सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीले नेपालगन्जबाट लाखौंका अवैध सामग्री बरामद

बाँकेमा सशस्त्र प्रहरीले  अवैध तस्करीको लाखौं रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्जबाट र मातहतका सशस्त्र प्रहरी कार्यालयले भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइँदै गरेको ६ लाख २४ हजार ४० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नं. ३० गणका अनुसार त्यस कार्यालयबाट खटिएको टोलीले आइतबार नेपालगन्ज-१५ पिप्रहवाबाट भन्सार छली गरेर ल्याइएका १ लाख ५० हजार रुपैयाँ बराबरको १ सय पिस  कि प्याड मोबाइल,  २ लाख ३४ हजार ४ हजार ९ सय रुपैयाँको  लत्ताकपडा, पेय पदार्थ, सुर्तीजन्य तथा किराना सामग्री र ७९ हजार ५ सय रुपैयाँ बराबरको तरकारी बरामद गरेको हो ।

त्यस्तै सशस्त्र प्रहरीको जमुनाह बिओपीले जमुनाह नाकाबाट भारतबाट भित्र्याइएको ४२ हजार ७ रुपैयाँ बराबरको अवैध लत्ताकपडा लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.३० गणले जनाएको छ ।

आइतबार नै बिओपी कालाबजारबाट खटिएको टोलीले भन्सार छली गएर डुडुवा-६ कालाबन्जार ल्याइएको १७ हजार १ रुपैयाँ बराबर लत्ताकपडा लगायतका अवैध सामग्री बरामद गरेको हो ।

त्यसैगरी सशस्त्र प्रहरीले भारतबाट चोरीपैठारी गरेर  नेपालगन्ज ल्याइएका १ सय चल्लासहित अण्डा बरामद गरी नेपालगन्ज भन्सार कार्यालयस्थित पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरेको सशस्त्र प्रहरी बल नं. ३० गणले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा सामग्री लिएर आएको पिकअप गाडीसहित चालकलाई विलविजक शंकास्पद हुँदा आबश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउँदा ९५ हजार १५० रुपैयाँ जरिवाना गराइएको जनाएको छ ।

बरामद गरिएको सबै अवैध सामग्रीहरुलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं. ३०  गण नेपालगन्जले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १८:०७

लोकप्रिय