सूचनाको शक्ति - The Power Of Information

        

नेपाली चलचित्रलाई दर्शकको साथ

नयाँ वर्ष विसं २०८१ को सुरूआतसँगै नेपाली चलचित्रलाई दर्शकले साथ दिइरहेका छन् । गत वर्ष नेपालमा विदेशी चलचित्रको प्रभाव रहेको र स्वदेशी चलचित्रलाई प्रदर्शकले नै बेवास्ता गर्दै आइरहेको आरोप थियो । त्यही आरोप लगाएर केही निर्माताले चलचित्रको सार्वजनिक प्रदर्शनसमेत स्थगित गरेका थिए ।

यद्यपि गत वर्षको चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरूगरिएको चलचित्र ‘महाजात्रा’ पछि प्रदर्शन गरिएको ‘डिग्री माइला’, ‘बोक्सीको घर’ लाई दर्शकले साथ दिएका छन् । छैटौँ सातामा प्रदर्शन भइरहेको ‘महाजात्रा’ ५१ औँ दिनतर्फ अगाडि बढिरहेको छ । लेखक तथा निर्देशक प्रदीप भट्टराईको यसअगाडिका सम्पूर्ण चलचित्रले सो सफलता प्राप्त गरिसकेकाले यसपटक पनि निर्माणपक्ष आशावादी छ ।

चलचित्र हेर्न आइपुगेका दर्शकले नै सिफारिस गरेपछि व्यावसायिक रूपमा सफलता प्राप्त गरिरहेको निर्देशक भट्टराईले बताए । ‘अहिले दर्शकहरू नेपाली चलचित्रलाई साथ दिइरहनुभएको छ । यसले हामीलाई पनि उत्साहित बनाएको छ । समग्रमा यो चलचित्रका लागि सुखद सुरूवात हो,’ निर्देशक भट्टराईले भने । चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देव लगायतले अभिनय गरेका छन् ।

डिग्री पास बेरोजगारको कथालाई प्रस्तुत गरिएको रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘डिग्री माइला’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्रले रु ६ करोडभन्दा बढीको ‘ग्रस कलेक्सन’ गरिसकेको निर्माता मणिराम पोखरेलले जानकारी दिए । युवाको सपना र क्षमतालाई प्रस्तुत गरिएको नाटक ‘डिग्री माइला’कै पात्रबाट प्रभावित भई तयार गरिएको चलचित्रमा दयाहाङ राई शीर्ष भूमिकामा छन् ।

‘यो पात्रले हाम्रो समाजको धेरै पक्षलाई देखाएको छ । शिक्षा, समाज, ग्रामीण अवस्था र बेरोजगार युवाको अवस्थालाई माइला पात्रमार्फत व्यक्त गरिएको छ,’ अभिनेता राईले भने, ‘यो पात्रलाई नाटकबाट चलचित्रमा ल्याउने सपना बल्ल पूरा भएको छ । अब यो कथा धेरैसम्म पुर्याउनु छ ।’ गत वर्ष चैत ३० गतेदेखि प्रदर्शन गरिएको चलचित्रमा अभिनेता राईसँगै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायत कलाकारले अभिनय गरेका छन् ।

यस्तै, गत वैशाख १४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘बोक्सीको घर’लाई पनि दर्शकले उस्तै साथ दिएका छन् । शुक्रबार आधुनिक चलचित्र भवन (मल्टिप्लेक्स) मा प्राप्त अधिकांश ‘शो’हरू भरिभराउ थिए । शनिबार पनि सोही क्रमले निरन्तरता पायो । विभिन्न चलचित्र भवनमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेकी अभिनेत्री केकी अधिकारी दर्शको उत्साहजनक उपस्थिति देखेर दङ्ग छिन् ।

‘सुरुआती समयमै हामीलाई विश्वास गरेर दर्शक हलसम्म आइहनुभएको छ । यसले हामीले पनि जिम्मेवारी बढेको महसुस गरेका छौँ । दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनु भएको छ,’ अभिनेत्री अधिकारीले भनिन् । सुलक्षण भारतीको लेखन तथा निर्देशन गरेको चलचित्रमा थपलिया, सुपला सापकोटा, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बाँस्तोला लगायत कलाकारले अभिनय गरेका छन् ।

केही समययता नेपाली चलचित्रमा दर्शकको उपस्थिति उत्साहजनक हुनु सुखद पक्ष रहेको वितरक करण श्रेष्ठले बताए । उनले भने, ‘विदेशी चलचित्रको उपस्थिति कमहुनु र नेपाली चलचित्रमा सुरुआती व्यापार नै उत्साहजनकहुनुले यो वर्ष राम्रो हुने सङ्केत गरेको छ । दर्शकलाई चलचित्र मन पर्दासम्म अब समय मिल्दा नेपाली चलचित्रमै आउनुहुन्छ भन्ने हाम्रो अनुमान छ ।’ नेपाली चलचित्रमा केही समयसम्म यसरी नै दर्शक देखिए यो वर्ष विदेशी चलचित्रलाई विस्थापित गर्दै नयाँ रेकर्ड बन्नसक्ने उहाँको विश्लेषण छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतवार १७:५०

लोकप्रिय