सूचनाको शक्ति - The Power Of Information

        

देशभर बढ्दो गर्मी, मजदुरहरु बढी प्रभावित

पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगन्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक महसुस हुन थालेको छ ।

बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ । गत चौबिस घण्टामा रुपन्देहीको भैरहवामा सबैभन्दा धेरै गर्मी महसुस भएको छ । भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अघिल्लो दिन भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो । यसैगरी शनिबार धनगढीमा ४०.६ र नेपालगन्जमा ४०.७ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको छ । मौसमविद गंगा नगरकोटीले देशभर नै तापक्रम बढ्दै गएको र तत्काल कम हुने सम्भावना नरहेको बताइन् ।

उनका अनुसार तत्काल देशभर ठूलो पानी पर्ने सम्भावना पनि छैन । तर थोरै स्थानहरुमा हावाहुरी र मेघगर्जनसहित हल्का पानी भने पर्ने गरेको छ । ‘पश्चिमी वायुले बादल त ल्याएको छ तर त्यसमा पानीको मात्रा खासै छैन,’ मौसमविद गंगा नगरकोटीले भनिन्, ‘स्थानीय वायुको प्रभावले थोरै स्थानमामात्र मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने गरेको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना देखिँदैन ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको प्रक्षेपण गरेको छ । मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतवार ०८:०५

लोकप्रिय