सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पताल तेस्रो पटक उत्कृष्ट

नेपालगन्जस्थित भेरी अस्पताल लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले गरेको न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा उक्त अस्पतालले ८० प्रतिशत अङ्क प्राप्त गरेर देशभरिमै लगातार तेस्रो पटक उत्कृष्ट बनेको हो ।

स्वास्थ्य सेवा विभागका डा. उत्तम पाच्याले मुलुकका विभिन्न सङ्घीय अस्पताल मध्ये भेरी अस्पताल ८० प्रतिशत अङ्क सहित उत्कृष्ट बनेको बताउनुभयो ।

उहाँका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६९, डडेलधुरा अस्पतालले ६५ र गजेन्द्रनारायण अस्पतालले ३२ प्रतिशत अङ्क ल्याएको छ । भेरी अस्पतालले विगत ३ वर्षदेखी सबैभन्दा बढी अङ्क प्राप्त गरेर उत्कृष्ट बन्दै आएको डा. पाच्याले बताउनुभयो ।

भेरी अस्पतालले यसअघि सन् २०२२ मा ६७ र सन् २०२३ मा पनि ७५ प्रतिशत अङ्क ल्याएर देशभरिमै उत्कृष्ट बनेको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागका अनुसार विभिन्न ३ वटा क्याटोगरीमा १ हजार ५०० मापदण्ड रहेकोमा त्यसमा मूल्याङ्कन गर्दा भेरी अस्पतालको सबैभन्दा उत्कृष्ट ८० प्रतिशत अङ्क आएको हो ।

मूल्याङ्कनका क्रममा अस्पतालको भौतिक पूर्वाधार, सुशासन व्यवस्थापन, स्वास्थ्य सेवा क्षेत्रलाई हेरिएको डा. पाच्याले बताउनुभयो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझीले सम्पूर्ण सरोकारवाला, अस्पताल विकास समिति, चिकित्सक, नर्स, कर्मचारी, सेवा प्रदायक लगायत सबैको मेहनत र लगनशीलताले गर्दा ८० प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट हुन सफल भएको जनाउनुभयो ।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्याङ्कन तथा समीक्षा कार्यक्रममा डा. रायमाझीले अस्पतालले दिइरहेको सेवाबारे जानकारी गराउनुभयो ।

उहाँका अनुसार अस्पतालले हाल एमआरआईसहित न्युरो सेवा, मुटुरोग (क्याथल्याब), नेफ्रो (मृगौला), युरो, ग्याष्ट्रो लगायत विशिष्टकृत सेवा सञ्चालन गर्दै आएको छ । हाल १६२ शय्याबाट सेवा दिइरहेको अस्पतालले नयाँ भवनमा आवश्यक पूर्वाधार तयार भएपछि तत्कालै ३०० शय्यामा पुर्‍याउने योजना बनाएको जनाइएको छ ।

कार्यक्रममा अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले भेरी अस्पतालसँग दक्ष जनशक्ति उपलब्ध रहेको जनाउँदै अस्पतालले पश्चिम नेपालमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो ।

यस्तै अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले अस्पताल टिममा काम गर्ने संस्था भएकोले उत्कृष्ट हुनुमा सबैको साझा योगदान रहेको बताउनुभयो । देशभर रहेका धेरै अस्पताल सुधारोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो ।

अस्पतालका सूचना अधिकारी वरिष्ठ फिजिसियन डा. सङ्केत कुमार रिसालले अस्पतालको भौतिक पूर्वाधारसँगै पर्याप्त दक्ष जनशक्ति उत्तिकै आवश्यक रहेकोले यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १६:०७

लोकप्रिय