्रमा डढेलो फैलिन रोकेको छ ।”
निकुञ्जले डढेलो नियन्त्रणलाई प्रमुख प्राथमिकता दिँदै विशेष तालिम प्राप्त सेना र कर्मचारी रहने गरी र्यापिड फायर टिम (आरआरटी) तयार गरेर त्यसलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको वरिष्ठ संरक्षण अधिकृत शाहले बताउनुभयो । उहाँले निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुने बित्तिकै आरआरटी टिम तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने गरेको बताउनुभयो ।
अधिकृत शाहले बढ्दो गर्मीसँगै निकुञ्ज क्षेत्रमा हुने आगलागीले वन्यजन्तु समस्यामा पर्ने भए पनि हालसम्म ठुलो क्षति पुगेको विवरण प्राप्त नभएको जनाउँदै ठुलो आगलागीका कारण वन्यजन्तुलाई समस्या हुने गरेको बताउनुभयो । उहाँले यो वर्ष मुगुवा, ओभरी र खैरी क्षेत्रमा बढी आगलागी भएको सूचना आएको पनि बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र झाडी र बुट्यानसहित सुख्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्दै आएको छ । निकुञ्जले डढेलोको कारण संरक्षित जीव अजिङ्गर संरक्षण गर्न चुनौती बन्दै गएको जनाएको छ । ठुलो आकारको जीव अजिङ्गर बिस्तारै हिँड्ने भएकाले डढेलोबाट अजिङ्गरका अन्डा र बच्चा मर्ने सम्भावना बढी छ ।
डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै बर्सेनि अग्नि रेखा निर्माण लगायत अन्य विभिन्न उपायहरू पनि गर्दै आएको छ । निर्माण भएको अग्नि रेखाको मर्मत सम्भार गर्दै नयाँ क्षेत्रमा विस्तार कार्य नियमित रूपमा भइरहेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके