सूचनाको शक्ति - The Power Of Information

        

सञ्चालनको तयारीमा नेपालगन्ज आइसिपी

नेपालगन्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ । भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०–१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए ।

आइसिपी सञ्चालनमा आएपछि मालबाहक सवारीसाधनको जाँचपास सोही ठाउँबाट गरिने उनले जानकारी दिए । गत वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएसको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए । उद्घाटन भएको करिब एक वर्षपछि सोमबार मात्रै भारतले नेपाल सरकारलाई नेपालगन्ज आइसिपी हस्तान्तरण गरेको छ ।

नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगन्ज नाकामा आइसिपी निर्माण गरिएको थियो । भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका –१६ जयसपुर र जानकी गाउँपालिका–१ मा आइसिपीका ठूला पूर्वाधार निर्माण भए पनि पछिल्लो केही महिनादेखि नेटवर्किङ, सिसी क्यामेरा जडान लगायत काम हुँदै आएको थियो । भारतकै सहयोगमा नेपालगन्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो । नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ ।

आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुणनियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए । आइसिपी सञ्चालन भएपछि वस्तु आयात निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । आइसिपी सञ्चालनमा आएपछि सीमावासीमा चहलपहल बढ्ने जानकी गाउँपालिका–१ का वडाध्यक्ष मोहम्मद रजा राईले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १५:४४

लोकप्रिय