सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज सिटी हलको निर्माण अधुरै

तीन पटक म्याद थपिँदा समेत सहरी विकास मन्त्रालय अन्तरर्गत नेपालगन्ज १४ भवानीयपुरमा निर्माणाधीन बहुउदेश्यीय सिटीहलको निर्माण अझै अधुरै रहेको छ।

कोरोना, निर्माण सामग्री समयमा नपाउनु र बिचमै डिजाइन समेत परिवर्तन गर्नु परेकोले तोकिएको समयमा सिटी हलको निर्माण पुरा हुन नसकेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय बाँकेले जनाएको छ।

अहिले आएर काम तीव्र रुपमा भइरहेको र डिजाइन परिवर्तन गर्दा थप सात करोड बजेट समेत आवश्यक परेकोले सो बजेट केन्द्रसँग माग गरिएकोले छिट्टै बजेट प्राप्त भएका आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई कार्यालय बाँकेका प्रमुख विजय केशर खनालले बताउनुभयो।

उहाँले कुल २९ करोड ४५ लाख ५५ हजार ९५१ रुपियाँ लागतमा लामा कन्स्ट्रक्सनले निर्माण गरिरहेको सो बहुउपयोगी भवनको डिजाइन परिवर्तन गर्दा ३२ करोड लागत पुगेको बताउनजुभयो।

सिटी हल निर्माणका लागि निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले २०७८ साउन २५ गते काम सम्पन्न गर्ने गरेर २०७५ माघ २५ मा सम्झौता गरेको थियो। तर तीन पटकसम्म म्याद थप भैइसक्दा पनि निर्माण कार्य अझै पुरा हुन सकेको छैन।

हालसम्म सिटी हलको ८६ प्रतिशत भौतिक प्रगति भएको जनाउँदै माग गरिएको बजेट तत्काल आउने हो भने असारसम्म काम सम्पन्न गरिने प्रमुख खनालको भनाइ छ।

 बहुउपयोगि भवनमा बालकोनी सहित कुल ७९५ वटा सिट क्षमताका साथै तीन वटा कन्फ्रेस हलसमेत रहेका छन्। अत्याधुनिक थिएटरसहितको सभा हलमा चार तले भवन रहेको छ। सभा हलको अन्डरग्राउन्डमा २५ वटा चारपाङ्ग्रे र ६० वटा दुई पाङ्ग्रे सवारी अट्ने पार्किङको व्यवस्था गरिएको छ।

हरेक तलामा रहेको बहुउपयोगी थियटर हलमा चेन्जिङ रुम, रियल्सन प्रशासनिक हल लगायतको व्यवस्था गरिएको छ।

भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाई कार्यालय बाँके अन्तरगत रहेको सो आयोजना निर्माणको काम सम्पन्न भएपछि नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भनिए पनि स्पष्ट कार्यविधि नहुँदा कसलाई हस्तान्तरण गर्ने भन्ने अन्योल पनि कायमै रहेको जनाइएको छ।

पश्चिम नेपालको केन्द्रबिन्दु नेपालगन्जमा हुने विभिन्न प्रकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सांस्कृतिक कार्यक्रम लगायत सञ्चालन गर्न सो सिटी हल बहुउपयोगी हुने आशा गरिएको छ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार ०९:२३

लोकप्रिय