सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा नौ महिनामा ९८ वटा साइबर अपराधका उजुरी

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएका उजुरी जिल्लामै फस्र्याैट भएको सङ्ख्या भने न्यून रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक लाभ लिएका सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरेर चरित्र हत्या गरेको सम्बन्धी ८० वटा गरेर ९८ वटा उजुरी चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म जिल्ला प्रहरी कार्यालयमा आएको बताउनुभयो ।

उहाँले आर्थिक लाभ सम्बन्धी ५ वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी दुई वटा उजुरी जिल्लामै फर्स्यौट गरिएको जनाउँदै आर्थिक लाभ सम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भइरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाइएको बताउनुभयो ।

सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट पैसा पठाइदिन अनुरोध गरिएका म्यासेजमा पठाइएका खाता नम्बर अपरिचितको हुँदा सचेत व्यक्तिले त्यस खालका ठगीको प्रयासका पोष्ट गर्दै आएका हुन् । ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइन्छ ।

सोही कारणले चिठ्ठा, तालिम, बैङ्क खाताको ओटिपी माग गरी ठगी भइरहेको बारे प्रहरीले सचेत गराउँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १६:४२