सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीको साढे ११ हजार हेक्टर वनमा डढेलो

केही दिनयता लुम्बिनी प्रदेशमा ३ सयभन्दा बढी ठाउँमा लागेको आगलागीले करोडौंको क्षति भएको छ । सयौं घरगोठ जलेर नष्ट भएको छ । प्रदेशमा रहेको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा लागेको डढेलो हावाहुरीले बस्तीमा पुगेपछि क्षति बढेको हो ।

लुम्बिनीको वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालयका अनुसार आइतबार साँझसम्म प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको छ । मन्त्रालयका वन अधिकृत एवम् सूचना अधिकारी डिलाराम पौडेलले प्रदेशका विभिन्न ३ सय स्थानमा डढेलो लागेको र सबै जिल्लामा लागिरहेकोले क्षतिको विवरण सबे आउन नसकेको बताए । प्रदेशको पूर्वी रुकुममा २३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने कपिलवस्तुको २१ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

उता, दाङमा २५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने बर्दिया जिल्लामा ८० स्थानमा डढेलो लागेको छ। अर्घाखाँची जिल्लामा लागेको डढेलोबाट ३५ घर गोठ जलेको वन कार्यालयले जनाएको छ । यस्तै यहाँ २१ वटा चौपायासमेत मरेका छन् । अर्घाखाँचीमा लागेको डढेलो साँझ नियन्त्रणमा आएको छ । पाल्पामा ५५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

यस्तै गुल्मीमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । गुल्मीमा डढेलोबाट सबैभन्दा बढी क्षति भएको वन कार्यालयले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट ४१ वटा घर जलेका छन् भने ४८ वटा गोठ जलेका छन् । आगलागीमा ८३ वटा पशु चौपाया जलेका छन् ।

यसअघि वैशाख ३ गते डढेलोकै कारण गुल्मीमा एक जनाको मृत्यु भएको थियो । मुसिकोट नगरपालिका–१ तल्लो पौनीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरले बताए ।

गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ चौपाया गोठमै जलेर मरेका छन् ।

शनिबार चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि इस्मा सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । स्थानीयवासीलाई आगो निभाउने भन्दा कसरी ज्यान जोगाउने भन्ने त्रासदीपूर्ण अवस्था सिर्जना भएको थियो ।

इस्मा गाउँपालिकामा आगलागीबाट शनिबार मात्र ६७ वटा घरगोठ जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका– २ सिदुङखाको रानी सामुदायिक वनमा लागेको डढेलो अचानक बस्ती पसेपछि हस्तीचौरको सिदुङखामा १३ घर र २६ बङ्गला जलेर नष्ट भएका छन ।

त्यसैगरी इस्मा गाउँपालिका-४ को तिम्लेखर्कमा सात घर र १६ वटा बङ्गला र गोठसहित एउटा मन्दिर जलेको छ । सोही वडाको भड्किनामा एक घर र चारवटा बङ्गाला र एउटा खोर जलेको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिङ खड्काले जानकारी दिए । आगलागीका कारण ४० भन्दा बढी चौपाया जलेर मरेका छन् ।

इस्मा गाउँपालिका–१ मा लागेको डढेलोका कारण ट्र्याक्टर चालक स्थानीयवासी १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका-७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुको हात खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ ।

इस्माको हुल र कोटकोटेरी दुई स्थानमा डढेलो लागेको छ । हुलमा लागेको डढेलो बस्ती पसेपछि टोकली बस्नेतको बङ्गालो, सूर्य र गुञ्जबहादुर बस्नेतको गोठ जलेर नष्ट भएका छन् । एक भैंसी र ९ वटा बाख्रा मरेका छन् ।

इस्मा गाउँपालिका–४ कै कोटकोटेरीमा जङ्गलको डढेलो बस्ती पसेपछि स्थानीयवासी ऋषिराम खनाल, बलबहादुर दर्जी, सरिता अधिकारी, ज्ञानु अधिकारी, बिमला अधिकारी, सुरेन्द्रलाल विक, रामबहादुर अधिकारी, गोरखनाथ विकको घर र खगेश्वर विकको बङ्गाला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गाउँमा पाइप जलेपछि खानेपानीको अभाव भएको छ ।

शुक्रबार र शनिबार गरी इस्मा, रेसुङ्गा, गुल्मीदरबार र रुरु लगायतका क्षेत्रमा डढेलो लागेको थियो । मदाने र मालिकामा पर्ने गुराँसे वनमा दुईदिनदेखि लागेको डढेलो अझै निभेको छैन । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक दीपेन्द्र रावलले जानकारी दिए । भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा हिजो भएको आगलागीमा २३ घरगोठ जलेका थिए । नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जी लगायतका गाउँको आगलागीले १३ घर र १० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

उनका अनुसार बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने अझै नियन्त्रणमा आएको छैन । आगलागीबाट पाणिनी गाउँपालिकामा दुई वटा घर र पाँच वटा गोठ जलेका छन् । शितगङ्गा नगरपालिका वडा नम्बर ६ र १२ भेडामारे, डोहोटे, गल्डुङ्गलगायतका स्थानमा डढेलोले पाँच घर र आठ गोठ जलेर नष्ट भएका छन् ।

लामो समयदेखि वर्षा नहुँदा र अहिले बाढीले यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका–६ बाट शनिबार अपराह्न नौवटा गाउँमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ ।

आगोले मानवीय क्षति नभए पनि ४० वटा घर जलेका तथा ३९ वटा बाख्रा मरेका उनले बताए । प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, देवदह नगरपालिकाको दमकल र स्थानीयको प्रयासले साँझ आगो निभाइएको थियो ।

गैडहवा गाउँपालिकामा पनि आगलागीमा लाखौँको क्षति भएको छ । वडा नं ७ सिसैं बस्ने बाले मिन्द्र लोधको फुसले छाएको गोठमा विद्युत् चुहिँदा आगलागी भएको थियो । उक्त गोठमा रहेका नौ बाख्रासहित तीन लाख बढीको क्षति भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका-९ पिपरामा खेतमा गहुँका ठुटा जलाउने क्रममा लागेको आगो होटल पवन प्यालेस परिसरमा पुगेको थियो । यसबाट प्लाइउड, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नलगायत रु सात लाख बराबरको क्षति भएको प्रवक्ता भट्टले बताए । रुपन्देहीको बुटवलस्थित शिवनगर सामुदायिक वन र चारपालामा पनि डढेलो लागेको प्रदेश वन कार्यालयले जनाएको छ ।

नवलपरासी, प्यूठान, दाङ, बाँके, बर्दियाका विभिन्न क्षेत्रमा आगलागी भइरहेको सूचना त्यहाँस्थित प्रहरी तथा वन कार्यालायले दिएपनि सबै क्षतिको विवरण आइसकेको छैन । बर्दिया राष्ट्रिय निकुन्ज छेउबाट लागेको आगोले त्यहाँ पनि धेरै क्षति भएको स्थानीयले जनाएका छन् । सबैतिरको वन क्षेत्रमा एकैपटक आगलागी हुँदा वन्यजन्त र चराचुरुङ्गीलाई थप क्षति हुने चिन्ता विज्ञहरुको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार ०७:०५

लोकप्रिय