सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका हिमाली जिल्लामा समेत औलो रोग भेटियो

कर्णाली प्रदेशका हिमाली जिल्लामा समेत औलो राेग देखिएको छ । सडक सञ्जालले हिमाली जिल्ला जोडिएपछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ ।

विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तरक्रियामा विगतमा तराईमा देखिने औलो रोग अचेल हिमालसम्म पुगेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

अन्तरक्रियामा औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्याङ्क सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोट खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताउनुभयो ।

उहाँका अनुसार हुम्लाको ताजाकोट–१, चङ्खेली गाउँपालिका–२, अदानचुली गाउँपालिका–२ र ३, मुगुकाे सोरु गाउँपालिका–४ र ५, खत्याड गाउँपालिका–१, सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका–७ सहित गरी नौ वडा मध्यम जोखिमका रहेका छन् ।

सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि मलेरिया फैलिन थालेको हो । तापक्रम वृद्धिकै कारण तराईका विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको छ ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सुर्खेतमा २०, दैलेखमा तीन र कालीकोटमा एक जना गरी अहिले कर्णालीमा २४ जना औलोका बिरामी छन् । उनीहरू सबैको निःशुल्क उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १६:०१