सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक शिक्षा सुधार गर्न साताव्यापी अभियान सञ्चालन

 शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान सञ्चालन गर्ने भएको छ । एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा पालिकामा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिनुभयो ।

अभियानअन्तर्गत हिजोे माइतीघरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म नागरिक समाजको भेला कार्यक्रम भएको छ । अब १५ गतेसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीहरूद्वारा पत्र लेखन तथा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

यस्तै भोलि ‘सार्वजनिक शिक्षामा रूपान्तरण किन’ विषयक अन्तरक्रिया गरिने आयोजकको भनाइ छ । एनसिईले सार्वजनिक शिक्षा सुदृढीकरण गर्न सरोकारवालालाई जवाफदेही बनाउने उद्देश्यले सन् २००३ देखि नेपाललगायत विश्वका एक सय ५० भन्दा बढी देशमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आएको छ ।

यस वर्षको विश्वव्यापी अभियानले सरकारको प्रतिबद्धता पूरा गर्न र सार्वजनिक शिक्षा सुदृढीकरणका लागि रचनात्मक दबाब सृजना गरी शिक्षामा रुपान्तरण गर्ने लक्ष्यसहित कार्य सप्ताह मनाउन लागेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार ०९:२३

लोकप्रिय