सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा तातो हावाको लहरले जनजीवन प्रभावित

नेपालगन्जमा विगत केही दिनदेखि बढ्दै गइरहेको चर्को गर्मी र दिउँसोको समयमा चल्ने सुख्खा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ ।

चर्को गर्मी र तातो हावाको लहरका कारण दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई धेरै प्रभाव परेको छ । दैनिक रूपमा ठेला चलाउने, रिक्सा चलाउने तथा अन्य ज्यालादारी गर्ने मजदुरहरूलाई समस्या परेको हो ।

दिउँसोको तातो हावाका कारण मानिसहरू घरबाट बाहिर निस्किने गरेका छैनन् । अत्यावश्यक काममा हिँड्ने मानिसबाहेक सडकमा भिडभाड देखिँदैन । दिउँसोमा नेपालगन्जको सडक सुनसान जस्तो देखिन्छ ।

दिउँसोको समयमा सुनसान जस्तो देखिने नेपालगन्जको बजार साँझको समयमा भने भिडभाड हुने गरेको छ । साँझको समयमा किनमेल गर्न निस्कने तथा विभिन्न चोक तथा पसलहरूमा काँक्रो, तर्भुज, खर्भुज, लस्सी, आइसक्रिम, कुल्फी तथा चिसो पेय पदार्थहरू सेवन गर्ने सर्वसाधारणको सङ्ख्या उल्लेख्य देखिन्छ ।

विगत केही दिनदेखि नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास छ । जल तथा मौसम विभाग विभाग फिल्ड कार्यालय नेपालगन्जका फिल्ड इन्चार्ज मीना सिवाकोटीले सोमबार नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ ।

उहाँका अनुसार आइतबार नेपालगन्जको अधिकतम तापक्रम ३९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो भने शुक्रबार नेपालगन्जको तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो । तापक्रम बढ्ने तथा घट्ने क्रममा देखिन्छ । ४० डिग्री सेल्यिस रहँदै आएको नेपालगन्जको अधिकतम तापक्रम आइतबार भने केही घटेको थियो ।

दिउँसो १२ बजेपछि बेलुका लगभग ५ बजेसम्मको समयमा नेपालगन्जमा अत्यधिक चर्को गर्मी हुने र सुख्खा तातो हावाको लहर चल्ने गरेको छ । चर्को गर्मी र सुख्खा तातो हावाको लहरका कारण नेपालगन्जको जनजीवन कष्टकर बन्दै गएको छ । नेपालगन्जमा चर्को गर्मी र तातो हावा तथा तातो लहरबाट जनजीवन अझै धेरै कष्टकर बन्ने देखिन्छ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा आगामी केही दिनसम्म अझै तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुँदा सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदी हुनसक्ने देखिएकाले सो बाट बच्न विभिन्न उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मी समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, पटक-पटक पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा सेवन गर्ने, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार ०८:०६

लोकप्रिय