सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका सामुदायिक वनमा डढेलो

बाँकेका विभिन्न सामुदायिक वनमा डढेलो लाग्न सुरु भएको छ । डढेलोका कारण वनमा ठूलो धनजनको क्षति नभए पनि जीवजन्तु सङ्कटमा परेको शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुुशील सुवेदीले जानकारी दिए ।

खासगरी जिल्लाको राप्तीसोनारी गाउँपालिका, डुडूवा गाउँपालिका, बैजानाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको सामुदायिक वनमा डढेलो लागेको छ । वन अधिकृत सुवेदीले अहिलेसम्म जिल्लाको ६३ सामुदायिक वनको १०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको जानकारी दिए ।

उनले दिउँसो घाम र तातो हावा चलेकाले शनिबार राति मात्रै डढेलो नियन्त्रणमा लिइएको बताए । उनले चक्ला वन क्षेत्रको ५०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको उल्लेख गर्दै गतवर्ष भन्दा यसवर्ष धेरै सुक्खा भएकाले डढेलो फैलिएको बताए ।

डढेलो लागेको वनमा ७०० लिटर ट्याङ्की भएको पाइपसहितको गाडीमार्फत पनि अग्नि नियन्त्रणमा लिइएको जानकारी दिँदै वन अधिकृत सुवेदीले अग्नि हेरालु आठ जना परिचालन भएको उल्लेख गरे ।

‘फायरलाइन बनाउने र त्यसलाई सफा गर्ने, समुदायस्तरमा जनचेतना फैलाउने र समुदायलाई नै परिचालन गर्ने काम गरिरहेका छौँ,’ उनले भने । शनिबार मात्रै भएको आगलागी नियन्त्रणमा लिन एउटा दमकलको प्रयोग हुनुका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोग लिनुपरेको बताइएको छ ।

शमशेरगञ्ज सव डिभिजन कार्यालय, बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिका–२ को कोटहीमाई सामुदायिक वन उपभोक्ता समिति, समयभवानी सामुदायिक वन उपभोक्ता समिति र कोहलपुरको रानी सामुदायिक वन उपभोक्ता समितिमा सबैभन्दा बढी डढेलो लागेको थियो ।

‘निकुञ्जको उत्तरतर्फबाट लागेको आगो अहिले दक्षिणतर्फ सल्केको छ,’ सुवेदीले भने । उनका अनुसार डढेलोका कारण वनमा रहेका हरिण, बँदेललगायतका जनावर विस्थापित भएका छन् । तर डढेलो बस्तीमा बसेर क्षति भएको छैन । क्षतिको सबै विवरण सङ्कलन भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतवार १५:५५

लोकप्रिय