सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेको मुद्दाको पेसी आज

बलात्कार अभियोगमा दोषी प्रमाणित भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजलाई तोकिएको छ । गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

यसअघि, उच्च अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट तीनपटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश भएको थियो ।

एकपटक पीडित गौशाला २६ (छ) की आमाको समेत जन्मदर्ता झिकाउने आदेश जिल्ला अदालतले गरेको थियो । उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् ।

उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् । तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्षमा पहिले पुर्पक्षको समय कटाएर पूरा समय जेल बस्नुपर्नेछ ।

जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतवार ०८:२१